अलबिदा कमरेड येचुरी !

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

प्रतिद्वन्द्वीसँग संवाद गर्ने र ठुला जोखिमका समयमा राजनीतिक शक्तिलाई एक ठाउँमा जुटाउने येचुरीको क्षमता प्रशंसनीय थियो

सीताराम येचुरीको निधनले भारतले एक इमानदार राजनीतिज्ञ र क्रान्तिकारी नेता गुमाएको छ । उनी स्वतन्त्र भारतका ती उत्साहित नवयुवामध्येका थिए, जसले समृद्ध भारतको सपना देखेका थिए । उनको सपनाको भारत एक समाजवादी भारत हो, जसले मुठीभरका लागि नभई सबैको हितमा काम गर्नेछ । सम्पन्न पारिवारिक पृष्ठभूमिबाट आएका येचुरीले अखिल भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्डमा शीर्षस्थ स्थान हासिल गरेका थिए । उनको यो उत्कृष्ट शैक्षिक प्रदर्शन दिल्ली विश्वविद्यालय र जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा पनि जारी रह्यो । र, विरासतको सुखसयल त्यागेर सीतारामले संघर्षको जीवन रोजेका थिए ।

उनी जेएनयूमा पढ्दै गर्दा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को विद्यार्थी मोर्चा स्टुडेन्ट्स फिडरेसन अफ इन्डिया (एसएफआई) मा सामेल भएका थिए । र, पछि उनी जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघका अध्यक्ष बने । संकटकालीन समयमा उनी गिरफ्तारीबाट बच्न भूमिगत भएका थिए । ठिक त्यसैवेला उनका बुबा दिल्लीको अस्पतालमा भर्ना भएका थिए । आत्मसमर्पण गरेर परिवारसँग बस्नुको सट्टा सीताराम भूमिगत राजनीतिमा संलग्न रहिरहे । यद्यपि रातका समयमा उनी भेष बदलेर बुबालाई भेट्न अस्पताल गइरहन्थे । र, वरिष्ठ सरकारी इन्जिनियर रहेका उनका बुबाले सीतारामको क्रान्तिकारी छविलाई बुझेका थिए र छोरालाई कम्युनिस्ट राजनीतिबाट निरुत्साहित गर्न वरिष्ठ प्रशासक रहेका भाइलाई अह्राएका थिए । जब सीतारामको क्रान्तिकारी जोस उनका कर्मचारी काकाको व्यावहारिक मानसिकतासँग जुध्यो, तब काकाले सीतारामका बुबालाई सीतारामले आफूलाई जागिर छोडेर कम्युनिस्ट आन्दोलनमा सामेल हुन मनाउनुभन्दा पहिले नै आफूलाई भतिजाबाट अलग्याउन आग्रह गरेका थिए ।

सीतारामको अन्तर्राष्ट्रियतावादलाई उजागर गर्ने रोचक घटना इरानी क्रान्तिको पूर्वसन्ध्यामा देखा परेको थियो । इरानका शाहले विद्यार्थी र मजदुरबाट ठुलो विरोधको सामना गरिरहेका थिए । जेएनयूमा अध्ययन गरिरहेका क्रान्तिकारी इरानी विद्यार्थीको एक समूह नियमित रूपमा दिल्लीस्थित इरानी दूतावासमा विरोध र प्रदर्शनका लागि जाने गथ्र्यो । यसै क्रममा इरानी सरकारले प्रदर्शनकारीलाई इरान फिर्ता पठाउन आग्रह गरेको थियो । सीताराम उनका कमरेडलाई फिर्ता पठाइएमा प्रदर्शनकारीले मृत्युदण्ड व्यहोर्न सक्नेबारे जानकार थिए । गृह मन्त्रालयले इरानी आग्रहमा कारबाही गर्न थालेपछि सीताराम र उनका साथीले आफ्ना इरानी साथीलाई सुरक्षा दिए र तिनलाई इरान पठाउन दिएनन् ।

तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका अगाडि मागपत्र पढ्दै गरेका सीतारामको प्रसिद्ध तस्बिरलाई क्रान्तिकारी विद्यार्थी राजनीतिको सबैभन्दा गौरवपूर्ण क्षणका रूपमा सम्झिइनेछ । आजको भारतीय राजनीतिको युगमा यस्तै क्षण पुनः फर्केला भनेर कल्पना गर्न सकिने अवस्था छैन ।

