राजनीतिले निर्माण गर्नुपर्छ समाजवादको आधार

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

आफ्ना चुनावी घोषणापत्र र सिद्धान्त बिर्सेर राजनीतिले अदालतको सहारा लिनु सिद्धान्तविरोधी कदम हो

सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या नेपालको भूमिसुधारको असफलताबाट उत्पन्न मूल समस्यामध्येको एक हो । नेपालले विगतमा भूमिसुधार गर्न सकिने पाँचवटा ठुला ऐतिहासिक अवसर गुमायो । जसमा पहिलो, २००७ देखि ०१७ को अवधिमा पुनर्वास योजनाद्वारा असफल बनाइयो, दोस्रो ०४६ को राजनीतिक परिवर्तनपछि कांग्रेसको नवउदारवादी नीतिका कारण सम्भव भएन, तेस्रो, ०५१ मा एमालेको अल्पमतको नौमहिने सरकारलाई बडाल आयोगको प्रतिवेदन आउनासाथ ढालियो, चौथो ०६२/६३ को जनक्रान्तिपछि माओवादीको एकल क्रान्तिकारी नाराका कारण हुन सकेन, र पाँचौँ ०७४ मा झन्डै दुईतिहाइको कम्युनिस्ट सरकार हुँदा अन्तरविरोधका कारण सम्भव भएन । यी अवसर नगुमाएको भए नेपालको आजको भूमिसम्बन्धी समस्या हल भइसकेको हुन्थ्यो भने मुलुक सामाजिक न्यायसहितको समृद्धिको मार्गमा अघि बढिसकेको हुन्थ्यो । नेपालका वाम तथा लोकतान्त्रिक दलले स्थापनाकालदेखि नै महत्वसाथ लिएको भूमिसुधारको एजेन्डा आज गुणस्तरीय शिक्षा, औद्योगिकीकरण र सेवा उद्योगमार्फत रोजगारीका अवसर विस्तार गरेर मात्र भूमिसम्बन्धी समस्या हल हुन्छ भन्ने परिस्थितिमा आइपुुगेको छ । पहिले–पहिले राजनीतिक दलबिच भूमिहीन, अव्यवस्थित बसोवासी तथा सुकुम्बासीे समस्या हल गर्ने सवालमा सधैँ प्रतिस्पर्धा चल्थ्यो भने आज त्यसको ठिकविपरीत देखिन थालेको छ । यसको पछिल्लो उदाहरण सर्वोच्च अदालतको आडमा जनप्रतिनिधिमूलक संस्था काठमाडौं महानगर बन्न पुुगेको छ । नेपाल सरकारले ०६५ मा काठमाडौंका नदीखोलाको मापदण्ड तोक्दा बागमती, विष्णुमती र मनहरामा २० मिटर, धोबीखोलामा नौ मिटर, नक्खुमा १२ मिटर, बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलामा १० मिटर सीमा निर्धारण गरिएको थियो । तर, सर्वोच्च अदालतले त्यसैसँग सम्बन्धित फैसलाको भर्खरै साता आएको पूर्णपाठमा भने थप २० मिटर भनियो । सर्वोच्चले ३ पुस ०८० मा गरेको सो फैसलाको पूर्णपाठलाई आधार बनाएर काठमाडौं महानगरले नदीखोला किनारामा सरकारले तोकेको मापदण्डभन्दा २० मिटर बढी जमिन छोड्न सूचना जारी गरेपछि उपत्यकावासी हजारौँ जनतामा त्रास फैलिएको छ । 

एकीकृत समाजवादीको ०८१ भाद्र ९ देखि १३ सम्म काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको प्रथम बैठकले सर्वप्रथम सो फैसला काठमाडौं उपत्यकामा ५०औँ वर्षदेखि बसोवास गरिरहेका लाखौँ जनताको हितविपरीत हुने भन्दै नदीकिनारामा बसोवास गर्दै आएका जनताको पक्ष लिने निर्णय गरेपछि यो बहस राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनेको हो । लगत्तै काठमाडौं उपत्यकाभित्रका नगरप्रमुखको संगठन काठमाडौं उपत्यका मेयर्स फोरमले समेत पुनरावेदनको माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो निर्णय कार्यान्वयन गर्न नसकिने बताउनुभएको छ । 

