अविरल वर्षाका कारण राप्ती राजमार्गअन्तर्गत चोरखोला राम्री सडकखण्ड भासिएको छ। दाङ तुलसीपुर उपमहानगरपालिकास्थित राम्री नजिकै शनिबार बिहान सडक भासिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
सडक भासिँदा लामो तथा छोटो दूरीका यातायातका साधन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। सडक पूर्ण रूमा भासिएकाले केही दिनसम्म सवारी आवागमन ठप्प हुने खत्रीले बताए। उनका अनुसार सडक धेरै तलबाट भासिएकाले मर्मत गर्न करिब ४∕५ दिन समय लाग्ने बताए।
सडक सुचारु नहुँदासम्म ठुला सवारीसाधन ठप्प हुने उनले उल्लेख गरे। साना सवारीसाधनका आवागमनका लागि भने कपुरकोट पाखापानीअन्तर्गत पर्ने वैकल्पिक बाटोको प्रयोग गर्ने प्रयास गरिए पनि पानी परिरहेकाले समस्या आएको जानकारी दिए। यस्तै, सुर्खेत –सल्यान सडकअन्तर्गत बनगाड कुपिण्डे नगरपालिका- ८, कोटभिरमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध हुँदा सवारीसाधन बिचबाटोमै रोकिएका छन्। सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।