शनिबारको अविरल वर्षापछिको बाढीले ललितपुर महानगरपालिका– २५ सुगमटोलस्थित नक्खु खोलामा बग्दै गरेका दुईजनाको ज्यान जोगाउने काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफ्नो ज्यान जोखिममा पारेर पनि अरूको उद्धारमा खटिएका चणिकलाललाई प्रदेश सरकारका तर्फबाट नगद डेढ लाखसहित सम्मान गर्ने जानकारी दिए । उनले चणिकलालको साहसले बग्दै गरेका दुईजनाको ज्यान जोगिएको भन्दै प्रशंसासमेत गरे ।
मुख्यमन्त्री लामाले चणिकलाई टेलिफोनमार्फत साहसिक कामका लागि धन्यवाद दिएको बताउँदै प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी गराएका छन्। काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नक्खु खोलामा बग्दै गरेका रौतहट जिल्लाका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए ।
‘विपत् प्रतिकार्यमा चणिकलालले खेलेको भूमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको छ । उनको साहसिक कामले विपत् व्यवस्थापनमा आमनागरिकले कस्तो भूमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको छ,’ मुख्यमन्त्री लामाले भने, ‘आगामी दिनमा विपत् प्रतिकार्यका लागि चणिकलालजस्ता युवालाई प्रदेश सरकारले साथमा आवश्यक सहयोग र तालिमको व्यवस्था गर्छ ।’
प्रदेशका १३ वटै जिल्लामा विपत् व्यवस्थापन, उद्धार र राहतको कामलाई तीव्रता
यसैबिच मुख्यमन्त्री लामाले विपत् व्यवस्थापन र बाढी, पहिरो प्रभावितको तत्कालीन उद्धार र राहत व्यवस्थापनका लागि प्रदेश सरकारले १३ वटै जिल्लामा आवश्यक जनशक्ति व्यवस्थापन गरेको बताएका छन्। विपत् प्रभावितको उपचारका लागि सबै जिल्लामा टोली परिचालन गरिएको जानकारी गराउँदै उनले नि:शुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । यस्तै, तत्काल राहत र अस्थायी बसोवासका लागि आवश्यक प्रबन्ध मिलाउने काम भइरहेको मुख्यमन्त्री लामाको भनाइ छ ।
उनले संघीय सरकारसँगको समन्वय र स्थानीय सरकारसँगको सहकार्यमा पीडितलाई थप राहतको व्यवस्थापन गरिने पनि बताए । यसैगरी, बाढी र पहिरोका कारण क्षति पुगेका राजमार्ग र ग्रामीण सडकहरूलाई दसैँअघि नै सञ्चालन गर्ने गरी काम सुरु भइसकेको पनि जानकारी दिए ।