जलवायु वित्तको माग गर्दै काठमाडौंसहित नेपालका विभिन्न १६ सहरमा मानिसहरू सडकमा उत्रिएका छन्। जलवायु अभियन्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपांगता भएका व्यक्तिहरू, साना किसान, आदिवासी र स्थानीय समुदायले विश्वव्यापी रूपमा अजरबैजानको बाकुमा जारी कोप-२९ को समर्थनमा सडकमा र्याली गरेका हुन्।
यो र्यालीले वैश्विक उत्तर (ग्लोबल नर्थ) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ) प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ।
शनिबार बिहान आयोजना गरिएको र्याली काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएर रत्नपार्कसम्म पुगेर समापन भएको छ। र्यालीको क्रममा विभिन्न झाँकी प्रदर्शनका साथै सचेतनात्मक नारा पनि लगाइएको थियो।
काठमाडौंका अलवा चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ, हेटौँडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगन्जमा समवर्ती गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ।
यस्ता छन् प्रमुख मागहरू:
- जलवायु वित्तलाई ऋणको रूपमा होइन, अनुदानको रूपमा प्रदान गर्नुपर्छ।
- जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्छ।
- औद्योगिक राष्ट्रहरूले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बढाउनुपर्छ।
- अनुदान समयमै र विश्वसनीय हुनु आवश्यक छ।
- कोषको वितरण पारदर्शी र उत्तरदायी हुनुपर्छ।
- जलवायु वित्तले समुदाय/केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्छ। जसले पिछडिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्छ।