मितेरी सहकारीको १४ करोड ८१ लाख अपचलन : तत्कालीन महाप्रबन्धक ज्योतिसहित पाँचजनाविरुद्ध सिआइबीमा जाहेरी

अपचलनमा कांग्रेस उपसभापति गुरुङको नाम पनि मुछियो

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको भन्दै ज्योति गुरुङसहित पाँचजनाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा जाहेरी परेको छ । मितेरीका सचिव बोधविक्रम थापाले उनीहरूविरुद्ध जाहेरी गरेका हुन् । सिआइबीका अनुसार थापाले गुरुङसहित ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध जाहेरी दिएका हुन् । ज्योति कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती हुन् । अन्य चारजना सहकारीका पूर्वकर्मचारी हुन् । 

मितेरीका अध्यक्ष कुम्भराज गुरुङले सहकारी ठगीसम्बन्धी विशेष छानबिन समितिमा कांग्रेस उपसभापति धनराज गुरुङको नाम पनि मुछेका थिए । बयानका क्रममा कुम्भराजले ज्योति र धनराजले अपचलन भएको रकम फिर्ता गर्ने सहमति जनाएको स्रोतले बतायो । सिआइबी प्रमुख एआइजी दीपक थापाले ज्योतिसहित पाँचजनाविरुद्ध आइतबार जाहेरी सिआइबी आइपुगेको बताए । ‘मितेरी सहकारीको रकम अपचलन भएको सम्बन्धमा आइतबार ज्योतिसहित पाँचजनाविरुद्ध जाहेरी हामीकहाँ आइपुगेको छ । घटना सम्बन्धमा प्रारम्भिक रूपमा बुझ्ने काम गरिरहेका छौँ । मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाउने/नबढाउने विषय टुंगो लाग्दै जाला,’ उनले भने ।

सिआइबीमा पेस भएको जाहेरीमा उल्लेख भएअनुसार मितेरीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले कम्पनीमा लगानी गर्ने भन्दै ज्योतिबहादुरको नाममा मनोमानी ढंगले १२ करोड ५० लाख रुपैयाँ झिकेकी थिइन् । रकम निकासा गर्न ज्योतिलाई मितेरीका कर्मचारी सुजन, हितमान र प्रकाशले सघाएका थिए । तर, सो रकम मितेरीमा हालसम्म फिर्ता भएको छैन । रकम उठाउन मितेरीले पटक–पटक प्रयास गरेको थियो । तर, ज्योति अमेरिका फरार भएपछि मितेरी संकटमा फसेको थियो ।  घटना अध्ययन गर्न मितेरीले आन्तरिक छानबिन समितिसमेत बनाएको थियो । यसक्रममा मनोमानी ढंगले झिकिएको १२ करोड ५० लाख रुपैयाँ र त्यसको ब्याज जोडेर ज्योति र उनको समूहबाट असुल गरिनुपर्ने रकम १४ करोड ८१ लाख रुपैयाँ निर्धारण गरिएको थियो । पटक–पटकको प्रयासपछि रकम उठ्न नसकेपछि मितेरीका सचिव बोधविक्रम थापा जाहेरी बोकेर सिआइबी पुगेका थिए । घटना सम्बन्धमा उनी खुल्न चाहेनन् । ‘यस विषयमा म अहिले केही पनि कुरा गर्दिनँ । नो थ्यांक्स,’ थापाले भने ।

रकम अपचलन घटनामा संलग्न ज्योति गुरुङ ०५७ मा मितेरीमा बचत संकलकमा रूपमा प्रवेश गरेकी थिइन् । ०७० मा उनी मितेरीको कोषाध्यक्ष भइन् । फरार हुनुअघिसम्म उनी मितेरीको महाप्रबन्धक पदमा कार्यरत थिइन् । सिआइबीका अनुसार ज्योतिले सम्बन्धविच्छेदपूर्व कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङका नाममा पनि ऋण झिकेकी थिइन् । दुईबिच २९ फागुन ०७६ मा सम्बन्ध विच्छेद भयो । तर, मितेरीको ऋणको विषय भने सल्टिसकेको थिएन । सहकारीले ताकेता गरेपछि धनराजले सम्बन्धविच्छेदपछि ऋण चुक्ता गरेका थिए । तर कति रकम भन्ने खुलेको छैन । ज्योतिले अपचलन गरेको १२ करोड ५० लाख रुपैयाँ असुल्नका लागि सहयोग गर्न मितेरीले धनराजसँग आग्रह गरेको थियो । त्यसपछि भने उनले सहकारीमा भएको अपचलनबारे वास्ता गर्न छाडेका थिए । मितेरी बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा दर्ता छ । मितेरीले दुई आर्थिक वर्षयताको लेखापरीक्षण प्रतिवेदन कार्यालयमा पेस गरेको छैन ।

