इजरायली प्रधानमन्त्री नेतन्याहुको उद्देश्य भनेकै ‘सदाबहार युद्ध’ हो किनकि यसले उनको सत्तालाई टिकाइराख्छ
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई रोक्नैपर्छ । लेबनानमा भइरहेको आतंक नेतन्याहुको पछिल्लो अपराध हो । के बेलायत, अमेरिका, राष्ट्र संघ र मानव अधिकारको पैरवी गर्छौं भनेर दाबी गर्नेले अंकुशविहीन नेतन्याहुको अपराधमाथि आँखा चिम्लने हो ? नेतन्याहुले दक्षिणी लेबनानलाई दोस्रो गाजामा परिणत गरिरहेका छन् । ७ अक्टोबर २०२३ देखि ४१ हजारभन्दा बढी गाजाका नागरिकको मृत्यु भएको छ र सोमबार लेबनानमा बालबालिकासहित लगभग पाँच सय मारिएका छन् ।
नेतन्याहुले यो हालैको कत्लेआम ‘सुरक्षा सन्तुलन पुनस्र्थापना’ गर्न आवश्यक भएको दाबी गरेका भए पनि उनी आफैं असन्तुलित छन् । दक्षिण लेबनानका बासिन्दालाई बस्ती खाली गर्न नेतन्याहुको आदेशले सम्भावित भू–आक्रमणका साथ थप तीव्र हवाई आक्रमण हुने संकेत गर्छ । तर, सन् २००६ मा झैँ हालको हमला पनि असफल साबित हुनेछ । तथापि, इजरायली हमलाका बाबजुद हेजबुल्लाहले थप रकेट प्रहार गरिरहेको छ र आफ्नो दायरा विस्तार गरिरहेको छ । विस्थापित इजरायली अझै सुरक्षित रूपमा घर फर्कन सकेका छैनन् । वास्तवमा हिंसाले मात्र बढी हिंसा, द्वेष र प्रतिशोध निम्त्याउँछ, न कि सुरक्षा ।
नेतन्याहुले आफ्नो अभियानको उद्देश्य हिजबुल्लाहलाई सिध्याउने र तिनलाई लिटानी नदीको उत्तरतिर धकेल्ने रहेको दाबी गरेका छन् । आफूले लेबनानी नागरिकको ख्याल राखिरहेको बताएका छन्, तर यो दाबी उनले इजरायली बन्धकको हेरचाहका लागि प्रयास गरेको छु भनेजस्तै हो, अर्थात् अधिकांश इजरायली बन्धकको मृत्यु भइसकेको छ । हमासलाई नष्ट गर्न असफल भएपछि नेतन्याहुले जानाजानी हेजबुल्लाहसँगको द्वन्द्व बढाइरहेका छन् । यस अर्थमा नेतन्याहुले दोस्रो मोर्चा खोलेका छन् । हालैका आक्रमण र प्रमुख कमान्डरहरूको हत्या सुरुवात मात्र थियो । नेतन्याहुको उद्देश्य भनेकै ‘सदाबहार युद्ध’ हो, किनभने यसले उनको सत्तालाई टिकाइराख्छ । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलको आक्रमणलाई ‘संहारको युद्ध’को संज्ञा दिँदै नेतन्याहुलाई रोक्नैपर्नेमा जोड दिएका छन् । उनले राष्ट्र संघ र प्रभावशाली मुलुकसामु थप नरसंहार रोक्न अपिल गरेका छन् । लेबनानमा राष्ट्रसंघीय शान्ति सेनाले हालैका समयमा इजरायलले सबैभन्दा तीव्र बमबारी अभियान चलाइरहेको र क्षेत्रीय द्वन्द्व थप भड्किने चेतावनी दिएको छ ।
इजरायलले जुलाईमा तेहरानमा हमास नेताको हत्या गरेपछि इरानले आफ्नो धम्कीका बाबजुद संयमता देखाएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले नेतन्याहुलाई आफूलाई जोगाउन बृहत् युद्ध खोजेको आरोप लगाउँदै ‘हरेक दिन इजरायलले थप अत्याचार गरिरहेको छ’ भनेका छन् । पेजेस्कियानले क्षेत्रीय युद्धमा कसैले नजित्ने पनि थपेका छन् । हेजबुल्लाहले गाजा युद्धविरामपछि मात्र क्षेप्यास्त्र प्रहार बन्द गर्ने बताएको छ । यता नेतन्याहुले भने यस्ता युद्धविराम कैयौँपटक अवरुद्ध गरेका छन् । यद्यपि बेलायतका लागि इजरायलका राजदूत जिपी होटोभली यो सबै उत्तरी क्षेत्रको आतंकको खतरालाई निमिट्यान्न गर्न गरिएको भनेर जोड दिन्छिन् । आतंकको खतरा कहाँबाट आइरहेको छ राजदूत होटोभली ? वास्तवमा आतंकको जोखिम इजरायली शीर्षस्थ नेतृत्वको अस्वीकृति र गलत निर्देशनबाट आइरहेको छ ।
