संसद् चलाउन माओवादी लचक, प्रधानमन्त्रीले बैठकमा सम्बोधन गर्ने

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण
संसद् चलाउन माओवादी लचक, प्रधानमन्त्रीले बैठकमा सम्बोधन गर्ने

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा बैठक चल्न दिने भएको छ। आज साेमबार बसेको कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद् चलाउन दिने बताए।

यद्यपि, संसद्को रेकर्डबाट हिंसा शब्द हटाउनुपर्ने आफूहरूको अडान कायमै रहेको उनले प्रस्ट पारेका छन्।

भदौ १२ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादीको सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी केन्द्रका सांसदहरूले रेकर्डबाट हटाउन माग गरेका थिए। तर, सभामुख देवराज घिमिरेले सो शब्द असंसदीय नरहेको भन्दै रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि माओवादीले संसद् अवरोध गरेको थियो।

‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौँ, तर प्रधानमन्त्री विदेश जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौँ । सभामुखको विरोधमा छैनौँ । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौँ,’ कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा पाण्डेले भने।

प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुअघि प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ। असोज ४ गते अमेरिका जानुअघि आज दिउँसो १ बजेलाई बोलाइएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दै छन्।

See More On

सुझावित समाचार