सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालको मूल्यांकन दरलाई आधार मान्न महानगरको परिपत्र

मंगलबार, २९ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको राजस्व विभागले सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्यांकन दरलाई आधार मान्न परिपत्र गरेको छ।

असोज २३ गते वडा कार्यालयहरूलाई गरिएको परिपत्रमा चालू आर्थिक वर्ष ०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्यांकन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ)मा भएको प्रावधानको सट्टा काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८० मा भएको जग्गाको मूल्यांकन दरलाई आधार लिन भनिएको छ।

‘आर्थिक ऐन, २०८१ बमोजिम साउन १ गतेदेखि असोज मसान्तसम्म सम्पत्ति कर तिर्ने करदाताको हकमा संकलन गरिएको सम्पत्ति कर रकम आर्थिक ऐन, २०८० को तुलनामा घटीबढी भएको रकम आगामी ५ वर्षभित्र क्रमशः समायोजन गर्ने,’ परिपत्रमा उल्लेख गरिएको छ।

महानगरपालिकाका वडा कार्यालयहरूले आर्थिक ऐन, २०८१ को दफा २ को उपदफा (१)(घ) अनुसार आफ्नो भौगोलिक क्षेत्रभित्रका घरजग्गामा सम्बन्धित मालपोत कार्यालयले तोकेको जग्गाको प्रतिआना मूल्यलाई आधार मानेर कर संकलन गरिरहेका थिए।

यो व्यवस्थाबाट राजस्व संकलन गर्दा विगत वर्षहरूमा तिरेको कर रकममा अनपेक्षित घटीबढी भएको करदाता गुनासो आएपछि राजस्व समितिको सिफारिस र असोज २२ गते बसेको ३६औँ कार्यपालिकाको निर्णयअनुसार साबिकको दररेटमा संकलन गर्ने निर्णय भएको महानगरले जनाएको छ।

सुझावित समाचार