संसदमा नोकझोँक र शैलीको शिष्टता

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

संसद्मा पक्ष–विपक्षका सांसदबिच वादविवाद, घोचपेच, भनाभन, नोकझोँक हुनु र यदाकदा असंसदीय, अमर्यादित अभिव्यक्ति प्रकट सामान्य हो

संसदीय राजनीतिको रोचक र सराहना गरिने पक्ष भनेकै सरकारले ल्याउने बजेट होस् वा विधेयक, यी सबै नीति र कार्यक्रमबारे संसद् र त्यसका समितिमा खुलेर हुने बहस नै हो । सांसदका चासो र अभिमत त्यहीँ राखिन्छन् । त्यहीँ सरकारका प्रस्तावमा विपक्षी दलका सांसदले पनि जमेर बहस गर्छन्, छिद्रान्वेषण गर्छन्, आलोचना गर्छन्, फरक मत राख्छन् र पक्ष–विपक्षमाझ भएको वैचारिक मन्थनपछि ती स्वीकृत हुन्छन् । प्रतिपक्षले राखेका जायज मतलाई सरकारले प्रतिष्ठाको विषय नबनाई स्वीकार गर्छ । यसो गर्ने क्रममा पक्ष–विपक्षका सांसदमाझ वादविवाद, घोचपेच, भनाभन, नोकझोँक पनि हुने गर्छन् । यदाकदा असंसदीय, अमर्यादित अभिव्यक्ति पनि प्रकट हुन्छन् । त्यस्तो वेला सरोकारवालाले सदनको अध्यक्षता गर्ने सभामुख÷अध्यक्षको ध्यानाकर्षण गराएपछि उनले त्यसलाई संसद्को अभिलेखबाट हटाउने आदेश पनि दिन्छन् । 

यति लामो भूमिका बाँध्नुको अभिप्रायः भर्खरै प्रतिनिधिसभामा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई पटक–पटक हिंसा हो भनेपछि भड्किएका माओवादी सांसदको विरोध र पहिल्यै टुंगो लागिसकेको विषयलाई उठाएर असंसदीय अभिव्यक्ति दिएको भन्ने उनीहरूको भनाइ, त्यसलाई अभिलेखबाट हटाउनुपर्छ भन्ने माग र समय लिएर सभामुखले पुनः माओवादीलाई भड्काउने रुलिङसँग जोडिएको छ । तथ्यहरूले के देखाउँछ भने एमाले र माओवादी मिल्दा माओवादी सशस्त्र विद्रोहलाई एमालेले गज्जबसँग जनयुद्ध भनी स्विकारेको छ । अन्तरिम संविधान २०७२ मै निर्क्योल भएर सशस्त्र द्वन्द्व भनिएको र भर्खरै टिआरसी ऐनमा पनि त्यसलाई सशस्त्र द्वन्द्व भनिएको छ । उसो भए बेकारमा त्यो विषयलाई सदनमा उठाउनु र उनको पक्षमा मच्चिएर रघुजी पन्तले बोल्नुको के तुक ? सत्तापक्षले त संसद्लाई सुचारु बनाएर आफ्ना कार्यसूची अगाडि बढाउनु पो बुद्धिमानी हुन्छ । तर, अहँ उनीहरूले त्यसो गरेनन् । प्रश्न उठ्छ, यसो गर्नुको अभिप्रायः के हुन सक्छ ? एक मात्र अभिप्रायः हिजोका दश भाइमध्येका यी नयाँ जोगीले आफ्ना ख्वामितलाई रिझाएर बफादारी प्रमाणित गर्न खोज्नुबाहेक केही देखिन्न । 

