शेख मुजिबको देवत्व अस्वीकार गर्दै बंगलादेश

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

पछिल्लो विद्यार्थी क्रान्तिले मुजिब, हसिना र अबामी लिगको सामाजिक पुँजीलाई चकनाचुर पारेको छ र यिनलाई अधिनायकवादी कोणबाट हेरिँदै छ

गत साता नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले आठ राष्ट्रिय बिदा खारेज गरेको छ । यी कटौतीमा शेख मुजिबुर रहमानलाई सम्मान गर्ने दुई राष्ट्रिय बिदासमेत परेका छन् । रहमानका नाममा रहेको पहिलो बिदा ७ मार्च १९७१ को भाषणको वार्षिकोत्सव थियो भने दोस्रो बिदा सन् १९७५ मा उनको हत्याको स्मृतिमा १५ अगस्टमा राष्ट्रिय शोक दिवस मनाएर दिइन्थ्यो । यस निर्णयलाई धेरैले स्वागत गरेका छन् । जनताले विगत १५ वर्षदेखि रहमानको विरासत बोकेकी छोरी शेख हसिनाको शासन झेलेका थिए । यस अवधिमा तीन आमनिर्वाचनमा धाँधलीको आरोप लागेको थियो ।

डेली स्टारका वरिष्ठ पत्रकार महफुज अनामलगायत केही आलोचकले युनुस सरकारको निर्णयको विरोध गरेका छन् । आलोचकका अनुसार बंगलादेशको सन् १९७१ को स्वतन्त्रताका नेताका रूपमा मुजिबुर रहमानको विरासतलाई उनकी छोरी शेख हसिनाको ‘फासीवादी’ १५ वर्षे शासनलाई हेरेर ओझेलमा पार्नुहुँदैन । हसिनाको १५ वर्षे शासनलाई यही ५ अगस्टमा विद्यार्थीको नेतृत्वमा भएको क्रान्तिले उल्ट्याएको थियो, जहाँ एक हजारभन्दा बढीले ज्यान गुमाएका थिए । आफ्नो लेखमा अनाम ‘हसिनाको कुशासनले बंगबन्धुले हाम्रो न्यायका लागि लडेको लडाइँलाई छायामा पार्न सक्दैन’ भन्दै अनामले रहमानलाई हसिनाको ‘तानाशाही र भ्रष्ट’ शासनको आधारमा न्याय गर्नुहुँदैन भनेर जोड दिएका थिए ।

रहमान र हसिना दुवैको आलोचना भए पनि अनामको लेखले स्वतन्त्रतापछि रहमानको अक्षम नेतृत्वलाई अनदेखा गरेको छ । मुजिबुर शासनकालमा सन् १९७४ को भोकमरी फैलिएको थियो । विभिन्न अनुमानअनुसार लाखौँ मानिस भोकमरीका कारण मरेका थिए र लाखौँ पीडित भएका थिए । परिणामतः देशभर ‘ग्य्रुइल किचन’ अर्थात् खोले पकाउने चमेना गृह स्थापना भएका थिए । बहुदलीय लोकतन्त्र मासेर एकदलीय शासन (बक्साल) चलाइएको थियो । यसक्रममा वामपन्थी नेता सिराज सिकदरको गैरन्यायिक हत्याका कारण पनि रहमानको लोकप्रियता घटेको थियो । अनिकालमा उनको प्रशासनिक अक्षमताका कारण उनको समर्थन र प्रतिष्ठामा क्षति पुगेको थियो ।

