अविरल वर्षाले बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द

शनिबार, २९ भदौ, २०८१
डिजिटल संस्करण

हुम्लाको सिमकोट गाउँपालिका–८, साँतागाउँमा रहेको बलभद्र आधारभूत विद्यालय दुई दिनदेखि बन्द भएको छ। जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साँतागाउँनजिकको बाटो पहिरो आएर भत्किएपछि विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो।

बाटो भत्किँदा सिमकोट–८, याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन्। भारी वर्षा भएर बिहीबार र बुधबार दुई दिन यहाँका विद्यार्थी विद्यालय जान नपाएको शिक्षक पेमाथुकेत तामाङले बताए। याङ्गुबाट विद्यालय जाने बिचक्षेत्रको बाटो भत्किएको हो। 
  
विद्यालयमा विद्यार्थी उपस्थित नभएपछि उनीहरूको पठनपाठन प्रभावित हुनुका साथै विद्यालय बन्द भएको हो। आवतजावत गर्न नमिल्ने भएपछि विद्यार्थी विद्यालयमा उपस्थित नभएपछि बन्द गरिएको हो। पढ्न आउने विद्यार्थी बाटो अवरुद्ध हुँदा समस्यामा परेको स्थानीयले बताएका छन्। बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने यहाँका स्थानीयलाई समेत समस्या भएको छ।
    
विद्यालयको माथिपट्टिको भाग पनि जोखिमयुक्त हुँदा विद्यालय नै बन्द गर्नुपरेको उनले बताए। पानी परेको समय विद्यालय भत्किने डर हुने हुँदा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको उनले बताए। 

सुझावित समाचार