पाकिस्तानी दुई स्पिनरले लिए इंग्ल्यान्डका २० विकेट

शनिबार, ३ कार्तिक, २०८१
डिजिटल संस्करण
पाकिस्तानी दुई स्पिनरले लिए इंग्ल्यान्डका २० विकेट

दोस्रो टेस्टमा इंग्ल्यान्डलाई १५२ रनले हराएपछि पाकिस्तानका स्पिनरद्वय साजिद खान र नोमान अलि (दायाँ)

सन् १९७२ पछि पहिलोपटक टेस्ट खेलका दुवै इनिङ्समा स्पिनरले विकेट हात पारे

पाकिस्तानका दुई बलरद्वय नोमान अली र साजिद खानले दुवै इनिङ्समा इंग्ल्यान्डका २० विकेट लिएका छन् । सन् १९७२ पछि टेस्ट इतिहासमा पहिलोपटक स्पिनरहरूले सबै विकेट हात पारेका हुन् । नोमान र साजिदको उत्कृष्ट बलिङ प्रदर्शन मद्दतमा पाकिस्तानले शुक्रबार मुल्तानमा भएको दोस्रो टेस्टमा इंग्ल्यान्डलाई एक सय ५२ रनले हराएको छ । तीन टेस्ट सिरिजमा इंग्ल्यान्ड र पाकिस्तान १–१ को बराबरीमा छ । 

इंग्ल्यान्डविरुद्धको पहिलो इनिङ्समा साजिदले सात र नोमानले तीन विकेट लिएका थिए । दोस्रो इनिङ्समा नोमानले आठ र साजिदले दुई विकेट हात पारेका थिए । पाकिस्तानले पहिलो इनिङ्समा तीन सय ६६ रन तथा दोस्रो इनिङ्समा दुई सय २१ रनको योगफल बनाएको थियो । इंग्ल्यान्डले पहिलो इनिङ्समा दुई सय ९१ रन जोडेको थियो । 

इंग्ल्यान्डले दोस्रो इनिङ्समा जितका लागि दुई सय ९७ रन पाएको थियो । पाकिस्तानी दुई स्पिनरको घातक बलिङ सामना गर्न नसक्दा इंग्ल्यान्ड ३३.३ ओभरमा एक सय ४४ रनमा समेटियो । दोस्रो इनिङ्समा पाहुना टोलीका लागि वेन स्टोक्सले ३६ बलमा ३७ रनको योगदान दिए । 

रोमाञ्चक पक्ष के रह्यो भने पाकिस्तानका कप्तान सान मसुदले दोस्रो इनिङ्समा स्पिनरमैत्री पिच देखेपछि फास्ट बलरलाई प्रयोग नै गरेनन् । उनले पूरै ३३ ओभरसम्म साजिद र नोमानलाई निरन्तर बलिङ गर्न लगाएका थिए । 

यसअघि पहिलो टेस्टमा पाकिस्तान एक इनिङ्स र ७२ रनले पराजित भएको थियो । टेस्ट इतिहासमा सुरुवाती ब्याटिङ गरी पाँच सय योगफल माथि खडा गरी इनिङ्स र रनले पराजित भएको त्यो नै पहिलोपटक थियो । पाकिस्तानले घरेलु भूमिमा एक हजार तीन सय ३८ दिनपछि टेस्ट खेलमा जित निकालेको हो । पाकिस्तानका लागि पहिलो इनिङ्समा कमरान गुलामले एक सय १८ रन जोडेका थिए । इंग्ल्यान्डका लागि ज्याक लिचले चार विकेट लिए । 

सुझावित समाचार