बजेट कटौती भएको आरोप लगाउँदै आमरण अनशनमा बसेका कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले बुधबार दोस्रो दिन पनि अनशनलाई निरन्तरता दिएका छन् । निषेधित क्षेत्रमा समर्थकसहित मंगलबार दिउँसो साढे ४ बजेदेखि आमरण अनशनमा बसेका पूर्वमुख्यमत्री कार्कीलाई साँझ प्रहरीले हस्तक्षेप गरेर घरमा ल्याएर छाडे पनि उनले पुनः राति नै फर्केर आफ्नो अनशनलाई निरन्तरता दिएका हुन् ।
मंगलबार अपराह्न कोशी प्रदेश सभा भवनअगाडि निषेधित क्षेत्रमा अनशन बसेका कार्कीलाई प्रहरीले हस्तक्षेप गरेपछि उनले रातिदेखि निषेधित क्षेत्रबाहिर देवकोटाचाेकमा अनशनलाई निरन्तरता दिएका छन्।आफू मुख्यमन्त्री हुँदा घोषणा गरेका कार्यक्रमहरू वर्तमान हिक्मतकुमार कार्कीको सरकारले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री केदार कार्की चेतावनी दिएर नाैबुँदे मागसहित आमरण अनशनमा बसेका हुन्। कार्की अनशन बस्ने भएपछि मंगलबार दिउँसोदेखि मोरङ प्रशासनले विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो।
मंगलबार साँझ अनशन बसेका कार्कीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र कार्कीका कार्यकर्ताहरूबिच झडप भएको थियो । कार्यकर्ताले प्रहरी प्रशासनको हस्तक्षेपविरुद्ध नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए भने प्रहरीले पनि बल प्रयोग गरेर कार्कीलाई नियन्त्रणमा लिएर घर लगेर छाडिदिएको थियो।
पूर्वमुख्यमन्त्री कार्कीले थालेका कार्यक्रमहरू शैलजा आचार्य मुटुरोग अस्पताल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने, १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार हुनुपर्ने, महिला स्वयंसेविकाहरूलाई उचित पारिश्रमिकको व्यवस्था हुनुपर्ने, सुनसरी–मोरङ–केसलिया करिडोर तटबन्ध कार्यक्रम कार्यान्वयन गर्नुपर्ने, जनावरमैत्री जंगल कार्यक्रमले निरन्तरता पाउनुपर्ने, कृषि प्राविधिक विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका छन्।