संसदीय व्यवस्था अपनाएका पुराना मुलुकमा संसद्मा कसरी बोलिन्छ ? आफ्नाविरुद्ध आएका कटाक्षलाई कति सटिक र शालीन ढंगले जवाफ फर्काइन्छ ? भन्ने केही दृष्टान्त यहाँ पस्किन मन लाग्यो । दोस्रो विश्वयुद्धताकाका बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलका नीतिलाई कटाक्ष गर्दै सांसद न्यान्सी एस्टोरले भनिन्– ‘प्रधानमन्त्रीज्यू, यदि म तपाईंकी श्रीमती हुँदी हुँ त म तपाईंको कफीमा विष मिसाइदिन्थेँ ।’ यो भनाइबाट चर्चिल रिसाएनन् । बरु शालीन ढंगले जवाफ फर्काए– ‘महोदया, यदि म तपाईंकै श्रीमान् हुनुपर्ने अवस्था आए म त्यो कफी खुसी–खुसी पिइदिन्थेँ ।’ सभाकक्ष प्रधानमन्त्री चर्चिलको हाजिरजवाफीबाट दंग पर्यो । साठीको दशकको प्रारम्भमा टोरीका हेरोल्ड म्याकमिलन प्रधानमन्त्री थिए र प्रतिपक्षमा लेबोरका नेता हेरोल्ड विल्सन थिए । विल्सनबाट सदनमा आफ्नो सरकारका नीतिको आलोचना सुनेपछि प्रधानमन्त्री म्याकलिनले भने– ‘ओहो, कति राम्रो बोल्नुभएको ! तपाईंलाई त त्यही कुर्सीमा बसेको कस्तो सुहाएको, कामना गर्छु तपाईं त्यही कुर्सीमा बसिरहनुस् ।’ प्रधानमन्त्रीको यो कटाक्षको प्रत्युत्तरमा प्रधानमन्त्री बसेको कुर्सीतर्फ इसारा गर्दै विल्सनले भने– ‘प्रधानमन्त्रीज्यू, मेरो कुर्सी त त्यो हो, म त भोलि तपाईं यहाँ बस्न आउँदा कुर्सी चिसो नहोस् भनेर न्यानो पारिदिँदै छु ।’ क्या शालीन तर भित्तामा पुर्याउने अभिव्यक्ति ! 

बेलायतको हेरी भारतको संसदीय अभ्यासको इतिहास छोटो छ । तर, त्यहाँ पनि संसद्भित्र सत्तापक्ष र प्रतिपक्षमाझको नोकझोँक, व्यंग्यवाण र हाजिरीजवाफका कैयौँ रोचक दृष्टान्त छन् । सन् पचासको दशकमा जवाहरलाल नेहरू भारतका प्रधानमन्त्री थिए र संसद्मा उनको कंग्रेस पार्टीको तुलनामा विपक्ष निकै कमजोर थियो । यस्तोमा सत्तापक्षकै भए पनि सरकारका कमी र भ्रष्टाचारका विषय उठान गर्नमा फिरोज गान्धी अग्रणी थिए । उनकै प्रयासले जीवन बिमासम्बन्धी ठुलो घोटालाको पर्दाफास भएको थियो । उनी तत्कालीन अर्थमन्त्री टिटी कृष्णमचारीका कटु आलोचक थिए । उनको आलोचनाबाट दिक्क भएर एक दिन कृष्णमचारीले गान्धीलाई सदनमै ‘ल्याप डग’ भनिदिए । वास्तवमा गान्धी इन्दिरा गान्धीका पति र प्रधानमन्त्री नेहरूका ज्वाइँ थिए । अतः पुल्पुलिएको अर्थमा उनीमाथि त्यस्तो अमार्यादित भाषा प्रयोग भयो । तर, गान्धी रिसाएनन् । उनले त्यो शब्द अमार्यादित र असंसदीय भनेर संसद्को अभिलेखबाट हटाउने माग पनि गरेनन् । मन्दमन्द मुस्कुराउँदै उनले जवाफ फर्काए– ‘तपाईं त झन् यो सरकारका स्तम्भ ! स्तम्भ याने खम्बा । अब खम्बा देखेपछि प्रायः कुकुरले जे गर्छ, मैले त्यही गरेँ, अर्थात् ठिकै गरेँ ।’ गान्धीको सटिक जवाफ सुनेर लोकसभा सांसदको टेबल ठोकाइले गुन्जियो ।

