बागमती प्रदेश सभाबाट सोमबार तीन विधेयक सर्वसम्मत पारित

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

आइतबार र सोमबार दुई दिन बसेको प्रदेश सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ। प्रदेश सभाका दुईवटा समितिबाट दफावार छलफलपछि आएका प्रतिवेदनसहितका विधेयक आइतबार प्रदेश सभा बैठकमा पेस गरिएको थियो ।
प्रदेश सभाको सोमबारको बैठकले ती विधेयक सर्वसम्मत पारित गरेको हो ।

प्रदेश सभाको बैठकबाट प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गरेको विधेयक, २०८०, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० र प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरिएको हो । 

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले ती विधेयकलाई सभासमक्ष निर्णयार्थ प्रस्तुत गरेका थिए। सभामुख पाठकले निर्णयार्थ पेस गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सांसदहरूले सर्वसम्मत पारित गरेका हुन् । त्यसअघि प्रदेश हस्तकला ग्राम स्थापनासम्बन्धी विधेयक उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ र प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशाेधन गर्न बनेको विधेयक स्वास्थ्यमन्त्री किरण थापामगरले सभाबाट पास गरियो भन्ने प्रस्ताव गरेका थिए ।

प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरी संशोधनको निर्णयसहित प्रतिवेदन पेस गरेको थियो ।यस्तै, प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरी संशोधनको निर्णयसहित प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिले प्रतिवेदनसहित सभामा पेस गरेको थियो । प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

सुझावित समाचार