अपचलनमा कांग्रेस उपसभापति गुरुङको नाम पनि मुछियो
दुई वर्षसम्म पनि सहकारी रजिस्ट्रारको कार्यालयमा मितेरीले आडिट रिपोर्ट पेस नगरेपछि सरकारबाट गठिन सांसद सूर्य थापा नेतृत्वको उच्चस्तरीय छानबिन समितिले मितेरीको सम्बन्धमा छानबिन गरेको थियो । सोहीक्रममा मितेरीका अध्यक्ष कुम्भराज गुरुङलाई समितिले सोधपुछका लागि सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएको थियो । समितिले गुरुङसँग सहकारीको सम्बन्धमा करिब पाँच घन्टा बयान लिएको थियो । समिति संयोजक थापाले सहकारीको सम्बन्धमा गुरुङसँग बयान लिइएको बताए । ‘हामी समस्याग्रस्त सहकारीको छानबिनमा छौं । सोहीक्रममा गुरुङसँग पनि सोधपुछ भए जस्तो लाग्छ । हामी प्रतिवेदन लेखन कार्यमा व्यस्त छौं । बाँकी विषयमा पछि कुरा गरौंला,’ उनले भने ।

समितिसँगको बयानका क्रममा गुरुङले धनराजकी पूर्वश्रीमती ज्योतिले सहकारीको १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेको बयान दिएका थिए । रकम उठाउन पटकपटक ताकेता गर्दा पनि नसकिएपछि सिआईबीलगायतका निकायमा उजरी दिएको उनले बयानमा भनेका थिए । बयानका क्रममा उनले ज्योति र धनराजबीच भएको सम्बन्ध बिच्छेद नक्कली या सक्कली के हो बुझ्न नसकिएको बताएका थिए । सोमबार साँझ कांग्रेस उपसभापति गुरुङले विज्ञप्ति जारी गर्दै मितेरी सहकारी ठगीमा आफ्नो नाम मुछिएकोमा आपत्ति जनाउँदै सहकारीका सम्पूर्ण बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने र अपचलन भएकोमा छानबिन गर्नुपर्ने माग गरेका छन् । उनले ज्योतिसँग आफूले ०७६ मै सम्बन्ध विच्छेद भइसकेकाले उनीसँग कुनै सम्बन्ध नरहेको उल्लेख गरेका छन् ।

सहकारीपीडित र सरकारबिच आठबुँदे सहमति 
बचतकर्ताको रकम फिर्ताको माग गर्दै आन्दोलनरत पीडित र सरकारबिच आठबुँदे सहमति भएको छ । सहमतिसँगै एक सय नौ दिनदेखिको आन्दोलन स्थगित भएको छ । आन्दोलनरत पक्षबाट सहकारीपीडित बचतकर्ता अभियानका अध्यक्ष कुशलभ केसी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलबीच सहमति भएको हो । दुई पक्षबीच समस्यामा परेका सहकारी संघ–संस्थाका बचतकर्ताहरूको बचत फिर्ता र ऋण असुलीलगायतका विषयको पहिचान तथा समाधानमा आवश्यक तथ्यांक संकलन र विश्लेषणलगायतका कार्यमा सहयोग गर्न समिति गठन गर्नेलगायतका बुँदामा सहमति भएको छ । समितिको संयोजक सहकारी विभागका उपरजिस्ट्रार पाँचजना रहनेछन् । समितिमा पीडित पक्षका तर्फबाट पनि प्रतिनिधि रहनेछन् । सहकारी अभियन्ता केसीका अनुसार मुलुकभर सहकारीपीडित मात्रै १४ लाखभन्दा धेरै छन् । उनीहरू देशभर रहेको तीन सय ५७ सहकारीका पीडित हुन् । ती सहकारीले उनीहरूको तीन खर्ब ७५ अर्ब रकम डुबाइदिएका छन् ।

(नयाँ पत्रिकाको मंगलबारको अंकमा पृष्ठ ३ मा प्रकाशित ‘मितेरी सहकारीको १४ करोड ८१ लाख अपचलन : तत्कालीन महाप्रबन्धक ज्योतिसहित पाँचजनाविरुद्ध सिआइबीमा जाहेरी’ शिर्षकको समाचारमा असावधानीवश सोही नामको भक्तपुरमा रहेको सहकारीको फोटो प्रकाशित भएकोले सच्याइएको छ । यसबाट सम्बन्धित संस्थालाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । – सम्पादक)

सुझावित समाचार