सन् १९८४ मा सीताराम भाकपा (माक्र्सवादी) का केन्द्रीय समिति सदस्य र त्यसपछि सन् १९९२ मा पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए । आफ्नै इच्छाअनुसार उनी पोलिटब्युरोमा दुई दशकभन्दा बढी समय कनिष्ठ सदस्य बनेका थिए । र, उनी सन् १९९६ र १९९८ को संयुक्त मोर्चा सरकार बनाउने र हटाउने वार्ताको हिस्सा बनेका थिए । बाजपेयी अन्तरालपछि वामपन्थी तप्काले मनमोहन सिंह नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) लाई समर्थन गर्दा सीताराम एक प्रमुख कर्ता बनेका थिए । उनी सूचनाको अधिकार, राष्ट्रिय ग्रामीण रोजगार योजना र वन अधिकार ऐनजस्ता महत्वपूर्ण कानुन समावेश गर्ने साझा न्यूनतम कार्यक्रमका वास्तुकार थिए ।

वन अधिकार ऐन पारित हुनु गरिब आदिवासी समुदायका लागि सबैभन्दा महत्वपूर्ण थियो । संसद्मा रहँदा सीताराम र उनका वामपन्थी दलका सहकर्मीले ऐन पारितमा ढिलाइ गर्न खोज्ने आदिवासीविरोधी लबी र आफूलाई संरक्षणवादी भन्ने माफियाका रणनीतिलाई चुनौती दिएका थिए । आफूलाई संरक्षणवादी भन्ने माफियाले महत्वपूर्ण वन्यजन्तु वासस्थानमा रहेका आदिवासीलाई निष्कासन नगरुन्जेलसम्म यी नियमको अधिसूचनामा अत्यधिक ढिलाइ चाहन्थे (किनभने यसो गर्दा ऐन लागू हुन सक्दैनथ्यो) । आदिवासीविरोधी लबीको बदमासी रोक्न सीताराम र उनका कमरेडले प्रधानमन्त्रीलाई भेट्न सर्वदलीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने, संसद् बहिष्कार गर्ने, विभिन्न बैठक आयोजना गर्ने र जमिनीस्तरमा आदिवासीलाई परिचालन गर्ने काम गरेका थिए । हिन्दुस्तान टाइम्समा छापिने सीतारामको स्तम्भ ‘लेफ्ट ह्यान्ड ड्राइभ’ले प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा निरन्तर वामपन्थी परिप्रेक्ष्य प्रस्तुत गर्ने गथ्र्यो । सन् २००० को दशकको मध्यमा मजस्ता धेरै युवा सम्भवतः यिनै स्तम्भ पढेर वामपन्थतर्फ आकर्षित भएका थियौँ । सन् २०१५ मा जब सीताराम भाकपा (माक्र्सवादी) को महासचिवमा निर्वाचित भए, उनी ‘लन्डन तोड सिंह’ भनेर चिनिने आफ्ना राजनीतिक गुरु हरकिशन सिंह सुरजितभन्दा फरक थिए, अर्थात् उनी दाह्री काटेका र पगडी नपहरिने दक्षिण भारतीय उत्तराधिकारी बने ।

सुरजितमा झैँ उनमा पनि गठबन्धन निर्माण सीप थियो । प्रतिद्वन्द्वीसँग संवाद गर्ने र ठुला जोखिमका समयमा राजनीतिक शक्तिलाई एक ठाउँमा जुटाउने उनको क्षमता प्रशंसनीय थियो । विविध राजनीतिक विचारधारामाझ उनका कमरेड र प्रशंसक थिए । प्रायः कम्युनिस्ट राजनीतिज्ञको चिनारीका रूपमा प्रस्तुत गरिने उदासीपन सीतारामको व्यक्तित्वमा झाल्किँदैनथ्यो । उनको फराकिलो मुस्कानले मुहारै छोपिन्थ्यो र उनमा प्रचुर मात्रामा मजाकिया र व्यंग्यात्मक वाक्पटुता पनि थियो । मैले सीताराम येचुरीको स्मृतिमा लेख्छु भन्ने सोचेको पनि थिइनँ । तैपनि म भारी मनले यो लेख्न बाध्य छु ।

तपाईं उनको विचारसँग सहमत भए–नभए पनि उनको जीवन र कामबाट पाठ सिक्न सकिन्छ, अर्थात् जीवनमा परिवार र पैसाभन्दा पनि महत्वपूर्ण कुरा धेरै छन् । हामीले ती महान् लक्ष्य पछ्याउन आफ्नो जीवन समर्पित गर्नुपर्छ ।

(शर्मा कनेक्टिकट विश्वविद्यालयमा राजनीतिशास्त्रमा विद्यावारिधि गरिरहेका छन्) 
द स्टेट्समेनबाट

सुझावित समाचार