साफ महिला च्याम्पियनसिपको समूह ‘बी’ को विजेता बन्न नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११–० को जित निकालेको नेपालको श्रीलंकाविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्य छ । प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा रहेको नेपाली टोलीले पहिलो खेलमा खराब प्रदर्शन गर्दै भुटानविरुद्ध गोलरहित बराबरी खेलेको थियो । साफ च्याम्पियनसिपमा नेपालले कुनै पनि टोलीसँग बराबर खेलेको यो पहिलोपटक थियो ।
दोस्रो खेलमा रेखा पौडेल र प्रीति राईलले ह्याट्रिक गर्दा नेपालले माल्दिभ्सविरुद्ध ११ गोल गरेको हो । समूहमा भुटान र नेपालको समान ४ अंक छ । ८ गोलले अगाडि रहेको नेपाल शीर्ष स्थानमा छ । श्रीलंकालाई हराए नेपाल शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुग्नेछ । यता, माल्दिभ्स र भुटानबिच दिनको पहिलो खेल हुनेछ । नेपाललाई हराए श्रीलंकाले पनि सेमिफाइनलको यात्रा गर्नेछ । पहिलो खेलमा माल्दिभ्सलाई १–० ले पराजित गरेको श्रीलंका दोस्रो खेलमा भुटानसँग ४–१ को पराजित भएको थियो । श्रीलंका घरेलु टोली नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ ।
समूह ‘ए’बाट बंगलादेश र भारत अन्तिम चारमा प्रवेश गरेका छन् । दुई खेलबाट बंगलादेशको ४ तथा भारतको ३ अंक रह्यो । १ अंक रहेको पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ ।
अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपालले माल्दिभ्सविरुद्ध पाँच खेलाडीलाई विश्राम दिएको थियो । फ्रान्सबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी पनि दोस्रो खेलबाट टोलीमा उपलब्ध छिन् । तर, प्रशिक्षक तामाङ भने तेस्रो खेलमा कमजोर श्रीलंकाविरुद्ध पनि दोस्रो रोजाइका खेलाडीलाई मौका दिने योजनामा छन् । माल्दिभ्सविरुद्ध घाइते भएका हिराकुमारी भुजेल र दीपा शाहीसँगै पूजा राना, कप्तान अञ्जिला र रक्षक अमृता जैसीले खेलेका थिएनन् । रक्षक निशा थोकरसँगै, विमल विक र विमल चौधरीले अवसर पाए । श्रीलंकाविरुद्ध उनीहरूले नै निरन्तरता पाउन सक्छन् । अग्रपंक्तिमा प्रशिक्षक तामाङले रेखा, सविता रानामगर र रश्मिकुमारी घिसिङलाई नै सुरुवात गराउने योजनामा छन् । मिडफिल्डरमा रेनुका नगरकोटे, प्रीति राई र सरु लिम्बू हुनेछन् ।
पाँच खेलमा १७ गोल
साफ च्याम्पियनसिप इतिहासमा श्रीलंकाविरुद्ध नेपाल सधैँ हाबी हुँदै आएको छ । सन् २०१० देखि साफ आयोजना भएपछि पहिलो संस्करणमा यी दुई टोलीबिच भेट भएन । सन् २०१४ बाट हालसम्म दुई टोलीबिच पाँच खेल हुँदा सबै खेल नेपालको पक्षमा छ । नेपालले कुल १७ गोल गर्दा एक गोल पनि बेहोर्नुपरेको छैन । भारतको सिलगुढीमा भएको चौथो संस्करणमा आत्मघाती गोल हुँदा नेपाल १–० ले विजयी भएको थियो । सन् २०१२ र सन् ०१४ मा समान तीन, सन् २०१६ मा एक, सन् २०१९ मा चार र सन् २०२२ मा ६ गोल भएका थिए ।
भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा
पाँचपटकको च्याम्पियन भारतलाई ३–१ ले हराउँदै साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार दशरथ रंगशालामा बंगलादेशलाई जित दिलाउन तोहुरा खातुनले दुई तथा अफेइदा खन्दाकेरले एक गोल गरिन् । भारतका लागि बालादेवी एनगांगोमले एक गोल गरिन् । तीनै गोल पहिलो हाफमा भएका थिए । बुधबारको खेलसँगै बंगलादेश समूह ‘ए’को विजेता बन्यो । ४ अंकसहित बंगलादेश समूह विजेता बन्दा भारत उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेका छ । पहिलो खेलमा बंगलादेशले पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमै चार गोल
भारत र बंगलादेशबिचको प्रतिस्पर्धामा पहिलो हाफमै पाँच गोल भएको थियो । ३० मिनेटभित्र भारतको पोस्टमा बंगलादेशले तीन गोल गर्दा दशरथ रंगशालाको माहोल तातिएको थियो । भारतलाई लगातार दोस्रोपटक हराउन बंंगलादेशकी गोलकिपर रूपमा चक्माले उत्कृष्ट प्रदर्शन गरिन् । गत संस्करणमा बंगलादेशले यही मैदानमा भारतलाई समूह चरणमै ३–० गोलले हराएको थियो ।
खेलको १९औँ मिनेटमा अफेइदाले बंगलादेशलाई अग्रता दिलाइन् । कप्तान सविना खातुनको कर्नरलाई भारतकी गोलकिपर पान्थोई चानुले नियन्त्रणमा लिन सकिनन् । त्यसैको फाइदा अफेइदाले लिएकी हुन् । २९औँ मिनेटमा बंगलादेशले दोस्रो गोल गर्यो । रितु पोर्ना चक्माको पासमा तोहुराले गोल गरेकी हुन् । ४२औँ मिनेटमा ताहुराले व्यक्तिगत दोस्रो गोल गरिन् । समसुनुहार जेको पासमा बक्स बाहिरबाट तोहुराले दर्शनीय गोल गरेका थिए । एक मिनेटपछि नै गोलकिपर रूपनाले गरेको गल्तीको फाइदा उठाउँदै बालादेवीले हेडर गोल गरेकी हुन् । उनको यो देशका लागि ५१औँ गोल हो ।
