संसदमा पूर्वखेलकुदमन्त्रीको प्रश्न–संगिनाजस्ता खेलाडीले राष्ट्रको नभएर पार्टीको झन्डा बोक्नुपर्ने हो ?

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

खेलकुदमन्त्री तेजुलाल चौधरीको ठाडो निर्देशनमा राखेपको तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा वरीयता मिच्दै निकटलाई नियुक्त गरिएपछि तेक्वान्दोकी कीर्तिमानी खेलाडी संगिना वैद्यलाई उपनिर्देशकबाट राजीनामा दिन बाध्य बनाइएकोबारे संसद्मा उठ्यो प्रश्न

कीर्तिमानी तेक्वान्दो खेलाडी संगिना वैद्यलाई अपमानित गर्दै वरीयता मिचेर राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त गरिएकोमा संसद्मा विरोध भएको छ । निवर्तमान खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलाडीको सम्मानमाथि खेलवाड गर्ने काम बन्द गर्न सरकारालाई चेतावनी दिएका छन् । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको ठाडो निर्देशनमा कोशी प्रदेशका नायब वरिष्ठ प्रशिक्षक शोभितराज प्रसाईंलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक पदमा नियुक्त गरेका थिए । राखेपको ६१ वर्षे इतिहासमा तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्तमा कहिलै यस्तो हस्तक्षेप भएको थिएन । 

छनोट चरण पार गरी ओलम्पिक खेलकुद प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी संगिना वैद्यले आफू अपमानित भएको भनी उपनिर्देशकबाट राजीनामा दिएकी थिइन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा निवर्तमान खेलकुदमन्त्री श्रेष्ठले ओलम्पियन वैद्यले राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय भएको बताएका छन् ।

मन्त्रीको हस्तक्षेपमा पार्टीका क्याडरलाई नियुक्त गर्नु र कानुनको उल्लंघन र अपमान भएको श्रेष्ठको भनाइ छ । ‘सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट पार गर्दैं पहिलो ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् संगिना वैद्य । तर, राष्ट्रिय खेलकुद परिषद्को निर्देशक पदको बढुवामा असन्तुष्ट जनाउँदै राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय हो,’ श्रेष्ठले भने । 

आउँदा दिनमा खेलाडीले राष्ट्रको नभएर पार्टीको झन्डा बोक्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ रह्यो । ‘संगिनाजस्ता खेलाडीले अब खेल खेल्दा राष्ट्रको नभएर पार्टीको झन्डा बोक्नुपर्ने हो सभामुख महोदय ?,’ उनले भने, ‘यस्तो फोहोरी राजनीति खेलकुद बन्द गर्नैपर्छ । खेलाडीको सम्मानमाथि खेलबाड गर्न पाइँदैन । राष्ट्रको प्रतिनिधि गरेको अपमान यो देशले सहन सक्दैन । अति गर्नु तर अत्याचार नगर्नु । सरकारले तत्काल जवाफ दिनुपर्छ ।’

प्रसाईंको नियुक्तप्रति असन्तुष्ट जनाउँदै वैद्यले आफू अपमानित भएको र कनिष्ठसँग काम गर्न नसकिने भनी गत आइतबार राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई पदबाट राजीनामापत्र बुझाएकी थिइन् । ‘मप्रति गरेको अपमानका कारण बाध्य भएर उपनिर्देशकबाट राजीनामा दिएको र नियम र कानुनअनुसार जाने हो भने निर्देशक बन्ने मेरो पालो थियो,’ वैद्यले राजीनामा दिँदा भनेकी थिइन्, ‘तर, राज्यले नै हस्तक्षेप गरेर मभन्दा जुनियर ल्यायो । त्यसपछि सोही पदमा बस्न ठिक लागेन र राजीनामा दिएँ ।’ 

