कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । मार्की खेलाडी सोमपाल कामी र फेस अफ कर्णालीकी कलाकार स्वस्तिका खड्काले शुक्रबार संयुक्त रूपमा आयोजित कार्यक्रममा जर्सी सार्वजनिक गरेका हुन् । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले सार्वजनिक गरेको जर्सी कर्णाली प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कनेअनुरूप छ । जर्सीमा हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी नीलो रङ तथा कर्णालीमा पाइने याकको प्रतीक छ ।
पूर्वउपप्रधानमन्त्री तथा खेलकुदमन्त्री पूर्णबहादुर खड्काले वर्तमान समयमा नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताएका छन् । ‘कर्णालीको हिमाली भेग, धार्मिक स्थल, कर्णालीसँगै जोडिएको भूभाग कैलाश मानसरोवर भ्रमण गर्न जोकोहीलाई कर्णाली याक्समार्फत हौसला प्राप्त हुने विश्वास छ,’ खड्काले भने । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले कर्णालीलाई समर्थन गर्न आउने दर्शकले जर्सी लगाउँदा काठमाडौं नै कर्णालीमय हुने बताए ।
‘कर्णालीका सबै समर्थकले यो जर्सी लगाएर खेल हेरेको हेर्ने सपना छ, एनपिएल खेल मात्रै नभएर संस्कार हो,’ उनले भने, ‘कर्णालीको जर्सी निकै गज्जबको छ । जर्सी लगाएर कर्णालीकै समर्थन गर्नुहोला । अहिले नै आधा काठमाडौं कर्णालीमय भइसकेको छ ।’ कर्णालीका मार्की खेलाडी सोमपालले एनपिएलमा टोलीले सोचेको जस्तो प्रदर्शन दिने बताए । ‘आजको दिन एकदम उत्साहित छु । यही दिनका लागि क्रिकेट सुरु गरेका थियौँ,’ सोमपालले भने, ‘टोलीमा ज्ञानेन्द्र दाइसँगै सहकर्मी देव खनाल र गुल्सन झा पाएका छौँ ।’
काठमाडौंमा वेल्सका अलराउन्डर ड्यान
काठमाडौं गुर्खाजले इंग्लिस अलराउन्डर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । काठमाडौं स्पोर्टस् डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको काठमाडौंले चौथो विदेशी खेलाडीका रूपमा ड्यानलाई अनुबन्ध गरेको हो । विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि चिनिने ड्यानले टोलीमा एउटा असाधारण ऊर्जा र बहुमुखी क्षमता प्रदान गर्ने विश्वास काठमाडौंले लिएको छ ।
काठमाडौंका सिइओ सन्देश कटवालले ड्यानको आगमनमा टोली बलियो भएको बताए । ‘ड्यान एक असाधारण प्रतिभा हुन्, जसको अलराउन्डर क्षमताले एनपिएलमा हाम्रो टोलीलाई रणनीतिक फाइदा दिनेछ,’ उनले भने, ‘उनको आक्रामक खेल शैली र बहुमुखीपन हाम्रो लक्ष्यसँग मेल खान्छ ।’ अलराउन्डर ड्यानले एनपिएलमा उत्कृष्ट प्रदर्शनको प्रयास हुने बताए । ‘टोली र प्रशंसकका लागि उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध छु र नेपालमा हुने यस रोमाञ्चक यात्रा आरम्भ गर्न आतुर छु,’ उनले भने । टोलीका ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन् ।