अनामले मुजिबको हत्याले त्यतिवेला व्यापक सार्वजनिक शोक पैदा नगरेको तथ्यलाई पनि बेवास्ता गरेका थिए । किनभने, त्यसवेला जनता भोकमरी र उनको दमनकारी एकदलीय शासनबाट थकित एवं निराश थिए । वास्तवमा उनले आफ्नो शासनकालमा आफूलाई भगवान्को दर्जामै पुर्याएका थिए । तसर्थ, मुजिबको विरासत उनकी छोरीको कार्यले मात्रै ध्वस्त पारेको हो भन्नु आंशिक रूपमा मात्रै सत्य हो र यो भनाइ धेरै हदसम्म भ्रामक हो । मुजिबको आफ्नै कार्यशैलीले उनको विरासतमा क्षति पुर्याउन महत्वपूर्ण भूमिका खेलेको थियो । विगत १५ वर्षमा हसिनाले आफ्ना बुबाको प्रतिष्ठा पुनस्र्थापनाको प्रयास गरेकी थिइन् । तर, उनको प्रयास असफल भयो । उनले आक्रामक रूपमा बंगलादेशको मुक्तिका लागि मुजिबलाई मात्रै श्रेय दिँदै सबै विपक्षीलाई स्वतन्त्रताविरोधी चरमपन्थीको बिल्ला भिराउने एकतर्फी भाष्यलाई प्रोत्साहन गरेकी थिइन् । यो दृष्टिकोणले राजनीतिक बहसलाई दबायो र असन्तुष्टि बढायो । वास्तवमा हसिनालाई अपदस्थ गर्ने हालैको विद्यार्थी नेतृत्वको क्रान्ति यही असन्तुष्टिबाट उत्पन्न भएको हो । किनभने विद्रोह भुइँतहको थियो, विद्यार्थीले रहमानको त्रुटिपूर्ण नेतृत्व र हसिनाले बनाएका ऐतिहासिक विकृतिबारे गहिरो बुझाइ राखेका थिए । विद्यार्थीले हसिनाको अधिनायकवादी प्रवृत्ति र उनको बुबाको स्वतन्त्रतापछिको शासनबिचको समानतालाई चिनेका थिए ।

संस्थापकीय पन्थको विनिर्माण ः दुई प्रमुख विद्यार्थी नेता, जो अहिले अन्तरिम सरकारका सल्लाहकार छन्, तिनले मुजिबको विरासतमाथि सूक्ष्म ढंगले विचार प्रस्तुत गरेका छन् । रहमानलाई मुख्यतया अबामी लिगका समर्थकले मात्रै सम्मान गरेको भन्दै ‘राष्ट्रपिता’का रूपमा सबैले नस्विकारेको एक विद्यार्थी नेता नाहिद इस्लामले तर्क गरेका थिए । अर्का विद्यार्थी नेता आसिफ महमुदले हसिनालाई अपदस्थ गरेपछि रहमानसँग सम्बन्धित प्रतीकलाई एकाएक हटाउने तथ्यलाई उनको विवादित विरासतको प्रमाणका रूपमा अथ्र्याएका थिए । यसअघि क्रान्तिका ‘मास्टरमाइन्ड’ मानिने अर्का विद्यार्थी नेता महफुज आलमले आफ्नो फेसबुक पोस्टमार्फत भाष्य परिवर्तनको संकेत दिएका थिए । वैकल्पिक राजनीतिक व्यक्तित्वलाई प्रवर्द्धन गर्दै उनले रहमानको विरासतलाई भविष्यमा उपयोग गरी सम्भावित चुनौती दिने रणनीतिलाई संकेत गर्दै ‘मुजिबवादविरुद्ध प्रत्याक्रमण’को घोषणा गरेका थिए ।

धेरै बंगलादेशी हालैको क्रान्तिका क्रममा मारिएकाहरूका लागि अझै शोकमग्न छन् । सो त्रासदी सीधा हसिनाको सत्तासँग जोडिएको छ । सन् १९७१ को मुक्तियुद्ध ऐतिहासिक रूपमा महत्वपूर्ण भए पनि अहिले यसलाई जनताले धेरै टाढाको विषयका रूपमा हेर्छन् र यो युद्धको भाष्य अबामी लिगको हेरफेरले कलंकित भएको छ । र, सन् २०२४ को क्रान्तिको पीडा अहिले मौजुद नै छ र यसका घाउ आलै छन् ।

महत्वपूर्ण के हो भने विद्यार्थी क्रान्तिले मुजिब, हसिना र अबामी लिगको सामाजिक पुँजीलाई चकनाचुर पारेको छ । अहिले यिनलाई यिनको अधिनायकवादी प्रवृत्तिका कोणबाट हेरिँदै छ । यो अधिनायकवादी प्रवृत्ति दुवै बुबा र छोरीको शासनको हिंसा र उथलपुथलमा बिम्बित हुन्छ । विशेषतः क्रान्तिलगत्तै जनता माफी स्विकार्न वा तत्कालीन सत्ताले गरेको सूक्ष्म प्रतिरक्षा स्वीकार गर्न तयार छैनन् । जनतामाझ अबामी लिगले खेती गरेको रहमानवरिपरि रहने व्यक्तित्वको पन्थलाई जवाफदेही बनाउने र अस्वीकार गर्ने उत्कट इच्छा देखिन्छ ।

(महमुद पत्रकार हुन्)  द वायरबाट

सुझावित समाचार