अरूले गरेको बदमासीको भारी मैले किन लिने ? : लामिछाने

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा सहकारीबाट गलत ढंगले पैसा गएको देखिए पनि त्यसमा आफू जिम्मेवार नरहेको बताएका छन् । धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले गोर्खा मिडियामा कसरी पैसा गएको भनेर अनुसन्धानले नै स्पष्ट पारिसकेको बताए ।

‘म भएका वेला आएको थियो, त्यसकारणले तेरो जिम्मेवारी हुन्छ भन्ने एउटा तर्क होला, तर म भएका वेलामा अन्यले गरेको बदमासीको भारी मैले या अन्य कसैले लिनुपर्ने होइन,’ उनले भने, ‘किनकि म भएकै वेला बदमासी भए पनि त्यो बदमासी कसले गर्यो, कसरी गर्यो भन्ने कुरा लगभग स्पष्टै छ ।’ 

गोर्खा मिडियालगायत विभिन्न संस्थाहरूमा सहकारीबाट गलत ढंगले पैसा गएको र कस–कसले बदमासी गरेको भन्ने विषय अनुसन्धानबाट पुष्टि भइसकेको उनले बताए। ‘म भएकै वेलामा कसले ल्यायो, कसरी मिलेमतो गर्याे भन्ने कुराको सम्पूर्ण विवरण प्रहरी प्रतिवेदनले दिएकै छन् । अदालतमा मुद्दा जाँदा प्रतिवादीहरू कायम भएकै छन् । बिगो कायम भएकै छ,’ उनले भने, ‘खालि त्यसमा रवि लामिछाने दोषी छ कि छैन भन्ने कुरा हो ।’ पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले सहकारी प्रकरणमा आफ्नो देखिए त्यसको जिम्मेवारी लिन तयार रहेको उल्लेख गर्दै संलग्नता पुष्टि गर्न चुनौती दिए ।

सहकारी ठगीबारे जाँचबुझका लागि गठित संसदीय समितिको प्रतिवेदनले पीडितलाई न्याय दिनेमा आफू विश्वस्त रहेको उनले बताए । ‘लाखौँ पीडितले आफ्नो बचत फिर्ता पाउने कुरामा समिति केन्द्रित हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ सभापति लामीछानेले भने, ‘समितिको विश्वसनीयतामाथि विश्वस्त छु ।’

सहकारीमा आफ्नो कुनै संलग्नता नभए पनि दोषी हो भन्ने गरी माहोल सिर्जना गर्न खोजिएको उनले गुनासो गरे। उनले आफूविरुद्ध मिडियामा ‘ट्रायल’ गर्ने, गलत भाष्यहरू सिर्जना गर्ने कार्य भइरहे पनि आफू नडराउने बताए। लाखौँ सहकारीपीडितको न्यायमा भन्दा बढी रवि लामिछानेलाई डाम्न पाए हुन्थ्यो, दोषी देखाउन पाए हुन्थ्यो भन्ने केहीले चाहेको लामिछानेले दाबी गरे।

अर्को प्रसंगमा उनले दुईतिहाइको सरकारले सुरुवातमा जनतामा कुनै उत्साह दिन नसकेको बताए । गठन भएको सय दिन नपुग्दै सरकारको मूल्यांकन गर्न हतार हुने भए पनि प्रारम्भिक काम हेर्दा सरकारबाट धेरै आशा र अपेक्षा गर्ने छनक नदेखिएको उनको भनाइ छ । ‘दुई ठुला दल अन्तिम विकल्प हौँ भनेर जसरी आएका थिए त्यस्तो कुनै उत्साह, छनक, संकेत देखिएको छैन,’ लामिछानेले भने, ‘जनताले जुन आशा गरेका छन् त्यस्तो कुनै देखिएको छैन ।’ 
 

सुझावित समाचार