- राष्ट्रिय पाठ्यक्रम प्रारूप, ०७६ को व्यवस्था अनुसार दुई वर्षको अन्तरालमा पाइँदैन पाठ्यक्रम परिवर्तन गर्न
- गत असारमा प्रकाशित ०८० को एसइई नतिजामा सामाजिक अध्ययन विषयमा पाएका थिए ७३ हजार ८७७ विद्यार्थीले ननग्रेड
- हाल पठनपाठन भइरहेको पुस्तक संयुक्त रुपमा लेखेका थिए दीपिका शर्मा, डा. हरिप्रसाद पोखरेल, ज्ञानबहादुर अधिकारी, केशव रूपाखेती र हेमराज खतिवडाले
पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा १० को सामाजिक अध्ययन विषयको पाठ्यक्रम परिवर्तन गर्ने भएको छ । केन्द्रले विद्यार्थी अनुत्तीर्ण हुने दर बढेको भन्दै लागू भएको दुई वर्षमै सामाजिक अध्ययन विषयमा समावेश पाठ्यक्रम परिवर्तन गर्न लागेको हो ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार दुई वर्षको अन्तरालमा पाठ्यक्रम परिवर्तन गर्न पाइँदैन । तर, सामाजिक अध्ययन विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण भएको सर्वत्र गुनासो आएपछि केन्द्रले परिवर्तनको गृहकार्य गरेको हो । राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार कुनै पनि पाठ्यपुस्तक हरेक वर्ष अपडेट, पाँच वर्षमा परिमार्जन र १० मा परिवर्तन गर्नुपर्ने हुन्छ । तर, विद्यार्थीको सिकाइयुक्त नहुने देखिएकाले परिवर्तन गर्न लागिएको केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार केन्द्रले चालू शैक्षिक सत्रमै पाठ्यक्रम परिवर्तन र निर्माणको तयारी गर्दै आगामी वैशाखदेखि नयाँ पाठ्यक्रम लागू गराउन लागेको हो ।
हाल करिकुलम सर्भे तथा प्रश्नोत्तर सर्भेको काम भइरहेको छ । सबै पूर्वतयारी भएपछि आगामी वर्षदेखि कार्यान्वयन गरिनेछ । हाल विद्यार्थीले पढ्दै गरेको पाठ्यक्रम दुई वर्षअघि मात्रै परिमार्जन भएको थियो । तर, थप सहज तथा समयसापेक्ष बनाउन आवश्यक देखिएकाले दुई वर्षको अन्तरालमा पुनः परिमार्जन गर्न लागिएका महानिर्देशक श्रेष्ठको भनाइ छ । ‘शिक्षक र विद्यार्थीबाट यो पाठ्यक्रम अप्ठ्यारो भएको गुनासो आयो । सबैको राय–सुझाबअनुसार परिवर्तन गर्न लागेका हौँ, यसले विद्यार्थीलाई सहज हुनेछ, अनुत्तीर्ण दर कम हुनेछ,’ उनले भने ।
गत असारमा प्रकाशित ०८० को एसइई नतिजामा सामाजिक अध्ययन विषयमा ७३ हजार ८७७ जना विद्यार्थीले ननग्रेड पाएका थिए । ठुलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको मुख्य कारण पाठ्यक्रम जटिल भएकाले भन्ने सुझाव आएपछि परिवर्तन गर्न लागिएको हो । हाल लागू भइरहेको सामाजिक अध्ययन विषय ०८० देखि मात्रै कार्यान्वयनमा ल्याइएको थियो । तर, यो विषय निकै कठिन भएकाले धेरै विद्यार्थी अनुत्तीर्ण भएको गुनासो आएको छ । हाल अध्ययन भइरहेको पुस्तक दीपिका शर्मा, डा. हरिप्रसाद पोखरेल, ज्ञानबहादुर अधिकारी, केशव रूपाखेती र हेमराज खतिवडाले संयुक्त रूपमा लेखेका हुन् । यो पुस्तकमा १० वटा इकाइ छ । परिवर्तन गरिन लागेको पुस्तकमा पनि १० वटा इकाइ रहनेछन्, तर इकाइहरू सजिलो बनाइनेछ ।
पाठ्यक्रम विकास केन्द्रले पुस्तक परिमार्जन गर्ने सन्दर्भमा विद्यार्थी, अभिभावक र शिक्षाविद्सँग छलफल चलाएको श्रेष्ठले बताए । छलफलपछि कोर्स परिमार्जनका लागि थुप्रै सुझाव आएका थिए । सोही कारण पुस्तक परिष्कृत गर्न लागिएका श्रेष्ठले बताए । उनका अनुसार हाल पुस्तकको मस्यौदा तयार भइसकेको छ ।
इमनारायण श्रेष्ठ, महानिर्देशक
पाठ्यक्रम विकास केन्द्र
शिक्षक र विद्यार्थीबाट यो पाठ्यक्रम अप्ठ्यारो भएको गुनासो आयो । सबैको राय–सुझाबअनुसार परिवर्तन गर्न लागेका हौँ, यसले विद्यार्थीलाई सहज हुनेछ, अनुत्तीर्ण दर कम हुनेछ । हाल करिकुलम सर्भे तथा प्रश्नोत्तर सर्भेको काम भइरहेको छ । सबै पूर्वतयारी भएपछि आगामी वर्षदेखि कार्यान्वयन गरिनेछ । हाल विद्यार्थीले पढ्दै गरेको पाठ्यक्रम दुई वर्षअघि मात्रै परिमार्जन भएको थियो । तर, थप सहज तथा समयसापेक्ष बनाउन आवश्यक देखिएकाले दुई वर्षको अन्तरालमा पुनः परिमार्जन गर्न लागिएको हो ।