सप्तकोशी नदीमा पानीको बहाव बढेपछि सप्तरी जिल्लाका सुरक्षा प्रमुख कोशी ब्यारेज पुगेका छन्। कोशी ब्यारेज र तटबन्धलगायतका संरचनाको अनुगमनका लागि जिल्लाका सुरक्षा प्रमुखहरू कोशी ब्यारेज पुगेका हुन्।
११ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव चार लाख ९४ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ ढोका खुला गरिएको छ।
सम्भावित खतराको आकलन तथा कोशी ब्यारेज र तटबन्धलगायतका संरचनाको अनुगमनका लागि जिल्लाका सुरक्षा प्रमुख कोशी ब्यारेज आएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बताए।
कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।
सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो। सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो। कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धान्ने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ। पछिल्लो समय कोशी ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ।
०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यति वेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानव बस्तीमा पसेको थियो। त्यति वेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा सात हजार पाँच सय ६३ परिवार विस्थापित भएका थिए।