प्रतिनिधिसभाका सांसद हरि ढकालले मितेरी सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा ढकालले भने, ‘मितेरी सहकारी ठगी प्रकरण र बचत अपचलनका विषयमा समाचारहरू छ्यापछ्याप्ती आएका छन् । म सम्बन्धित निकायले निष्पक्ष रूपमा यो विषयमा पनि छानबिन गरोस् भनेर सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’
ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको भन्दै सिआइबीमा जाहेरी परेको छ । सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारी ठगीसम्बन्धी विशेष छानबिन समितिमा कांग्रेस उपसभापति धनराज गुरुङको नाम पनि मुछेका छन् ।
यसैगरी, सांसद ढकालले नौ महिनादेखि पुँजीबजारको नियामक धितोपत्र बोर्ड नेतृत्वविहीन रहेको उल्लेख गर्दै भागबन्डा सकिएको भए अध्यक्ष नियुक्त गर्नु भन्दै कटाक्ष गरे।
‘दुईतिहाइको सरकार छ। कहाँ के हो भागबन्डा, अब त भयो होला । सय दिनसम्म नबोल्नु है भनेको पनि सुनिएको छ । अनि नौ महिनादेखि थाती रहेको यो काम सदनमा पटकपटक आवाज उठाउँदा दुईतिहाइको सरकार छ भन्ने, एउटा नियामक नियुक्ति गर्न नसक्ने,’ उनले भने।