लाइसेन्स नहुनेले नागरिक एपबाटै विवरण देखाउन मिल्ने

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले इ–चलान (डिजिटल चिट) प्रणालीको सुरुवात गरेको छ । सवारी नियम उल्लंघन गरेको अवस्थामा कागजी चिट नकाटी तत्कालै अनलाइनमार्फत भुक्तान गर्न मिल्ने गरी यस्तो प्रणाली सुरुवात गरिएको हो । गृहमन्त्री रमेश लेखकले आइतबार उक्त प्रणालीको शुभारम्भ गरेका हुन् ।

ट्राइभ भायोलेसन रेकर्ड सिस्टम (टिभिआरएस)मार्फत डिजिटल चिटको सुरुवात गरिएको हो । तर, ट्राफिक कक्षा लिनुपर्ने कसुरमा कारबाही भएमा भने पछि मात्र भुक्तानी हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साथै, लाइसेन्स नहुनेले अब नागरिक एपमै विवरण देखाउन मिल्नेछ । लाइसेन्स छपाइमा एक वर्षभन्दा लामो समय लाग्ने भएपछि भौतिक रूपमा लाइसेन्स नै देखाउन नपर्ने व्यवस्था गरिएको हो । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सूचना प्रविधिको प्रयोगमार्फत राज्यका सेवाप्रवाहलाई सरल र सुलभ बनाउँदै लगिने बताए । 

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापन सम्बन्धमा नवीनतम प्रविधिको माध्यमबाट आमनागरिकमा सहज, सरल, पारदर्शी र गुनासोरहित ढंगको सेवा प्रवाहलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रविधिको शुभारम्भ भएको बताए । त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिबद्ध रहने उनले उल्लेख गरे ।

प्रहरी महानिरीक्षक कुँवरले सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापनमा समयानुकूल आधुनिकीकरण र परिमार्जनमा नेपाल प्रहरीले आफ्नो स्रोत–साधनले भ्याएसम्म आफ्ना प्रयासहरू निरन्तर राखेको बताए । इ–चलान प्रविधिको प्रयोग गरी ट्राफिक कारबाहीलाई प्रविधिमैत्री बनाउन सहयोग सिद्ध हुने अपेक्षा लिएको र उक्त सेवा कम झन्झटिलो र गुनासोरहित हुने उनको विश्वास छ । 

सुझावित समाचार