मूलधारका दलहरूप्रति रुष्ट वा आक्रोशित युवापुस्ता स्मार्ट फोनमा ‘रिल्स’, ‘सर्टस्’ र टिकटक भिडियो ‘स्क्रोल’ गर्दै त्यसमै रमाइरहेको भेटिन्छ
आन्दोलन शब्दको प्रयोग गर्दा विद्यालयमा अध्ययन गर्दै गरेको अहिलेको पुस्ता ‘इरिटेट’ हुन पनि सक्छ । परम्परागत मूलधारका राजनीतिक दलको असफल नेतृत्वका कारण नयाँ पुस्ता राजनीतिप्रति निकै नकारात्मक देखिन्छ । उनीहरू ‘राजनीति’ र ‘आन्दोलन’जस्ता शब्द सुन्नेबित्तिकै त्यसप्रति अरुचि र निराशा व्यक्त गर्छन् । नेपालका राजनीतिक दल र तिनको भूमिकाप्रति पनि नयाँ पुस्ता निकै नकारात्मक देखिन्छ । पुराना राजनीतिक दल र नेताहरूले समाजलाई सही मार्ग दिन सकेनन्, देश बिगारे, देश बस्नलायक नै रहेन भन्ने बुझाइ उनीहरूमा व्याप्त भएको छ ।
आखिर अहिलेको युवापुस्तामा यस खालको भावनाको विकास कसरी हुन गएको होला ? राजनीतिप्रति नयाँ पुस्ताको अरुचिका अरू धेरै कारण पनि छन् । सूचना प्रविधि, खासगरी इन्टरनेटको विकास र त्यसको व्यापक प्रयोगका कारण अहिले मानिस त्यसको गहिराइमा रमाउन व्यस्त देखिन्छन् । उनीहरू राजनीतिक सिद्धान्तका जटिल र पट्यारलाग्दा ‘लफ्फाजी’भन्दा क्षणिक मनोरञ्जन दिने ‘टिकटके तड्का’ मन पराउँछन् । लामा–लामा प्रवचन तथा राजनीतिक नेतृत्वका भाषण होइन, एक–दुई लाइनका व्यङ्ग्यात्मक तथा मनोरञ्जनात्मक ‘तड्का’ले नयाँ पुस्ताको ध्यान तान्छ । मूलधारका दलहरूप्रति रुस्ट वा आक्रोशित युवापुस्ता स्मार्ट फोनमा ‘रिल्स’, ‘सर्टस्’ र टिकटक भिडियोहरू ‘स्क्रोल’ गर्दै त्यसमै बडो मजाले रमाइरहेको भेटिन्छ । यसैले, पनि यस पुस्तामा तिनै सञ्जालले जेजस्ता सूचना दिन्छन्, उनीहरूमा त्यसैअनुरूपको धारणा विकास भइरहेको पाइन्छ ।
अचेल सामाजिक सञ्जालमा पोस्ट हुने नेताहरूको भाषणमा ताली होइन, गालीको वर्षा हुन्छ । कसैले राजनीतिक नेताहरू लक्षित गालीको वर्षा गरेर बनाएको भिडियो पोस्ट ग¥यो भने त्यो रातारात ‘भाइरल’ हुन्छ । सामाजिक र वैचारिक राजनीतिक नग्नता बिक्न थालेको छ । परम्परागत गुन्युचोलोमा सजिएको फोटोमा भन्दा आधा शरीर मात्रै छोप्ने भद्दा आधुनिक फेसनमा पोस्टिएका फोटाहरू बढी मन पराइन्छन् । अचेल सामाजिक सञ्जालमा राजनीतिक गाली अत्यधिक बिक्छ । साइबर क्राइम र गाली बेइज्जती ऐनका दफाहरू लगाएर ठुलो संख्यामा मानिसलाई सरकारका संरचनाले कारबाहीको डन्डा चलाए पनि अवस्था नियन्त्रणमुखी छैन । बरु, यो झन्–झन् विकराल रूपमा फैलँदो छ । यस्तो भान हुन्छ कि नयाँ पुस्ताले पुरानो पुस्ताको राजनीतिलाई अब कुनै हालतमा पनि स्वीकार गर्न सक्ने स्थिति बन्दैन । आखिर यस्तो किन भइरहेको छ त ? देशभित्र यस किसिमको सामाजिक मनोविज्ञान र चेतनाको विकास हुनुले के संकेत गर्छ ? के अब परम्परागत राजनीतिक शक्तिहरूको विलोपीकरण नै हुने हो त ? बौद्धिक जमातले यी प्रश्नमाथि गम्भीर विमर्श गर्नुपर्ने खाँचो देखिन्छ ।