खेलाडीको सम्मानमाथि खेलबाड गर्न पाइँदैन : विराजभक्त श्रेष्ठ, सांसद
सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट पार गर्दैं पहिलो ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् संगिना वैद्य । तर, राष्ट्रिय खेलकुद परिषद्को निर्देशक पदको बढुवामा असन्तुष्ट जनाउँदै राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय हो । राज्यले पहिलोपटक महिला निर्देशक पाउँदै थियो । तर, मन्त्रीको ठाडो हस्तेक्षपले पार्टीका क्याडरलाई नियुक्त गर्नु र कानुनको उल्लंघन र अपमान हो । संगिनाजस्ता खेलाडीले अब खेल खेल्दा राष्ट्रको नभएर पार्टीको झन्डा बोक्नुपर्ने हो ? यस्तो फोहोरी राजनीति खेलकुद बन्द गर्नैपर्छ । खेलाडीको सम्मानमाथि खेलबाड गर्न पाइँदैन । राष्ट्रको प्रतिनिधि गरेको अपमान यो देशले सहन सक्दैन । अति गर्नु, तर अत्याचार नगर्नू । सरकारले तत्काल जवाफ दिनुपर्छ । 

ओलम्पिकमा छनोट चरण पार गर्ने वैद्य, विष्ट र श्रेष्ठ मात्र 
नेपाली खेलकुदमा वैद्य महिलातर्फ सर्वाधिक सफल खेलाडी हुन् । उनले दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण तथा एक कांस्य पदक राष्ट्रलाई दिलाएकी छिन् । सन् १९९९ को आठौँ र सन् २००४ को नवौँ साफ खेलमा उनले स्वर्ण जितेका थिए । सन् २००६ को कोलम्बो सागमा उनी कांस्यमै सीमित भइन् । सन् १९९८ मा उनले अस्ट्रेलियामा भएको एसियन प्यासिफिक च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । यस च्याम्पियनसिपमा स्वर्ण जित्ने उनी पहिलो खेलाडी पनि हुन् । तेक्वान्दोकी कीर्तिमानी खेलाडी वैद्यले सन् २००४ को ग्रिसको एथेन्समा भएको ओलम्पिकमा छनोट चरण पार गर्दै स्थान बनाएकी थिइन् । यस्तो सफतला प्राप्त गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । उनीपछि तेक्वान्दोका दीपक विष्ट र टेबुलटेनिसका स्यान्टु श्रेष्ठले छनोट चरण पार गरी ओलम्पिकमा स्थान बनाएका थिए । सन् २००८ को बेइजिङ ओलम्पिकमा विष्टले छनोट पार गरी प्रतिस्पर्धा गरेका थिए । गत महिना पेरिसमा भएको ओलम्पिकका लागि टेबुलटेनिसका श्रेष्ठले दक्षिण एसियाली छनोट पार गरेका थिए । उनी छनोट चरणमा शीर्ष स्थान सही ओलम्पिक खेल्न तेस्रो नेपाली खेलाडी बनेका थिए ।

नियुक्तमा प्रसाईंभन्दा वैद्य एक महिना अगाडि
गत साता नै प्रचण्ड शर्मा तालिम तथा प्रशिक्षण विभागको निर्देशकबाट बिदा भए । त्यसपछि रिक्त निर्देशक पदमा सिनियरको आधार उपनिर्देशकद्वय वैद्य र विष्णुबहादुर सिंहमध्ये एकजना बढुवा हुने थियो । तर, मन्त्री चौधरीले सीधै प्रसार्ईंलाई निर्देशकमा नियुक्त गरे । राखेपमा नियुक्तिका आधारमा पनि प्रसाईं वैद्यभन्दा एक महिना पछाडि देखिन्छ । वैद्यले ३० भदौ ०५२ मा राखेपमा नियुक्ति पाएकी थिइन् । विराटनगरका प्रसाईंको नियुक्ति १ असोज ०५२ मा भएको थियो । वैद्यको बढुवा २१ पुस ०६३ मा र प्रसाईंको २६ पुस ०६४ मा भएको हो । 

See More On

सुझावित समाचार