‘नेतन्याहुको हालैका भाषण र वरिष्ठ आइडिएफ (इजरायली सेना) का अधिकारीसँगको कुराकानीले उनी युद्धविराम सम्झौतामा पुग्न इच्छुक छैनन् भन्ने संकेत गर्छ । र, उनका उग्र–दक्षिणपन्थी साझेदारले युद्धविरामको विरोध गर्दै आएका छन्,’ इजरायली दैनिक हारेजका टिप्पणीकार आमोस हरेलले लेखेका छन् । ‘उनको व्यक्तिगत भाग्यले बन्धकको भाग्यभन्दा बढी प्राथमिकता पाउँछ । उनले हेजबुल्लाहलाई चोट पुर्याउने र हमासलाई अप्रत्यक्ष रूपमा असर गर्ने सबै महत्वाकांक्षी कदममा आँखा चिम्लेर कारबाही चलाउने गरेका छन्,’ हरेल थप्छन् । नेतन्याहुलाई रोक्नैपर्छ । तर, कसले रोक्ने ? आगामी चुनावमा व्यापक द्वन्द्वले डेमोक्य्राटलाई क्षति पुर्याउने डरले जो बाइडेनले संकटको गलत व्यवस्थापन गरेका छन् । उनी रोक लगाउन सक्दैनन् । बाइडेन इजरायलविरुद्ध पक्षपाती देखिनबाट जोगिन कुनै कदम चाल्दैनन् । वासिंटनको अडान कमजोर छ । र, लन्डनको त्यही अवस्था छ, प्रधानमन्त्री केयर स्टारर नेतृत्वको बेलायत सरकारले पनि इजरायलमा हतियार निर्यात निलम्बन गर्ने जस्ता अर्थपूर्ण कदम चाल्ने अपेक्षा नगर्दा हुन्छ । विदेश सचिव डेभिड लामी ‘हिम्मत’ र ‘साहस’को कुरा गर्छन्, तर पश्चिमा शक्तिमा यसैको कमी देखिन्छ । यो कमीका कारण लेबनानले पनि पीडादायी मूल्य व्यहोर्न थालेको छ ।
के अन्तर्राष्ट्रिय कानुनले नेतन्याहुको नेतृत्वमा भइरहेको थप हिंसालाई रोक्न सक्छ ? धेरै अपेक्षा नगरौँ । मुख्य अभियोजकले मेमा अनुरोध गरेझैँ अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशले गाजामा कथित युद्ध अपराधका लागि नेतन्याहुमाथि पक्राउ पुर्जी जारी गरेका छैनन् । यो लामो र अस्पष्ट ढिलाइ शंकास्पद देखिन्छ ।
यस अवस्थामा राष्ट्र संघले केही गर्न सक्ला त ? आफ्नो अधिकार पुनस्र्थापित गर्न राष्ट्र संघले अन्ततः आफ्नो बेवास्ता गरिएको प्यालेस्टाइन प्रस्ताव लागू गर्नुपर्छ, जसमा इजरायलले कब्जा गरिएका क्षेत्र खाली गर्ने माग राख्छ । उदेकलाग्दो के छ भने नेतन्याहुले यही साता राष्ट्र संघीय महासभालाई सम्बोधन गर्ने तयारी गरिरहेका छन् । मञ्च प्रदान गर्नुको सट्टा राष्ट्र संघले नेतन्याहुलाई प्रतिबन्ध लगाउनुपर्छ । प्रतिबन्ध लगाएको अवस्थामा नेतन्याहु महासभामा आए उनलाई न्युयोर्क प्रहरी विभाग र संघीय जाँचबुझ निकाय एफबिआईले गिरफ्तार गर्नुपर्छ, ताकि देशनिकाला वा अभियोग लगाउन सकियोस् । नेतन्याहु निकै खतरनाक छन् र उनलाई उपलब्ध सबै अहिंसात्मक माध्यमबाट रोक्नैपर्छ ।
(टिसडल द गार्डियनका स्तम्भकार एवं विदेश मामिला टिप्पणीकार हुन्)
द गार्डियनबाट