वास्तवमा यस्तो अवस्था आउनु भनेको नेपाली संस्कृति र सामाजिक चेतनाको भ्रष्टीकरण हो । यसले हाम्रो संस्कार र संस्कृतिमाथि धाबा बोल्दै गएको छ । मानिसमा छाडापन निकै बढ्दो छ । मानिस आफ्नो प्रस्ट दृष्टिकोण बनाउने, राजनीतिक वैचारिक ज्ञान आर्जन गर्न पटक्कै रुचाउँदैन । यसबाट समाज निरन्तर वैचारिक विघटनतिर गएको देखिन्छ । कुनै पनि देश या समाजले जब आफ्नो संस्कार र संस्कृति जोगाउन सक्दैन, आफ्नो इतिहास नयाँ पुस्तामा सार्न सक्दैन, त्यो देश र समाज निरन्तर विघटनतर्फ नै जान्छ । त्यो देश अन्ततः विलोपीकरणतर्फ नै सोझिन्छ । नेपालमा अहिले नेपाली संस्कार र संस्कृति तीव्र रूपमा विघटनतिर गइरहेको छ भने पश्चिमा संस्कार र संस्कृति तीव्र गतिमा हाबी भइरहेको छ । अहिलेको युवा पुस्ताले नेपालको इतिहास, नेपाली संस्कार र संस्कृतिलाई जोगाउने, विकास गर्नेतर्फ अलिकति पनि ध्यान दिएको छैन । यो निकै ठुलो चिन्ताको विषय हो ।
सामाजिक सञ्जालले अल्झाएको वा ‘लत लगाएर बन्दी बनाएको’ यो पुस्ता र जनसमूहमा सकारात्मक सोचको विकास गर्न र उनीहरूलाई आफ्नो इतिहास, संस्कार र संस्कृतिको ज्ञान दिन राज्यले योजनाबद्ध रूपमा त्यही प्रविधिको प्रयोग गरेर ‘कन्टेन्ट’हरू विकास गर्नु उपयुक्त हुन्छ । वास्तवमा आज प्रविधिको विकासले सिकाइ प्रक्रियालाई नै बदलेको छ ।
पाठ्यपुस्तकको परम्परागत रूपमा भन्दा नयाँ प्रविधिमा उपलब्ध कन्टेन्टले मानिसको सिकाइलाई तीव्र बनाएको छ । इन्टरनेटको व्यापक उपयोगसँगै यसमा राखिने सूचना र ज्ञानमूलक कन्टेन्टमाथिको पहुँच व्यापक बनेको छ । विगतमा विश्वविद्यालयका ठुला पुस्तकालयभित्र भण्डार हुने गरेका सामग्री आज एक क्लिकमा हातहातमा पुगिरहेको छ । ‘इ–बुक्स’ र ‘इ–पुस्तकालय’हरूले मानिसको सूचना तथा पुस्तकमाथिको पहुँचलाई व्यापक बनाइदिएका छन् । हजारौँ ठेलीहरू मथेर निकालिने एक पृष्ठको सामग्री आज प्रविधिको प्रयोग गरेर एकैछिनमा तयार हुने अवस्था आएको छ । पढ्न अल्छी लागे पढिदिने सफ्टवेयरहरू विकास भएको छ । हप्तौँ लगाएर पढ्दा पनि नसकिने सयौँ–हजारौँ पृष्ठ लामा उपन्यास तथा इतिहासका पुस्तकलाई केही घन्टाको फिल्ममा उतारिएको छ । अहिले त ‘भिजुअलाइजेसन’को क्रान्ति नै आएको छ भन्दा फरक नपर्ला सायद ।
