नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिवेला उल्लास छाएको छ। छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याई छ । बिहान झिसमिसेदेखि साँझ झमक्क हुँदासम्मको दिनचर्या बाँसका सामग्री बनाउँदै बित्छ लहान– १७ बलानसेरका सदाय समुदायको ।

‘कात्तिक लाग्नेबित्तिकै  बिहानदेखि बेलुकासम्म नाङ्ला बनाउँदै दिन बित्छ । यतिवेला बजारमा नाङ्लाको माग बढी भएकाले आम्दानी पनि हुन्छ,’ नाङ्लो बुन्दै गरेका छोटकुन सदायले भने, ‘यो उल्लासको समय हो । जीवनका हरेक दुःख बिर्सेर मिठोमसिनो खाने र राम्रो लगाउने पर्व हो । त्यसका लागि पैसाको जोहो गर्नुपर्याे ।’

बाँसका सामग्री बेचेर परिवारको जोहो टरेको उनले बताए । छोटकुनका अनुसार पाँच दिनमा झन्डै १८ वटा नाङ्लो तयार हुन्छ । उमेरले ४५ वर्ष टेकेका उनी यही पेसामा रमाइरहेका छन् । उनले भने, ‘बाउबाजेले यही काम गर्दै आएकाले आफूलाई पनि यही काम सजिलो लाग्छ । विदेशमा पसिना बगाउनुभन्दा परिवारसँगै बसेर काम गर्दाको मज्जा अर्कै हुन्छ । परिवारका सबै सदस्यले मिलेर काम गर्दा काम गरेको पनि महसुुस नभई नाङ्लो तयार हुन्छ ।’ 

सोही ठाउँका सियादेवी सदायको पनि दिनचर्या उस्तै छ । ‘बाहिर अन्य काम नपाउँदा नाङ्ला बेचेर घरको जोहो टारेकी छिन्।  वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लाको व्यापार गरेर केही महिनालाई गुजारा गर्न पुग्छ । यतिवेला बनाउँदै बेच्दै फुर्सद छैन,’ सियादेवीले भनिन्।
 
एउटा बाँसबाट सातवटासम्म नाङ्लो तयार गर्न सकिने सियादेवीले बताइन् ।  नाङ्लो बनाउने बाँस सप्तरीको सिसवारबाट प्रतिघना दुई सय ५० रुपैयाँका दरले ल्याउनुपर्ने र नाङ्लो बाँध्न बेत पनि बाहिरबाट नै ल्याउनुपरेकाले नाङ्लाको मूल्य बढी पर्न गएको पनि उनले जानकारी दिइन् । 

आफ्नो सीप र कलाको प्रयोग गरेर आकर्षक सामग्री बनाउने यहाँका सदय परिवारको यस परम्परागत पेसाको प्रवर्द्धनका लागि अहिलेसम्म कसैले पनि कुनै प्रकारको सहयोग नगरेको गुनासो छ । लहानको गुदीगाउँ, भदैया, खेस्राहालगायत ठाउँमा नाङ्लो बनाएर बेच्ने व्यवसाय उल्लेख्य मात्रामा छ । अन्य समयमा रु. दुई सय २० मा बिक्री हुने एउटा नाङ्लो चाडपर्वमा  चार सय रुपैयाँसम्म घरैमा आएर व्यापारीले लैजाने गरेका छोटकनले बताए ।

छठपर्वमा पूजाका सामग्री राख्न बाँसको सामग्रीमा राखेर पूजा गर्दा शुद्ध हुने मान्यता भएको हुँदा छठपर्वमा यसको माग बढी भएको स्थानीय बताउँछन् । अन्य समयमा बजारमा लगेर सस्तो दाममा बेच्नुपर्ने, तर छठपर्वका वेला व्यापारी टोलमा नै आएर किनेर लाने गरेका छन् ।

See More On

सुझावित समाचार