अनिश्चितताबिच बेइजिङ आगामी अमेरिकी नेतृत्वबाट ताइबानको रक्षाको तुलनामा आर्थिक लाभको पक्षमा केन्द्रित हुनेछ
अक्टोबरमा ताइबानको राष्ट्रिय दिवसमा राष्ट्रपति लाई चिङ तेले ‘विलय र अतिक्रमण’को सामना गर्दै ताइबानको सार्वभौमसत्ता रक्षा गर्ने वाचा गरे । उनले ‘चीनलाई ताइबानको प्रतिनिधित्व गर्ने अधिकार छैन’ भन्ने घोषणा पनि गरे । एक साताभन्दा कम समयमै चीनले चिङ तेलाई जवाफ फर्काउँदै २४ घण्टाको सैन्य अभ्यासमा ताइबानलाई घेर्न एक सय ५३ युद्धक विमान पठायो । चीनले ताइबानका राष्ट्रपतिको भनाइलाई ‘पृथकतावादी कार्य’ भन्दै ‘कडा चेतावनी’ जारी गर्यो ।
बेइजिङले ताइबानलाई आफ्नो भूमिको ‘पवित्र एवं अविभाज्य हिस्सा’ मान्छ, जब कि ताइबानका राष्ट्रपति यसमा असहमत छन् । यो टापुको फरक राजनीतिक प्रणाली छ र थोरै मात्र ताइबानी चीनसँग पुनर्मिलन चाहन्छन् । उसो त वासिंटनको ताइपेईसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन, तथापि अन्य माध्यमबाट सञ्चार सम्बन्ध स्थापित गरेको छ र अमेरिकाले चीनसँग बलियो आर्थिक सम्बन्ध कायम राखेको छ । स्मरण रहोस्, ताइबान एक प्रमुख अमेरिकी व्यापार साझेदार हो र अमेरिकाका लागि ताइबान सेमिकन्डक्टरको प्रमुख आपूर्तिकर्ता हो । अमेरिकाले ताइबानलाई हतियार पनि बिक्री गर्छ, यद्यपि जो बाइडेनको नेतृत्वमा यो बिक्री घटेको छ ।
चीनले ताइबानलाई कब्जा गर्न बल प्रयोग गर्ने विकल्पलाई अस्वीकार गरिसकेको छैन र बल प्रयोगको अवस्थामा अमेरिकाले विगतको संकेतबमोजिम यो टापुको रक्षा गर्न सक्छ । यस अवस्थामा चिनियाँ राष्ट्रपति सीले सन् २०२४ को अमेरिकी चुनावले ताइबानमा भिन्न अडान भएका नेता ल्याउने र चीनको मौजुदा आर्थिक चुनौती र बढ्दो विरोधलाई सम्बोधन गर्न मद्दत गरोस् भन्ने आशा गरेका छन् । यो अवस्थामा बेइजिङको प्राथमिकतामा आक्रामक डोनाल्ड ट्रम्प छन् वा नरम मानिएकी कमला ह्यारिस ? यी दुवै प्रतिस्पर्धीले चीनलाई के नयाँ दिन सक्छन् ? भन्ने प्रश्न उठ्छ ।
ताइबान र सीको वैधानिकता : माओ त्से तुङपछि सी मात्रै एक चिनियाँ नेता हुन्, जसले चीनमा असीमित समयका लागि शासन गर्नेछन् र उनको राजनीतिक विचारधारा माओको पालामा झैँ संविधानमा समावेश गरिएको छ । चीनको आर्थिक संकटको समाधानले उनको विरासत सुरक्षित गर्न सक्छ । तर, युक्रेन युद्धमा रुसका लागि समर्थन गरेका कारण बेइजिङ एक्लिएको छ र उसले परिस्थितिलाई जटिल बनाएको छ । सीले कम्युनिस्ट पार्टीभित्र आफ्नो हैसियत बलियो बनाउन र चीनको आर्थिक चुनौतीबाट ध्यान हटाउन ताइबान एकीकरणको प्रयासलाई तीव्र बनाउनुपर्ने हुन सक्छ ।
गठबन्धनलाई महत्व दिने ह्यारिसका विपरीत ट्रम्पले प्रायः गठबन्धनको नाफा–घाटाको हिसाब गर्छन् । ताइबानबारे छलफल गर्दा ट्रम्पले टापुको सेमिकन्डक्टर उद्योगमा ध्यान केन्द्रित गरेका छन् र उनी ताइबानले अमेरिकी रक्षाका लागि बढी भन्सार तिर्नुपर्नेमा जोड दिन्छन् । सेमिकन्डक्टरको महत्वका कारण ट्रम्पले ताइबानको रक्षा गर्न सक्छन्, तर ‘सौदागर’को छवि बनाएका ट्रम्पले ताइबानको स्वतन्त्रतालाई कमजोर पार्ने गरी बेइजिङसँग सम्झौता गर्न सक्ने सम्भावना बढ्नेमा ताइपेई चिन्तित देखिन्छ ।