यस्तो अवस्थामा राजनीतिक दल र तिनका भ्रातृ संगठनको भूमिका अवश्य पनि बदलिएको छ या बदलिनुपर्छ । समयले नयाँ विधि, नयाँ शैली र नयाँ कार्यक्रम माग गरेको छ । तर, राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू भने आफ्नो परम्परागत शैलीमै अभ्यस्त छन् । आज सामाजिक सञ्जालभित्र लाखौँका संगठन निर्माण गर्ने र त्यसैभित्र आफ्नो ज्ञान, सिप, सूचना साझा गरी प्रभाव पार्न सकिने अवस्था छ । शिक्षाका औपचारिक संरचनाभित्र पसेर सदस्यता विस्तार गर्न र संगठन बनाउनुभन्दा बढी प्रभावकारिता सामाजिक सञ्जालमा देखिएको छ । तर, राजनीतिक संघ, संगठनले यसलाई राम्रोसँग ‘एडप्ट’ गर्न सकेका छैनन् ।
विगतमा कुनै संघ, संगठन वा राजनीतिक दलको केन्द्रीय नेता सोपानक्रमका आधारमा संगठनको नेतृत्व तहसम्म पुग्ने र उसले देशको, विश्वको राजनीतिक अवस्थाको लामो बखान गर्दै आफ्नो संस्थाले बनाएको कार्ययोजना र कार्यक्रमको घन्टौँ प्रवचन दिने अभ्यास थियो । त्यो नेता तल–तलसम्म त्यसरी पुगेर प्रवचन अर्थात् प्रशिक्षण नदिँदासम्म तलका सदस्यलाई केही पनि थाहा हुन नसक्ने अवस्था पनि थियो कुनै समय । तर, आज त्यसरी नेताहरू नपुग्दै संगठनका सामान्य सदस्य, शुभचिन्तक वा जिज्ञासु सर्वसाधारण नागरिकलाई केन्द्रबाट कार्यक्रम र विचारको ‘नोट कपी’ लिएर आधारसम्म पुग्ने नेताभन्दा बढी ज्ञान र सूचना प्राप्त भइसकेको हुने स्थिति छ । यही नै आजको नेपाली समाज र राजनीतिक संघसंस्थाबिचको ठुलो अन्तरविरोध हो । कृत्रिम बौद्धिकताको तीव्र विकास र त्यसको प्रयोगले परम्परागत सोचलाई अझ ठुलो चुनौती दिएको छ ।
विद्यार्थी संगठनहरूले विगतको जस्तै आन्दोलनका स्वरूप प्रयोग गरेर आजका विद्यार्थीलाई संगठित गर्न सकिँदैन । आजका विद्यार्थीलाई प्रभावमा पार्न सकिँदैन । उनीहरूलाई नेतृत्व गर्न पनि सकिँदैन । जसरी आजका विद्यार्थीलाई संगठित र नेतृत्व गर्न सकिँदैन, त्यसैगरी आजका जनतालाई पनि सकिँदैन । त्यसैले, विद्यार्थी संगठनहरूले आफ्नो सांगठनिक स्वरूप, आफ्नो कार्यक्रम र कार्ययोजनामा व्यापक विकास गर्नुपर्छ । बिल्कुलै नयाँ विधि, शैली र कार्ययोजना बनाउनुपर्छ । जसरी प्रविधिले मानिसको सिकाइ प्रक्रियालाई छिटो र सहज बनाएको छ, त्यसकै आधारमा राजनीतिक संस्थाहरूले आ–आफ्ना कार्यक्रमको कार्यान्वयन प्रक्रिया र विधिलाई पनि बदल्नुपर्ने भएको छ । विद्यार्थी संगठनहरूले विद्यार्थीको सिकाइ क्रियालाप बृद्धि गर्ने, सामाजिक ज्ञान चेतना निर्माणको नयाँ शैली अपनाउन, सामाजिक राजनीतिक खराबीलाई पछार्ने नयाँ विधिको विकास गर्न जरुरी छ । अबका राजनीतिक शक्तिहरूले समाजमा उपलब्ध परम्परागत विचार, विधि र शैलीलाई अँगाल्नतिर भन्दा नयाँ र उन्नत विचार, विधि, शैली र प्रविधिको विकासतर्फ आफूलाई लगाउनुपर्छ । उनीहरूले आफ्नो तरिकामा आमूल रूपान्तरण गर्नु जरुरी छ । अन्यथा, नयाँ पुस्तालाई राजनीतिसित जोड्न कठिन मात्र होइन, लगभग असम्भव हुनेछ ।
(हमाल अखिल (क्रान्तिकारी) की केन्द्रीय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज हुन्)