परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गरेकी छिन् । त्यस अवसरमा परराष्ट्रमन्त्रीले लामो समयदेखि नेपालले शान्ति मिसन सहभागी भएर योगदान गरेको बताउँदै मिसनको उच्च ओहोदामा नेपाललाई अवसर दिनुपर्नेमा जोड दिएकाे न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा सैनिक परिचालनका हिसाबले सक्दो योगदान गरेकाले उच्च पदमा नेपाली सैन्य अधिकृत नियुक्त हुन वाञ्छनीय भएको परराष्ट्रमन्त्रीले बताइन्।
परराष्ट्रमन्त्रीले बुधबार नै राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेट गरिन्।उक्त भेटमा दिगो विकासका लक्ष्य, जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालगायत साझा चासोका विषयमा छलफल भएको थियो। नेपालले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय समूहको अध्यक्षका नाताले अतिकम विकसित देशहरूको सामूहिक हितका खातिर एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएको उक्त नियागले जनाएको छ।
यसैबिच, परराष्ट्रमन्त्री देउवा र सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकले दुई देशका कूटनीतिक तथा सरकारी राहदानी वाहकहरूलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।