प्रतिपक्षी समाजवादी नेता डा. राममनोहर लोहिया र प्रधानमन्त्री नेहरूमाझ संसद्मा हुने नोकझोँकको ‘क्लास’ नै अर्कै हुने गर्थ्यो । लोहिया नेहरूलाई ‘सुडो सेक्युलर’ भन्थे । एकदिन लोकसभामा लोहियाले सरकारका नीतिको धज्जी उडाउँदै भने– साठी प्रतिशत भारतीय दैनिक औसत तीन आनामा गुजारा गर्न बाध्य छन्, जबकि प्रधानमन्त्रीको कुकुरमाथि दिनमा तीन रुपैयाँ खर्च हुन्छ र उनको सुरक्षामा पच्चीस हजार । जवाफमा प्रधानमन्त्री नेहरूले भने– होइन डा. लोहिया, हाम्रो योजना आयोग त भारतीयहरू औसत पन्ध्र आनामा दैनिक गुजारा गर्छन् भन्छ नि ? यो तीन र पन्ध्र आनाको आँकडा पछिसम्म पनि भारतीय राजनीतिमा चर्चाको विषय बनिरह्यो । 

प्रधानमन्त्री नेहरूमाथि कुलीन परिवारको भएको आरोप लाग्थ्यो, जबकि उनी आफूलाई आमभारतीय भन्न रुचाउँथे । एक दिन लोकसभामा उनै डा. लोहियाले प्रधानमन्त्री नेहरूमाथि कटाक्ष गर्दै भने– ‘तपाईं आफूलाई निकै कुलीन भन्ने ठान्नुहुन्छ तर तपाईं त मुगल दरबारमा दरबान (चौकीदार) को जागिर खानेका नाति पो हुनुहुँदो रहेछ नि !’ जवाफमा नेहरूले जे भने त्यो इतिहास बन्यो । उनले भने– ‘त्यही त डाक्टर, म कुलीन होइन, आमभारतीय नै हुँ भनेर कति भने पनि कोही मान्न तयार थिएन । आज बल्ल तपाईंले मेरा हजुरबा दरबान हुनुहुन्थ्यो भन्ने तथ्य सदनसामु राखेर प्रमाणित गरिदिनुभयो कि म आमभारतीय हुँ । यसका लागि धेरै–धेरै धन्यवाद !’

नेहरू सरकारले प्रस्तुत गरेको एउटा विधेयकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चक्रवर्ती राजगोपालाचार्यले संशोधन प्रस्ताव दर्ज गरे । त्यसमा बहस भयो र निर्णयार्थ प्रस्तुत हुने वेलामा प्रधानमन्त्री नेहरूले राजगोपालाचार्यतर्फ संकेत गर्दै भने– तपाईंले जे भन्नुस् न, बहुमत त हामीसँग छ । जवाफमा राजगोपालाचार्यले भने– अवश्य, बहुमत तपाईंसँगै छ, तर तर्क त मसँग छ नि ! उनको यो जवाफबाट प्रधानमन्त्री यति प्रभावित भए कि उनको संशोधन प्रस्तावलाई स्वीकार गर्न तयार भए । 

