फुजिमोरीको विरासतबाट उम्किन नसकेको पेरु

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

फुजिमोरीको मृत्यु भएपछि पनि पेरुको राजनीति फुजिमोरीवादी र फुजिमोरीविरोधी दलवरिपरि घुमिरहेको छ

म जन्मेको वर्ष अर्थात सन् १९९२ मा पेरुका राष्ट्रपति अल्बर्टो फुजिमोरीले देशको संसद् (कंग्रेस) विघटन गर्दै संविधान निलम्बनको घोषणा गरे । त्यसपछि उनले सम्पूर्ण विधायिकी तथा न्यायिक शक्ति आफ्नो हातमा लिए । राजधानीका सडकमा तोपहरू उतारियो । पत्रकार, फुजिमोरीका राजनीतिक विरोधीहरू गिरफ्तार परे । उनले आफ्नो निर्वाचित सरकारलाई तानाशाहीमा परिणत गरे, जसको असर अहिलेसम्म पेरूले भोगिरहेको छ । मैले जान्नेबुझ्ने भएदेखि नै मेरो देश पेरु फुजिमोरी र उनको राजनीतिक आन्दोलनको छायामा रहेको पाएको छु । र, मेरो पहिचान धेरै हदसम्म फुजिमोरीको विरोधीको रूपमा विकसित भएको छ । 

मैले कलेजमा सहभागिता जनाएको पहिलो राजनीतिक कार्यक्रम मानव अधिकार उल्लंघनका लागि फुजिमोरीलाई जेल सजाय दिइएपछि आयोजित खुसीयाली सभा थियो । त्यस्तै सक्रिय रूपमा भाग लिएको पहिलो राष्ट्रपतीय चुनावमा मेरो उद्देश्य उनकी छोरी केइको फुजिमोरीलाई राष्ट्रपति बन्नबाट रोक्नुमा केन्द्रित थियो । र, सन् २०१७ को क्रिसमस इभमा फुजिमोरीलाई राष्ट्रपति पेड्रो पाब्लो कुक्जिन्स्कीबाट क्षमादान दिइएपछिको विरोध प्रदर्शनमा म पनि सामेल भएको थिएँ । त्यो रात, राजधानी लिमा क्रिसमस मनाइरहदाँ प्रहरी भने हामी प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गर्दै थियो । अहिले उनै फुजिमोरीको सेप्टेम्बर ११ मा मृत्युपछि म उनको विरासत र आफ्नो देशको भविष्यलाई लिएर चिन्तित छु । 

आजको दिनसम्म पनि पेरुको राजनीतिको सबैभन्दा महत्वपूर्ण ध्रुवीकरण ‘फुजिमोरीवाद’ र फुजिमोरीविरोधीबिच कायम छ । फुजिमोरीका विचारधारणका अनुयाहीहरू तिनका पूर्वनेतालाई देशका रक्षक मान्छन् । उनी नभएको भए देश सन् १९८० को दशकको महामुद्रास्फीति र आतंकवादबाट निस्कन कठिन हुने तिनको बलियो विश्वास छ । अर्कोतर्फ, मलगायत फुजिमोरीवादका विरोधहीहरू उनको शासनकालमा भएका अपराध अक्षम्य रहेको विश्वास गर्छौँ । तर, फुजिमोरीको शासनको वास्तविक विरासत खासमा लक्ष्यका लागि जुनसुकै माध्यम पनि उचित हुन्छ भन्ने विश्वास हो । र, आज पनि उच्च लक्ष्य प्राप्तिका लागि प्रजातान्त्रिक प्रक्रियालाई बेवास्ता गर्न सकिन्छ भन्ने विचार पेरुका अधिकांश राजनीतिज्ञमा हाबी देखिन्छ । यहाँसम्म कि फुजिमोरीका विरोधी भनिएकाहरूमा समेत यो विश्वास देखिने गरेको छ । 

फुजिमोरी राष्ट्रपति पदमा आउनुअघि पेरुको उदार लोकतन्त्र अझै शिशु अवस्थामा थियो । सन् १९८० मा १२ वर्ष लामो सैन्य तानासाहीपछि देशमा प्रगतिशील संविधान लागू भएको थियो । त्यसले बलियो श्रमिक अधिकार स्थापित गर्यो । सबैको मताधिकार सुनिश्चित गर्यो । त्यस्तै, दमित प्रेस स्वतन्त्र भए । यी राजनीतिक सुधारका बाबजुद सन् १९८० को दशक पेरुका लागि विपत्पूर्ण पनि रह्यो । उग्र माओवादी विचारधारा बोकेको ‘साइनिङ पाथ’ले राज्यविरुद्ध युद्ध सुरु गर्यो । गृहयुद्धमा हजारौँ पेरुवासी मारिए, हजारौँ बेपत्ता भए । दुवै पक्षबाट मानव अधिकारविरोधी घटना भए । विध्वंशात्मक गतिविधिमा संलग्न भएको आशंकाको भरमा पक्राउ गर्ने अधिकार पाएको पेरुको सेना र प्रहरीहरूको नाम कैयौँ गैरन्यायिक पक्राउ तथा हत्यामा जोडियो । सन् १९८० को दशकमा आएको महामुद्रास्फीतिका कारण गरिबी उल्लेखनीय रूपमा बढेको थियो । सरकारी तथ्यांकअनुसार सन् १९८८ मा उपभोक्ता मूल्यमा १७२२ प्रतिशतले वृद्धि देखिएको थियो । 