रुसी द्विविधा : रुसको ‘सीमाविहीन साझेदार’का रूपमा चीनले युक्रेनमा रुसको युद्धलाई सघाउने प्रविधि आपूर्ति गर्दै आएको छ । र, यसले चीन–पश्चिमा सम्बन्धलाई चिसो बनाएउनुका साथै व्यापार प्रतिबन्ध निम्त्याएको छ । नतिजा चीनको आर्थिक पुनरुत्थानमा अवरोध पुगेको छ । उसो त चीनले रुसलाई आपूर्ति रोकेबापत पश्चिमा विश्वको निगरानी र प्रतिबन्धबाट जोगाउन सक्छ, तर त्यसो हुने सम्भावना छैन । बेइजिङले अमेरिकाको नेतृत्वमा रहेको विश्वव्यापी व्यवस्थाविरुद्ध एक प्रमुख सहयोगीका रूपमा बलियो रुसलाई लिएको छ र रुस युक्रेन द्वन्द्वमा कमजोर भयो भने पश्चिमको मुख्य तारो बन्नबाट जोगिन चाहन्छ ।
ह्यारिस किभलाई समर्थन गर्छिन् र युद्धलाई रणनीतिक एवं नैतिक मुद्दाका रूपमा हेर्छिन् । तर, ट्रम्पले युक्रेनमा अमेरिकी सहायताको आलोचना गर्दै आएका छन् । र, उनी पुटिनले फेब्रुअरी २०२२ मा सुरु गरेको युद्ध अन्त्य गर्न किभले रुसलाई सहुलियत दिनुपर्नेमा विश्वास गर्छन् । सम्भावित ट्रम्प प्रशासनले युक्रेनलाई समर्थन कटौती गरेर र प्रतिबन्ध हटाएर रुसलाई बलियो बनाउन सक्छ । यसो भए प्रमुख सहयोगी रुस बलियो हुनेछ र यो बेइजिङका लागि फाइदाजनक रहनेछ ।
अमेरिकी आर्थिक विद्वेष : नियाल्ने हो भने ट्रम्प र ह्यारिसको चीनको दृष्टिकोणमा भिन्नता छन् । ट्रम्पले अघिल्लो कार्यकाल सन् २०१८ मा सुरु गरेको व्यापार युद्धलाई चर्काउन सक्छन् र चिनियाँ वस्तुमा ६० प्रतिशतसम्म भन्सार लाग्न सक्छ । यसो भयो भने यी दुई मुलुक आर्थिक अलगावको बाटामा लाग्नेछन् । उता ह्यारिसले भने चीनलाई ‘जोखिममुक्त’ बनाउने लक्ष्य राखेकी छिन्, अर्थात् आर्थिक रूपमा विशाल राष्ट्रसँग संलग्न हुँदा अमेरिकी हितलाई सन्तुलनमा राख्न सक्छिन्, जसले बेइजिङसँग संवादको सम्भावना कायम गर्नेछ । यद्यपि सीमित विदेश नीति अनुभवका कारण ह्यारिसले बाइडेनका नीतिलाई जारी राख्ने सम्भावना छ, अर्थात् चिनियाँ वस्तुमा भन्सार बढाउने र प्राविधिक प्रतिबन्ध कायम रहनेछन् ।
अर्को एक महत्वपूर्ण कारक एलन मस्क हुन् । मस्क ट्रम्पका कट्टर समर्थक हुन्, जसले ट्रम्प प्रशासनमा शीर्ष भूमिका पाउन सक्छन् । हालसम्म ट्रम्पमाथि मस्कको प्रभाव अस्पष्ट छ, तर चीनसँग भने मस्कको महत्वपूर्ण व्यापारिक सम्बन्ध छ । यो अवस्थामा ट्रम्पका नीतिले मस्कको टेस्लालाई क्षति पुर्याउने हो भने उनले ट्रम्पको साथ छोड्न सक्छन् । यी तमाम अनिश्चिततामा बेइजिङ ताइबानको रक्षाको तुलनामा आर्थिक लाभमा केन्द्रित हुनेछ । र, सीले चीनसँगको सम्बन्ध सुधारका लागि लाग्ने अमेरिकी नेतालाई प्राथमिकता दिनेछन् ।
(ची नटिंघम विश्वविद्यालयका वाणिज्य अर्थशास्त्रका उप–प्राध्यापक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट