बाढीले उराठलाग्दो बनाएको नक्खु क्षेत्र

दुई साताअघिको बाढीका कारण डुबानमा परेको नक्खु करिडोर क्षेत्रमा अझै भग्नावशेष र फोहोर पन्छाएर सकिएको छैन

शनिबार, ३ कार्तिक, २०८१
डिजिटल संस्करण

ललितपुरको नक्खु करिडोरमा आठ वर्षदेखि छाप्रोमा बस्दै आइरहेका सोमबहादुर गुरुङलाई अझै बाढीले तहसनहस पारेको छाप्रो मर्मत र सफा गर्दा ठिक्क छ । १२ असोजमा आएको बाढीले नक्खु क्षेत्रलाई तहसनहस नै पार्यो । सोमबहादुरको छाप्रोभित्र बाढीको भेल पस्यो । दिउँसोको समय भएकाले उनको पाँचजनाको परिवार भागेर बाँच्न सफल भयो । माथिदेखि जमिन सोहोर्दै आइरहेको बाढीले उनको छाप्राभित्र भएका सबै सामग्री पुर्यो । दुई सातासम्म सफाइ गर्दा पनि उनले छाप्रोलाई पुरानै अवस्थामा ल्याउन सकेका छैनन् ।

‘गाउँ छाडेर हिँडेको धेरै वर्ष भयो, हामी पाँचजना आठ वर्षदेखि यही छाप्रोमा बस्दै आइरहेका छौँ, तर यसपटक बाढीले उठीवास बनायो, तैपनि सफा गरेर बस्नलायक बनाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘यो छाप्रो बनाएको जग्गाको भाडा पनि वार्षिक १५ हजार तिर्छु, तर यसपटक बाढीले भएभरको सामान बगायो ।’ खोलानजिक वास बस्दा बाढी आएपछि अब भने उनी आफ्नो जन्मघर धादिङ फर्कने सोचमा छन् । 

नक्खु करिडोरमै कैलाश साहको घन्टी कारखाना पनि डुबानमा पर्यो । मेसिन तथा सबै सामान बाढीले बगायो । कारखानाको छानोबाहेक केही रहेन । ‘मेरो टहरामा बाढी पसेर ३० लाखको क्षति भयो, मेसिन र सरसामान सबै बगायो,’ उनले भने । 

नक्खु करिडोर क्षेत्रमा पक्की घरको सटरमा पसल राखेका टेकबहादुर श्रेष्ठको पसल पनि बाढीले डुवायो । पसलमा भएभरका सामान काम नलाग्ने भए । ‘घर सफा गरेर अझै सकिएको छैन, पसलका सामान सबै बिग्रिए, खानेपानीको समस्या छ,’ उनले भने । बाढीले पक्की घर डुबानमा पारेपछि बिहीबार दिउँसो घर सरसफाइ र हिलो पखाल्न व्यस्त थिइन् आदिनाथ मार्गकी शोभा महत । ६ महिनाअघि मात्रै किनेको घरको पहिलो तलामा बाढी पसेको थियो । परिवार मिलेर सफा गरेपछि उनको घर भने बस्नलायक बनेको छ । 

भीषण वर्षापछि बाढीको चपेटामा परेको नक्खु करिडोर अहिले एउटा ठूलो बगर बनेको छ । बगरभरि ढुंगामाटो, बालुवा र घरटहराका भग्नावशेष छन् । करिडोरको करिब चार किमि क्षेत्रफल हेर्दैै उराठलाग्दो देखिन्छ । असोज दोस्रो साता ललितपुरको नक्खु खोलामा भीषण बाढी आउँदा स–साना छाप्रो, टहरामा बस्नेदेखि अग्ला–अग्ला पक्की घरसमेत डुबानमा परे । करिडोरमा रहेका हरेक घरका कोठा लेदोले भरिएको थियो । क्षणभरमै मानव बस्ती बसेको ठाउँ खण्डहर बन्यो । खानेपानीका इनार, धारा र कुवा सबै पुरिए । दुई साताअघिको बाढीका कारण डुबानमा परेको नक्खु करिडोर क्षेत्रमा अझै भग्नावशेष र फोहोर पन्छाएर सकिएको छैन । घरको एक तलासम्म भरिएको हिलो र अन्य फोहोर हटाउन स्थानीयलाई भ्याइनभ्याइ छ । घरभित्र बाढी पसेपछि कतिपय त घरै छाडेर हिँडेका छन् । भर्खर बन्दै गरेका पक्की घर बेवारिसे बनेका छन् भने गल्लीभरि हिलो र बालुवा थुप्रिएको छ । 

नक्खु खोला क्षेत्रकै सुगम टोलस्थित रौतहटका राजु साहको परिवारलाई नै बाढीले बगाएको थियो । केही वर्षदेखि जस्ताको टहरो बारेर ग्रिल कारखाना चलाउँदै आएका ४३ वर्षीय साहका परिवारका चारजनालाई बाढीले बगायो । ज्यान जोगाउन टहराको छानामाथि चढेका उनीहरूलाई बाढीले बगाएपछि काभ्रे तेमालका चणिकलाल तामाङले उद्धार गरेका थिए । टहरो बाढीले बगाएपछि उनको परिवार नक्खु क्षेत्रबाट बसाइँ सरेको छ । नक्खु करिडोरमा बाढी आउनुको मुख्य कारण यहाँको खोला क्षेत्र साँघुरो हुनु हो । साँघुरो खोलामा पिँधबाट बालुवा र माटो भरिँदै आउँदा खोलाको बाढी बस्तीतिर पसेको थियो । 

११ र १२ असोजमा उपत्यकाभित्र सबैभन्दा बढी पानी लेले–टीकाभैरव क्षेत्रमा परेको मापन गरिएको थियो । एकातर्फ उपत्यकाका सबै खोलाको पानी मिसिँदा र अर्कातर्फ लेले–टीकाभैरवमा पानी धेरै पर्दा नक्खु खोलामा बाढी आएको थियो । लेले–टीकाभैरव क्षेत्रमा सञ्चालन भइरहेका अवैध क्रसर उद्योग र खानीका कारण पनि यो खोलामा बाढी आएको भूगर्भविद्हरू बताउँछन् । करिडोरको करिब चार किमिहाराहारी क्षेत्रमा बाढी पसेको थियो । 

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले खोलाको पिँधमा बालुवा र माटो थुप्रिएपछि खोला बस्तीमा पसेको बताए । उनले नक्खु खोलामा यस्तो किसिमको बाढी लामो अन्तरालपछि आएकाले स्थानीय तह, नगर प्रहरी र स्थानीयवासीलाई बाढीसँग जुध्न कठिन भएको बताए । ‘खोला करिडोरमा बसोवास गर्नेले पनि बाढीको वेला सावधानी नअपनाएको देखियो, सुरक्षा उपकरण पनि कसैले प्रयोग गरेर र घरमा राखेको देखिएन, नगर प्रहरीले मानवीय क्षति रोक्न काम गरेको थियो,’ उनले भने, ‘हामीले २६ जना नगर प्रहरीसहित विपत् व्यवस्थापन टोली बनाएका छौँ ।’ 

बाढी प्रभावित क्षेत्रमा खानेपानीको समस्या 
बाढीले डुबान पारेको क्षेत्रका बासिन्दालाई खानेपानीको अभाव देखिएको छ । इनार, धारा, कुवा र मूल–मुहानसमेत बाढीले तहसनहस पारेका कारण स्थानीयवासीले खानेपानीको चरम संकट बेहोरेका छन् । नक्खु, लेले–टीकाभैरव, बागमती करिडोर, हात्तीवनलगायत क्षेत्रका बासिन्दाले प्रयोग गर्ने इनार बाढीले पुरेको छ । खानेपानीको पाइपसमेत बगाएको छ । बाढीका कारण खानेपानीको अभाव बढेको र टाढाबाट पानी ल्याएर निर्वाह चलाउनुपरेको नक्खु करिडोरका स्थानीय रमेश बस्नेतले बताए । ‘भएको इनार पुरियो, खानेपानीको पाइप थियो त्यो पनि पुरियो, ट्यांकर ल्याउनलाई बाटो नै बाढीले पुरेको छ,’ उनले भने, ‘टाढाबाट पानी बोकेर गुजारा चलाउनुपरेको छ ।’ 

टीकाभैरव क्षेत्रमा पनि बाढीपछि खानेपानीको हाहाकार देखिएको छ । पुराना मूलहरू बाढीले बगाएको छ भने धाराको बाँध पनि बाढीले बगाएपछि स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । टीकाभैरवकी श्रीया खड्काले बाढीपछि खानेपानीको समस्या भएको सुनाइन् । उनले घरदेखि करिब आधा घण्टा टाढाबाट पानी बोकेर ल्याउनुपरेको बताउँदै पुरानो इनार र धारा बाढीले पुरेको जानकारी दिइन् । 

बाढीपछि खानेपानीको समस्या भइरहेको चापागाउँ, टीकाभैरव क्षेत्र अवलोकन गर्न मंगलबार खानेपानीमन्त्री प्रदीप यादव पुगेका थिए । नल्लु, बासुकी र देवकी मुहान क्षेत्रमा रहेको मुहानमा बाढीले क्षति पुर्याएपछि पानीको अभाव भएको हो । मुहान अवलोकन गर्न पुगेका खानेपानीमन्त्री यादवले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र खानेपानी तथा ढल व्यवस्थापन विभागलाई बाढीपहिरो प्रभावित क्षेत्रमा खानेपानी वितरणमा ध्यान दिन निर्देशन दिएका थिए । 

ललितपुरका दक्षिण भेगका तीन गाउँपालिकामा खानेपानीको उस्तै समस्या 
ललितपुरको पहाडी तथा ग्रामीण क्षेत्र पर्ने दक्षिण ललितपुर बाढीपहिरोबाट धेरै प्रभावित बन्यो । बाढीका कारण झन्डै एक सातासम्म सडक र टेलिफोन सेवा ठप्प थियो । ठाउँठाउँमा पहिरो जानुका साथै अधिकांश बस्ती डुबानमा परे । बागमती, महांकाल र कोन्ज्योसोम गाउँपालिकाका आठ सय घरधुरीमा क्षति पुगेको थियो । बाढीपहिरोकै कारण यस क्षेत्रमा मूल मुहान र पानीका जरुवामा क्षति पुग्यो । बाढीपहिरोपछि अधिकांश मुहान सुकेका छन् । बाढीपहिरोका कारण महांकाल गाउँपालिकामा १३, कोन्ज्योसोम र बागमती गाउँपालिकामा तीन–तीनजनाको ज्यान गएको थियो । तीनजना अझै बेवत्ता छन् । 

कृषि तथा पशुपालनका लागि उर्वर मानिने दक्षिण ललितपुर क्षेत्रका ३० भन्दा बढी गाईगोठ बगाएको छ । बाढीपहिरोका कारण तीन गाउँपालिकाका घर पूर्ण क्षति भएर चार दर्जनभन्दा बढी परिवार टहरामा बस्दै आएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । कतिपय स्थानीय छिमेकीको घर, स्कुल र सामूहिक रूपमा आश्रय लिइरहेका छन् । महांकाल गाउँपालिकाको गोटीखेलमा सबैभन्दा बढी खानेपानीको समस्या देखिएको छ । मानीखेल, ठोट्नेखोला आसपासका बस्तीमा पनि खानेपानीको हाहाकार छ । महांकाल गाउँपालिकाभित्र रहेका आठ स्थानमा खानेपानी संरचना भत्किएका छन् । 

बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले खानेपानीको हाहाकार भइरहेको ठाउँमा सामूहिक रूपमा खानेपानीको व्यवस्था मिलाएको बताए । कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले खानेपानीलाई प्राथमिकता दिएर काम गरेको बताए । तर, गाउँपालिकामा बाढीका कारण विस्थापित हुने अवस्थामा पुगेका परिवारका लागि बसोवासको व्यवस्था भने पालिकाले गर्न सकेका छैनन् । 
 

See More On

सुझावित समाचार