गत १० देखि १२ असोजसम्म परेको अविरल वर्षाका कारण खानेपानी आयोजनामा करिब ६ अर्बबराबरको क्षति पुगेको छ । बाढी र पहिरोले पाँच लाख घरका करिब २५ लाख जनसंख्या प्रभावित भएको खानेपानी मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ ।
मन्त्रालयका अनुसार बाढी, पहिरो र डुबानले देशका एक हजार ६१६ खानेपानी आयोजनामा क्षति पुगेको छ । खानेपानीका इन्टेक, पम्पवेल, पाइपलाइन, पानीट्यांकी, प्रशोधन प्लान्ट र अन्य महत्वपूर्ण संरचनामा धेरै क्षति पुगेको हो । बाढीले जिआई पाइप, एचडिपिई पाइपलगायतमा समेत क्षति पुगेको छ । फोहोर पानी प्रशोधन प्लान्टहरूको संरचना र घरायसी तथा संस्थागत शौचालयमा समेत क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
प्राकृतिक विपत्तिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गत करिब एक अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ । काभ्रेस्थित तेमाल खानेपानी आयोजनामा मात्र करिब १० करोडको क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर वीरेन्द्र कँडेलका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, उदयपुर, सुनसरीलगायत ५८ जिल्लाका खानेपानीका संरचनामा क्षति पुगेको छ । प्रारम्भिक तथ्यांक भएकाले यसमा थपघट हुन सक्ने उनको भनाइ छ । ‘यो प्रारम्भिक तथ्यांक हो । विपत्को यो वेलामा कतिपयले पहिले नै विभिन्न कारण क्षति भएका आयोजनालाई पनि अहिले नै समेटेर पठाएको हुन सक्छन् । कतिपय अवस्थामा जति संरचनामा क्षति पुगेको हो, त्यसअनुसारको विवरण प्राप्त नभएको हुन पनि सक्छ,’ कँडेलले भने ।
क्षतिग्रस्त ठुला आयोजना पुनर्निर्माण गर्न एक वर्षसम्म लाग्न सक्ने
खानेपानी मन्त्रालयका अनुसार ठुला आयोजनाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि एक वर्षसम्म समय लाग्न सक्नेछ । मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले साना आयोजनाको पुनर्निर्माणका लागि दुई–चार हप्ता, मझौला आयोजनाको पुनर्निर्माण गर्न चार–पाँच महिना र ठुला आयोजना पुनर्निर्माणका लागि एक वर्षसम्म लाग्न सक्ने बताए । ‘खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले क्षति पुगेको खानेपानीको आयोजना पुनर्निर्माणका लागि तयारी गरिरहेका छौँ । सानातिना आयोजनाका पुनर्निर्माणका काम सुरुसमेत भइसकेको छ,’ उनले भने ।
मन्त्रालयले क्षति पुगेका खानेपानी आयोजनाका पुनर्निर्माणका लागि वित्तीय स्रोत जुटाउनेलगायत काम गरिरहेको जनाएको छ । ‘क्षति पुगेका खानेपानी आयोजनाको यकिन भइसकेपछि जहाँ क्षति पुगेको हो, त्यहाँको स्थानीयस्तरमा प्रहरीको मुचुल्कासहित सम्बन्धित पालिकाबाट प्रमाणीकरण भएपछि हाम्रा २० वटा संघीय आयोजनाका कार्यालयले मन्त्रालयमा विस्तृत विवरण पठाउनुहुन्छ । आयोजना सम्पन्न नभएकाको हकमा बिमा रकम दाबी गर्छौँ,’ उनले भने, ‘ठुला आयोजनाको हकमा मन्त्रालयअन्तर्गत खानेपानी विभागले पुनर्निर्माणको काम गर्छ । मझौलाको हकमा केही प्रदेशसँग समन्वय गरेर काम गर्छौँ । साना आयोजनाको हकमा स्थानीय तहमा बजेट पठाएर प्राविधिक सहयोग गरेर काम गर्छाैँ । सबै विवरण यकिन भएपछि तीनै तह समन्वय गरेर अगाडि बढ्छौँ ।’
खानेपानी मन्त्रालयका अनुसार बाढीपहिरोले देशका धेरै ठाउँमा मेसिनरी, मुहान, ट्रान्समिसन, पम्पलगायत ध्वस्त बनाएको थियो । दक्षिणकाली, नख्खु, काभ्रेको पनौती, महोत्तरीलगायत ठाउँमा खानेपानीका संरचनामा धेरै क्षति पुगेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । ‘केही ठाउँमा दुई किलोमिटरसम्म पाइप बगाएको छ,’ उनले भने । क्षतिग्रस्त संरचना निर्माणका लागि विपत् कोषबाट बजेट मागिएको उनले बताए । ‘संरचना पुनर्निर्माणको काम थालेका छौँ । नियमित बजेटमा बन्न सक्ने अवस्था छैन । विपत् व्यवस्थापन कोषबाट माग गरेका छौँ,’ उनले भने । पछिल्लो बाढीपहिरोपछि काठमाडौं उपत्यकामा खानेपानी अभाव हुने चिन्ता गरिएको भन्दै उनले तीनै तहको सरकार मिलेर समाधान गर्नुपर्ने बताए ।
उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानी माग, वितरण २५ करोड लिटर मात्र
केयुकेएलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, केयुकेएलले करिब १८ करोड लिटर वितरण गर्दै आएको थियो । बाढी र पहिरोका कारण यसमा पनि करिब आठ करोड लिटरमा सीमित छ । केयुकेएलका अनुसार अझै पनि १८ करोड लिटर पानी अभावको अवस्था छ । ‘बाढी र पहिरोले क्षति पुगेको वितरण सञ्जाल, मुहान क्षेत्रलगायत मर्मत गर्दै पानी वितरण गर्दै अघि बढिरहेका छौँ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने, ‘सामान्य समयमा यो वेला तीनदेखि चार दिन बिराएर पानी वितरण गथ्र्याैँ । तर, अहिले सातदेखि आठ दिन बिराएर पानी वितरण गर्दै आएका छौँ ।’ दसैँअगाडि नै मेलम्चीबाट ल्याइएको करिब १७ करोड लिटर पानी राजधानीमा वितरण भइरहेको छ ।
मकवानपुरको थाहा नगरपालिकाको विभिन्न खानेपानी आयोजनामा बाढीपहिरोले डेढ करोडभन्दा बढीको क्षति पुर्याएको छ । कुल २६ वटा खानेपानी आयोजनामा करिब एक करोड ६३ लाख रुपैयाँबराबरको क्षति भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले बाढीपहिरोले खानेपानी आयोजनाका १८ वटा इन्टेकमा क्षति पुगेको जानकारी दिए । उनका अनुसार २४ वटा खानेपानीको रिजर्भ ट्यांकी, विभिन्न साइजका १६ हजार १७० मिटर पोलिथिन पाइप र एक हजार ३२४ मिटर जिआई पाइपमा क्षति पुगेको छ ।
ललितपुरका दक्षिण भेगका तीन गाउँपालिकामा खानेपानीको समस्या
१२ असोजमा आएको बाढीले ललितपुरको पहाडी तथा ग्रामीण क्षेत्र पर्ने दक्षिण ललितपुर धेरै प्रभावित बन्यो । बाढीका कारण झन्डै एक सातासम्म सडक र टेलिफोन सेवा ठप्प थियो । ठाउँठाउँमा पहिरो जानुका साथै अधिकांश बस्ती डुबानमा परे । बागमती, महांकाल र कोन्ज्योसोम गाउँपालिकाका आठ सय घरधुरीमा क्षति पुगेको थियो । बाढीपहिरोकै कारण यस क्षेत्रमा मूल मुहान र पानीका जरुवामा क्षति पुग्यो । बाढीपहिरोपछि अधिकांश मुहान सुकेका छन् । बाढीपहिरोका कारण महांकाल गाउँपालिकामा १३, कोन्ज्योसोम र बागमती गाउँपालिकामा तीन–तीनजनाको ज्यान गएको थियो । तीनजना अझै बेवत्ता छन् ।
कृषि तथा पशुपालनका लागि उर्वर मानिने दक्षिण ललितपुर क्षेत्रका ३० भन्दा बढी गाईगोठ बगाएको छ । बाढीपहिरोका कारण तीन गाउँपालिकाका घर पूर्ण क्षति भएर चार दर्जनभन्दा बढी परिवार टहरामा बस्दै आएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । कतिपय स्थानीय छिमेकीको घर, स्कुल र सामूहिक रूपमा आश्रय लिइरहेका छन् । महांकाल गाउँपालिकाको गोटीखेलमा सबैभन्दा बढी खानेपानीको समस्या देखिएको छ । मानीखेल, ठोट्नेखोला आसपासका बस्तीमा पनि खानेपानीको हाहाकार छ । महांकाल गाउँपालिकाभित्र रहेका आठ स्थानमा खानेपानी संरचना भत्किएका छन् ।
बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले खानेपानीको हाहाकार भइरहेको ठाउँमा सामूहिक रूपमा खानेपानीको व्यवस्था मिलाएको बताए । कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले खानेपानीलाई प्राथमिकता दिएर काम गरेको बताए । तर, गाउँपालिकामा बाढीका कारण विस्थापित हुने अवस्थामा पुगेका परिवारका लागि बसोवासको व्यवस्था भने पालिकाले गर्न सकेका छैनन् ।
पुनर्निर्माणको तयारी गरिरहेका छौँ : रमाकान्त दुवाडी सहसचिव, खानेपानी मन्त्रालय
खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले क्षति पुगेको खानेपानीको आयोजना पुनर्निर्माणका लागि तयारी गरिरहेका छौँ । सानातिना आयोजनाका पुनर्निर्माणका काम सुरुसमेत भइसकेको छ ।
ठुला आयोजनाको हकमा मन्त्रालयअन्र्तगत खानेपानी विभागले पुनर्निर्माणको काम गर्छ । मझौलाको हकमा केही प्रदेशसँग समन्वय गरेर काम गर्छौँ । साना आयोजनाको हकमा स्थानीय तहमा बजेट पठाएर प्राविधिक सहयोग गरेर काम गर्छौँ । सबै विवरण यकिन भएपछि तीनै तह समन्वय गरेर अगाडि बढ्छौँ ।