कानुनी शासनमा लोकतान्त्रिक सरकारसामु लालपुर्जा भएको वा नभएका आधारमा जमिनमा बसेकालाई सार्वजनिक हितका लागि हटाउने कानुनी बाटो खुलै हुन्छ । यसका लागि सर्वोच्चको फैसला कुरिरहनुपर्दैन । प्रमुख सवाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी र लालपुर्जावाल जमिनका मालिक नागरिकको यथोचित पहिचान, प्रमाणीकरण, वर्गीकरण, जीविकाका उपायको संरक्षण र प्रवद्र्धन, वैकल्पिक पुनर्वासको उचित व्यवस्था, विशेष ध्यान दिनुपर्ने समूहका व्यक्ति (अपांगता भएका, सुत्केरी, गर्भवती, बिरामी, बालबालिका र वृद्धावस्थाका आदि) को सर्वोत्तम हित संरक्षणका उपाय तथा पक्षधरताको हो । मानव बस्तीको संवेदनशीलता, बसोवासीको विविधता, उनीहरूको आवश्यकता र मानवीय मर्यादा सम्बोधन हुने गरी वैकल्पिक व्यवस्थासहित स्थानान्तरण गर्न सकिन्थ्यो । तर, सर्वोच्च र काठमाडौं महानगरले यो जनमुखी बाटो रोजेनन् । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहका सरकारको दायित्व आफ्ना नागरिकको संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । संविधानको मौलिक हक कार्यान्वयन गर्न बनेका ऐनहरू (आवासको हकसम्बन्धी ऐन, भूमि सातौँ र आठौँ संशोधन ऐन, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, अपांगता भएका व्यक्तिको संरक्षणसम्बन्धी ऐन, ज्येष्ठ नागरिक ऐन, रोजगारी ऐन, जनस्वास्थ्य ऐन, बालबालिका ऐन आदि) सँग संगतिपूर्ण हुने गरी यथोचित विधि प्रक्रिया पूरा गरेर बस्ती स्थानान्तरण गर्न राज्यलाई कुनै ऐन–कानुनले छेकेको छैन । बागमती सभ्यता संरक्षणसम्बन्धी सर्वोच्चको पछिल्लो फैसलाले गरिब सुकुम्बासीको बस्तीमा डोजर लगाएर मानव बस्तीसँगै हजारौँ बालबालिका, महिला, गरिबको जीवन उजाड्ने अनुमति दिएको छ । 

वातावरण र नदीनाला संरक्षण तथा त्यससँग जोडिएको सभ्यता र संस्कृति संरक्षण निश्चय नै महत्वपूर्ण सवाल हो । तर, चरम गरिबी, अभाव, बेरोजगारी, प्राकृतिक विपत्लगायत मार खेपिरहेका जनतालाई आवासविहीन अवस्थाबाट जोगाउनु, उनीहरूको जीविकोपार्जनका उपाय संरक्षण र प्रवद्र्धन गर्नु र उनीहरू पनि सम्मानजनक रूपमा जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गर्नु आफैँमा महत्वपूर्ण विषय हो । एउटा हितको प्रवद्र्धन गर्दा अर्को हितलाई लत्याउनु लोकतान्त्रिक तथा सामाजिक न्यायसहित समाजवादको मार्गमा अघि बढिरहेको मुलुकका लागि सुहाउँदैन । राज्यका कार्यकारी, विधायिकीय वा न्यायिक सबै निकाय परस्परविरोधी होइन, समन्वय, समझदारी र सन्तुलित हुनुपर्छ । यस महान् अभियानमा संविधान, कानुन र न्यायालय सहयोगी भएर सोही स्पिरिटमा न्यायिक ढंगले अघि बढ्नुपर्छ । लोकतन्त्रका मूल्य–मान्यता र पक्षधरतालाई बिर्सेर गरिब र विपन्न नागरिकप्रति पूर्वाग्रह राख्ने, उनीहरूको आत्मसम्मान, मानव मर्यादालाई कम आँक्ने, उपेक्षा गर्ने कुरा लोकतान्त्रिक व्यवस्थामा सही ठान्न सकिँदैन । यो लोकतान्त्रिक मूल्य–मान्यताको आधारभूत पक्षलाई सम्बोधन नगरी केवल ‘पपुुलिज्म’को शैलीमा अघि बढ्न खोजियो भने हरेक आन्दोलनमा अग्रस्थानमा उभिएका ती काठमाडौंवासी सुकुुम्बासी तथा अव्यवस्थित बसोवासीले न्यायका लागि चाल्ने सम्भावित कदम महानगरलाई मात्र होइन, सरकारकै लागि समेत निकै महँगो हुने निश्चित छ । चुनावमा सबै दलले भोट माग्दा कुनै हालतमा बस्ती नहटाउने प्रतिबद्धता गर्नु तर जितिसकेपछि आफ्ना चुनावी घोषणापत्र र सिद्धान्त बिर्सेर अदालतको सहारा लिनु राजनीतिक सद्धान्तविरोधी कदम हो । 