सन् १९९० मा राष्ट्रपति पदमा निर्वाचित हुँदा फुजिमोरीले देशको अर्थतन्त्र तथा हत्याहिंसाविरुद्ध कदम चाल्ने वाचा गरेका थिए । तर, निर्वाचित भएको केही समयपछि लोकतान्त्रिक प्रक्रियाले आतंकवाद र आर्थिक संकटलाई सम्बोधन गर्न नसकिने विश्वासमा उनी पुगे । शक्ति पृथकीकरण, मानव अधिकार र राजनीतिक बहुलवाद संकटको समयमा विलासिताका वस्तु भएको उनले तर्क गरे । जब संसद् (कंग्रेस), न्यायपालिका र नागरिक समाजबाट फुजिमोरीको विरोध सुरु हुन थाल्यो, उनले लोकतान्त्रिक रूपमा निर्वाचित आफ्नै सरकारलाई अपदस्थ गरिदिए । त्यसपछि उनले नयाँ संविधान लागू गरे, जुन संविधान अझै लागू भइरहेको छ । नयाँ संविधान एउटा नेताको हातमा अथाह शक्ति केन्द्रित गर्ने हिसाबले निर्माण गरिएको थियो । 

अब उनका अगाडि कुनै बन्देज रहेन । मनपरी पक्राउ गर्नु, हत्या गर्ने डेथ स्क्वाडको निर्माण गरेर तिनलाई स्वच्छन्द छाडिदिनु, राजनीतिकविरोधीलाई खरिद गर्नु, मिडियामा सेन्सर लगाउनु, असुविधाजनक न्यायाधीशहरूलाई बर्खास्त गर्नुजस्ता काम निर्बाध चले । तर, पनि उनी आमजनतामाझ लोकप्रिय नै थिए । आतंकवाद र अति उच्च दरको मुद्रास्फीतिबाट जोगाउन नसक्ने प्रणालीबाट थकित पेरुवासीहरू केही स्थिरताको बदलामा अधिनायकवाद स्विकार्न तयार भएका थिए । तर, फुजिमोरीले जनताको स्थायित्वको चाहनालाई निकै भयानक मूल्यमा पूरा गरे, जसको मूल्य पेरुले उनको मृत्युपछि चुकाइरहेको छ । 

फुजिमोरीको शासनकालमा चर्चित व्यक्तिहरूसमेत देशको गुप्तचर निकायको कार्यालय गएर फुजिमोरीप्रति तिनको बफादारिताका लागि सीधै घुस माग्थे । सन् २००० सेप्टेम्बरमा गुप्तचर कार्यालयका निर्देशक भ्लाडिमिरो मोन्टेसिनोसले विपक्षी दलका सदस्यलाई घुस दिन खोजेको भिडियो पेरुभियन टेलिभिजनमा प्रसारण भयो । त्यसपछिका घुस लिँदै गरेका थप भिडियो सार्वजनिक भयो । राजनीतिज्ञ, मिडियाकर्मी र न्यायाधीशसमेतले घुस लिँदै गरेको भिडियो प्रत्येक दिन राष्ट्रिय टिभीमा प्रसारण हुन थालेको थियो । त्यस प्रकरण ‘भ्लाडिभिडियो स्क्यान्डल’को रूपमा चिनिन थाल्यो । पहिलो भिडियो प्रसारण भएपछि फुजिमोरी जापान भागे । त्यहीँबाट उनले फ्याक्समार्फत राष्ट्रपति पदबाट राजीनामा दिए । तर, संसद् (कंग्रेस)ले सो राजीनामा स्वीकार गरेन । उनलाई ‘नैतिक रूपमा अयोग्य’ घोषणा गर्दै महाभियोगमार्फत पदबाट हटाउन मतदान भयो । 

