नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से ४ अंकले घटेर दुई हजार पाँच सय ७६.७६ अंकमा झरेको छ। क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले घटेको छ।
आज ३२० कम्पनीका एक करोड ३९ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबार रकममा पनि संकुचन आएको छ। यसअघिको कारोबार दिनमा सात अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये बैंक ०.७६ प्रतिशत र निर्जीवन बिमा ०.१६ प्रतिशतले बढ्दा बाँकी सबै उपसमूहमा गिरावट आएको छ। वित्त उपसमूह सर्वाधिक २.६८ प्रतिशतले घट्दा लघुवित्त १.०७ प्रतिशतले ओरालो लागेको छ। घटेका बाँकी उपसमूहमा एक प्रतिशतभन्दा कमको गिरावट आएको छ।
आज १६३ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको मात्रै मूल्य वृद्धि भएको छ। कालिका लघुवित्त र स्वरोजगार लघुवित्त आठ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा रावा इनर्जी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सात प्रतिशतभन्दा धेरैको आम्दानी गरेका छन्।
तर, जनउत्थान सामुदायिक लघुवित्त, गुडविल फाइनान्स र आत्मनिर्भर लघुवित्त क्रमशः सातदेखि ६ प्रतिशतसम्मले घटेका छन्।