काठमाडौं उपत्यकाका नदीकिनारमा अव्यवस्थित घरधुरी संख्या तीन हजार चार सय ९६ छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका अनुसार उपत्यकाका तीन जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै काठमाडौं महानगरमा दुई हजार २४५ अव्यवस्थित घरधुरी छन् । उता ललितपुर बालकुमारी क्षेत्रमा १७ र गोदावरी नगरपालिकाको नहर क्षेत्रमा दुई सय १५ घरधुरी रहेको समितिको दाबी छ । यस्तै भक्तपुर नगरपालिकाको मनोहरा मध्यपुर थिमिमा सात सय ७३ घरधुरी अव्यस्थित बसोवास रहेको समितिको तथ्यांक छ । पछिल्लो २० मिटरको मापदण्ड लागू भएमा करिब एक लाख परिवारका हजारौँ जनसंख्या प्रभावित हुने निश्चित छ । खासगरी सार्वजनिक चासो र महत्वका एकभन्दा बढी हित तथा स्वार्थको टकराव देखिएका विषयमा अन्तिम फैसला तथा आदेश गर्दा कुन हदसम्म न्यायिक सक्रियता देखाउने भन्नेबारे अदालतले गम्भीर भएर कानुन र न्यायबिच सन्तुलन खोज्नुपर्छ । संविधान तथा कानुनले स्पष्ट रूपमा राज्यका निकायलाई कानुनी कर्तव्य तोकेकोबाहेकका विषयमा सार्वजनिक हितमा आदेश दिँदा कुन प्रकृतिको आदेश दिने र कसरी त्यो उद्देश्यलाई स्थापित र हासिल गर्न सकिन्छ भन्नेबारे सर्वोच्चले रचनात्मक र सिर्जनशीलता कायम गर्न अपरिहार्य हुन्छ । दीर्घकालीन महत्व राख्ने फैसलामा पुग्नुअघि सरोकारवालासँग परामर्श गर्ने, अध्ययन अनुसन्धान गर्ने, प्रभाव तथा दुष्प्रभावको मूल्यांकन गर्ने, विभिन्न हितसमूहबिचको सन्तुलनका उपाय खोज्ने र यसको राजनीतिक तथा आर्थिक–सामाजिक प्रभाव कस्तो हुन्छ भन्ने विषयमा विज्ञ कार्यदल वा समितिको सुझावसहितको प्रतिवेदन माग्ने, नेपाल बार, कानुनसम्बन्धी कलेज, न्याय र कानुन क्षेत्रमा काम गर्ने सामाजिक संस्थासँगको परामर्शका आधारमा ठोस कानुनी तथा नीतिगत उपाय अवलम्बन गर्न निर्देशनात्मक आदेशसम्म दिएको भए सर्वोच्चप्रतिको जनविश्वास बढ्ने थियो । 

विडम्बना, सामाजिक असमानता, आर्थिक विपन्नता र केन्द्रीकृत विकासले राजधानीका नदीकिनारमा लतारिएका बासिन्दाका समस्या समाधान खोज्ने नाममा अनेक राजनीतिक स्वार्थकेन्द्रित काम गर्दा भूस्वामित्वको सवालमा अव्यवस्थित बसोवासी, भूमिहीन तथा सुकुम्बासी समस्याका अनगिन्ती गाँठा दह्रो गरी कसिँदै गएका छन् । विगत पाँच दशकमा राज्यले नीति–निर्माण, योजना तर्जुमा र तिनको कार्यान्वयनमा गरिब, साना किसान तथा भूमिहीनताको सँघारमा रहेका परिवारप्रति देखाएको सतही उदारता, उदासीनता र नीति तथा प्रक्रियागत रबैयाकै परिणामस्वरूप आज आएर सुकुम्बासी तथा भूमिहीनको व्यवस्थापन राज्य, समुदाय तथा स्वयं भूमिहीन तथा सुकुम्बासी समुदायका लागि चुनौती बनेको छ । 