राष्ट्रपतिबाट पदच्यूत भएपछि महान्यायाधिवक्ताको कार्यालयले फुजिमोरीविरुद्ध अरू धेरै आरोप दायर गर्यो । उनी अन्ततः चिलीमा पक्राउ परे र मुद्दाको सामना गर्न पेरुमा सुपुर्दगी गरियो । सन् २००९ मा पेरुको सर्वोच्च अदालतले उनलाई मानव अधिकार उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्यो । उनलाई ‘बारियोस अल्टोस’ र ‘ला क्यानटुटा’का दुई नरसंहारका लागि दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय दिइयो । ती दुई घटनामा फुजिमोरीले गठन गरेको सेनाको डेथ स्क्वाडले आठ वर्षको बालकसहित २५ जनालाई मारेको थियो । आफ्नो मृत्युको समयमा, फुजिमोरीले ‘पाटिभिल्का नरसंहार’को सम्बन्धमा मुद्दा सामना गरिरहेका थिए । त्यस घटनामा डेथ स्क्वाडले ६ जना किसानलाई मारेको थियो । त्यसबाहेक पनि फुजिमोरी अन्य विभिन्न मुद्दामा गैरकानुनी वायरट्यापिङ, अकुत आर्जन, सांसद तथा मिडियाकर्मीको खरिदबिक्री र मानवता विरुद्धको अपराधहरूमा दोषी ठहर्याइए । आजसम्म, धेरै पेरुका नागरिकहरू फुजिमोरीका ती अपराध उनको सरकारले देशमा ल्याएको स्थिरताको तुलनामा नगण्य भएको मान्छन् । तर, सबै त्यस्तो सोच्दैनन् । 

फुजिमोरीको मृत्युपछि पेरुको सरकारले फुजिमोरीको सम्मानमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्यो । उनको बारेमा धेरै लेख लेखिए । थुप्रै बहस भए । कतिले उनको सफल नीतिहरूको अवमूल्यन गर्ने प्रयास गरे । अरूले उनको अपराधको गम्भीरतालाई अस्वीकार गर्ने प्रयास गर्दै छन् । तर, यी पक्ष र विपक्षको बहसका बिच एक महत्वपूर्ण विषय भने छुटिरहेको छ । त्यो हो, फुजिमोरीले निर्वाचित सरकारले गर्न हुने र नहुने सीमालाई परिवर्तन गरिदिए । उनले कंग्रेसको आफ्नो बहुमतलाई सरकारलाई जवाफदेही बनाउने संस्थाहरूमाथि आक्रमण गर्न र कब्जा गर्न प्रयोग गरे । यो अभ्यासलाई उनका अनुयायीले मात्र होइन, उनका विरोधीले पनि धेरै हदसम्म जीवित राखेका छन् ।

फुजिमोरीको अधिनायकवादी प्रवृत्ति उनको राजनीतिक आन्दोलनको विपक्षमा रहेको दाबी गर्नेहरू पनि उनका अभ्यास अपनाउन इच्छुक देखिन्छन् । जस्तो, सन् २०२१ को चुनावको क्रममा लोकप्रिय, वामपन्थी उम्मेदवार पेड्रो क्यास्टिलाले संवैधानिक अदालत र अनुसन्धान कार्यालयलाई ‘निष्क्रिय’ गर्ने वाचा गरेका थिए । उनले फुजिमोरीविरोधीकै समर्थनमा त्यस वर्ष निर्वाचन जिते । तर, सत्तामा आइसकेपछि सन् २०२२ मा उनले कांग्रेस(संसद) विघटन गर्ने प्रयास गरे । उनले त्यति वेला नयाँ विधायिका चयन नभएसम्म अध्यादेशमार्फत शासन गर्ने घोषणा गरेका थिए । त्यस प्रयासमा फुजिमोरीको स्वकुप प्रयासको झझल्को देखिन्थ्यो । 

वामपन्थी पार्टीहरूको प्रतिनिधित्व गर्ने कांग्रेसका धेरै सदस्य परम्परागत रूपमा फुजिमोरीविरोधी मानिन्छन् । तर, सन् २०२४ मा तिनले संविधानको लगभग एकचौथाइ परिमार्जन गर्न फुजिमोरिवादी दल र तिनका सहयोगी दलसँग मिलेर मतदान गरे । त्यसका लागि तिनले लगभग कुनै सार्वजनिक बहस आवश्यक ठानेनन् । तिनले गरेका परिमार्जनले सांसदको शक्ति बढाएको छ भने संसद्माथि निरीक्षण गर्ने संवैधानिक संस्थाको स्वतन्त्रता र शक्ति पृथकीकरणको ग्यारेन्टीलाई कमजोर बनाएको छ । 

फुजिमोरीले आफ्नो अपराधका लागि कहिल्यै माफी मागेनन् । पेरुमा धेरैले उनको निधनमा शोक व्यक्त जनाए । तर, मेरो शोक भने उनको शासनका पीडितहरूप्रति रह्यो । केहीले भने उनको मृत्युमा खुसीसमेत व्यक्त गरे । तर, फुजिमोरीको विनाशकारी विरासत जीवित रहँदा र हाम्रा संस्थाहरूले त्यसका पीडा असर भोगिरहँदा खुसी मनाउनुको कुनै तुक देख्दिनँ । जुन दिन पेरुको प्रजातन्त्रविरुद्ध फुजिमोरीले सुरु गरेको आक्रमणको अन्त्य हुनेछ र देश फुजिमोरीको विरासतबाट बाहिरिन्छ तब मात्र म उत्सव मनाउनेछु ।

– द न्युयोर्क टाइम्सबाट

सुझावित समाचार