सन् १९६२ मा चीनसँगको युद्धमा भारतको पराजयपछि प्रधानमन्त्री नेहरूको राजनीतिक हैसियत निकै खस्क्यो । उनको फरवार्ड पोलिसीले भारतको नोक्सान भयो र अक्साई चीनको ठुलो क्षेत्रमा चीनको कब्जा भयो । त्यही विषयमा संसद्मा बहसका दौरान नेहरूले अक्साई चीन यति बन्जर छ कि त्यहाँ दुबोसमेत उम्रिँदैन भने । उनको यो कुरा सुन्नेबित्तिकै सांसद महावीर त्यागी उठे र आफ्नो तालुचिन्डे टाउको देखाउँदै भने– यहाँ पनि केही उम्रिँदैन, के म उसो भए आफ्नो टाउको कटाइदिऊँ ? यो उत्तर सुनेपछि प्रधानमन्त्री नाजवाफ भए । कुरा इन्दिरा गान्धीको शासनकालको हो । स्टालिनकी छोरी स्वेतलाना आफ्ना स्वर्गवासी पति ब्रजेश सिंहको अस्थी गंगामा विसर्जन गर्न भारत आइन् । उनी भारतै बस्न चाहन्थिन् । तर, सोभियत संघसँगको सम्बन्ध बिग्रने डरले भारत उनलाई आफूकहाँ बस्न दिन तयार थिएन । यही विषयमा लोकसभामा लामो बहस भयो । सांसद डा. लोहियाले उनलाई भारतमा शरण दिनुपर्छ भन्ने पक्षमा बोले । उनको भनाइ थियो– स्वेतलाना शरीर मन दुवैले भारतीय भइसकिन् । यदि उनी आफ्नो पतिको देशमा बस्न चाहन्छिन् भने उनलाई शरण दिनु हाम्रो कर्तव्य हो । उनको कुराको खण्डन गर्दै अर्की सांसद श्रीमती तारकेश्वरी सिन्हाले भनिन्– तपाईं स्वयंचाहिँ अविवाहित हुनुहुन्छ अनि अरूको वैवाहिक जीवनबारे तपाईंलाई के थाहा ? उनको यस्तो कुरा सुन्नासाथ डा. लोहियाले फ्याट्ट भनिदिए– तपाईंले मलाई त्यो मौका नै कहाँ दिनुभयो त ! उनको कुरा सुन्नासाथ तारकेश्वरी सिन्हा मात्र होइन, सत्तापक्षका सांसद नै होहल्ला गर्न थाले । सभामुखले त्यस दिनको सदनको कारबाही स्थगित गर्नुपर्यो । 

कुरा सन् १९८० को हो । माथिल्लो सदन राज्यसभामा प्रतिपक्षी सांसद पिलु मोदी बोल्दै थिए । उनी अंग्रेजीमा बोल्थे । उनी बोल्दै गर्दा अर्का सांसद जयसुख जैन बिचबिचमा प्याच्चप्याच्च बोलेर बाधा पुर्याउँदै थिए । उनको त्यो क्रियाकलापबाट रिसाएका मोदीले फ्याट्ट ‘स्टप बार्किङ’ भनिदिए । उनले त्यसो भन्नासाथ उनको भनाइ असंसदीय भयो भनेर सदनमा हंगामा भयो र सदनको अध्यक्षता गरिरहेका उपराष्ट्रपति हिदायतुल्लाले त्यस वाक्यलाई संसद्को अभिलेखबाट हटाउने आदेश दिए । त्यसपछि पुनः पिलु मोदीको बोल्ने पालोले निरन्तरता पायो । त्यही वेला उनीतिर हेरेर विजयभावमा सांसद जैन मुस्कुराए ।  मोदीले– ‘अल राइट देन, स्टप ब्रेइङ’ भने र आफ्नो कुरा राखे । यसपटक कसैले नियमापत्ति गरेन र यो अद्यापि भारतीय संसद्को अभिलेखमा छ । मोदीको भनाइको अर्थ थियो, ठिक छ, त्यसो भए गधाजस्तै नकराऊ । वास्तवमा यसअघिको भनाइभन्दा पनि यो झनै असंसदीय थियो । तर, अंग्रेजीमा व्यक्त पिलु मोदीको भनाइको अर्थ नबुझेकाले त्यसले सदनमा कुनै हंगामा खडा गरेन । 

त्यसो त नेपाली संसद्मा गाउँले लवजमा गाउँले उखान भन्दै आफ्नो विचार राख्ने चित्रबहादुर केसीको शैली उत्कृष्ट छ । उनले माओवादीको आलोचना गर्ने सिलसिलामा भनेको– ‘नाचजस्तो नाचौँ भने घाँघर फाट्ने डर, गीतजस्तो गीत गाऊँ भने चित्त फाट्ने डर’ त साँच्चै ‘क्लासिक’ छ ।

विरोधका नाममा भद्दा अभिव्यक्ति र कर्कस ध्वनि निकाल्नुभन्दा संसद्लाई जीवन्त बहसको केन्द्र र एक–अर्काको आलोचना गर्दा सटिक शब्दवाण, नोकझोँक र शिष्ट घोचपेच गर्नेतिर लाग्ने कि ! यसका लागि अलिक गृहकार्य गर्दा कसो होला ? आगे आ–आफ्नो विचार ।
 

सुझावित समाचार