नेपालभरि ५८ लाख ११ हजार परिवारमध्ये साढे २४ प्रतिशत भूमिहीन सुकुम्बासीको हैसियतमा बसेको युएनडिपीको सर्वेक्षणमा उल्लेख छ । कुल भूमिहीनमध्ये ४४ प्रतिशत मधेसी दलित र १५ प्रतिशत पहाडी दलित छन् । क्रान्तिकारी भूमिसुधारको एजेन्डाबाट पछि हट्नका लागि जनआन्दोलन ०४६ पछिका ३५ वर्षमा १६ वटा सुकुुम्बासी तथा भूमिसम्बन्धी आयोग बने । ०७३ मा सरकारी, सार्वजनिक र गुठी जग्गामा भएको अतिक्रमण रोक्न र अव्यवस्थित बसोवास र सुकुम्बासी समस्या समाधान गर्न ‘व्यवस्थित बसोवास आयोग’समेत बनाइयो । यी सबै आयोगले समस्याको जरामा पुुग्न नसकेर समग्र भूमि समस्याको हल गर्न नसक्दा आफ्नो औचित्य नै पुुष्टि गर्न नसकी गोलचक्करमा फसेको देखियो भने सुकुुम्बासी, अव्यवस्थित बसोवासी तथा भूमिहीनलगायत भूमिसँग जोडिएका मुद्दाको परिभाषा र समाधानका लागि एउटा ‘कट अफ डेट’समेत टुंगो लगाउन सकेनन् । यी आयोगले उपत्यकाको गुठीलगायत यस्ता गम्भीर समस्याको हल गर्ने कुनै योजनासमेत अघि सारेको देखिँदैन ।

भूमिसँग जोडिएका सम्पूर्ण समस्याको स्थायी हल गर्न अब आर्थिक विकासको मोडल, सामाजिक रूपान्तरणको अभियान र समग्र विकासका लागि आवश्यक योगदान र पहललाई भूमि प्रशासन, परिचालन र व्यवस्थापनको आँखाबाट गहिरो अध्ययन, छलफल तथा बहस हुन जरुरी छ । अबको उपाय भनेको नेपालको संविधानले सुनिश्चित गरेको वैज्ञानिक भूमिसुधार घोषणा गरी पहिलो चरणमा एक, मानव विकास सूचकांक, गरिबी र स्वामित्वमा रहेको जमिनको आकारसहित आधार मानेर स्पष्ट मापदण्ड तयार गरी अव्यवस्थित बसोवासी, सुकुम्बासी र भूमिहीनलाई पुनः परिभाषित गर्नुपर्छ । दोस्रो, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको बसाइँसराइको इतिहास र जग्गाको स्वामित्वसहितको पारिवारिक विवरण तयार गरी ‘कट अफ डेट’ निश्चित गर्नुपर्छ । तेस्रो, ‘भूमिहीनता’ र ‘अव्यवस्थित बसोवास’ राज्यको समस्याका रूपमा परिभाषित गरी सरोकारवालसँग बसेर समाधानको उपाय निकाल्नुपर्छ । यससम्बन्धी समस्यालाई प्राथमिकतासाथ समाधानको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यावहारिक योजना बनाई जति सक्यो चाँडो कार्यान्वयनमा लैजानुपर्छ । चौथो, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको उत्पत्ति र उपस्थिति ठाउँअनुसार फरक–फरक भएकाले यसको समाधानको प्रमुख जिम्मेवारी स्थानीय सरकारलाई बनाइनुपर्छ । भूमिमाथि निश्चित सम्भ्रान्त वर्गको एकाधिकार समाप्त गर्दै वास्तविक जोताहा अर्थात् उपयोगकर्ताबिच भूस्वामित्वमा आमूल परिवर्तन हुने गरी भूमिको पुनः वितरण गर्ने नीतिले मात्र सामाजिक न्यायसहितको समृद्धि अनि समाजवादको आधार तयार हुनेछ । यो काम राजनीतिले गर्नुपर्छ न कि अदालतले । 

(विश्वकर्मा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव हुन्)

सुझावित समाचार