मकवानपुरको बागमती गाउँपालिकामा शनिबार बिहान यात्रुबाहक इभी गाडी दुर्घटना हुँदा तीनजना यात्रु घाइते भएका छन्। धरान-चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका वडा नम्बर-८, साततलेमा प्रदेश १-०२/००१ ज ४३२८ नम्बरको इभी गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
गाडी काठमाडौंबाट हेटौँडा हुँदै धरानको लागि छुटेको प्रहरीले जनाएको छ। घाइते हुनेमा भ्यानका चालक धनकुटाको बुद्ध नगरपालिका- १ हिलेका ५२ वर्षीय देवी थापा, सोही स्थानमा ३० वर्षीय प्रमिला तामाङ र काठमाडौंको चाबहिलकी ४८ वर्षीया बिना तामाङ लामा रहेको प्रहरीले जनाएको छ। घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।