धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिमा ठेकेदारको चरम लापरबाही

ठेक्का तोड्न सांसदहरूको सुझाव

सोमबार, २४ भदौ, २०८१
डिजिटल संस्करण
धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिमा ठेकेदारको चरम लापरबाही

आइतबार धुलिखेल–खावा सडकखण्डको अनुगमन गर्दै संघीय संसदीय पूर्वाधार विकास समितिका सदस्यहरू । तस्बिर : नयाँ पत्रिका

सम्झौता अवधि सकिएको पाँच महिना बितिसक्दा पनि ५० प्रतिशत काम नभएपछि संघीय संसदीय पूर्वाधार विकास समितिले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको अनुगमन गरेको छ । आइतबार संघीय सांसद शंकर भण्डारीको नेतृत्वमा समितिले अनुगमन गरेको हो । समयमा सडक विस्तारको काम नसकिँदा सर्वसाधारणले अनाहकमा दुःख पाएको, यात्रुको अंगभंग हुनुपरेको र केहीले ज्यान नै गुमाउनुपरेको गुनासोपछि अनुगमनमा आएको उनले बताए । अनुगमनका क्रममा राजमार्गको अवस्था साँच्चै कष्टकर पाएको उनको भनाइ छ । 

‘हामीले विभिन्न माध्यमबाट धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ हुँदा सर्वसाधारण तथा यात्रुले भोगेको समस्या थाहा पायाैँ । फिल्डमै पुगेर हेरौँ भन्ने उद्देश्यले ११ जना सांसदसहित पूर्वाधार विकास समितिका प्रतिनिधि अनुगमनमा आएका हौँ,’ भण्डारीले भने, ‘हामीले स्थानीयको आक्रोश, जनप्रतिनिधिका कुरा र फिल्ड पनि हेर्यौँ । अब पूर्वाधार विकास समितिको बैठक बसेर ठेक्का सम्झौता तोड्ने कि के गर्ने भन्ने निचोड निकाल्छौँ ।’ तत्काल राजमार्गको खाल्टाखुल्टी पुर्ने र रेस्क्युको व्यवस्था गर्नुपर्ने भण्डारीले बताए । 

समिति सदस्य ठाकुर गैरेले यसअघि नै ठेक्का तोड्न समितिले निर्देशन दिए पनि निर्माण कम्पनीको म्याद थपिँदै जाने र जनताले सास्ती पाइरहने स्थिति बन्न नहुने बताए । तोकिएको अवधिमा काम नभए ठेक्का रद्द गर्न समितिमार्फत सरकारलाई निर्देशन दिने र त्यो कार्यान्वयन भए–नभएको पनि ताकेता गर्ने उनको भनाइ छ । सांसद माधव सापकोटाले गौरी–पार्वती जेभीले अन्यत्र सकारेको ठेक्का पनि समस्याग्रस्त रहेको भन्दै ठेक्का रद्द गर्नुपर्ने धारणा राखेका थिए । ठेक्का सम्झौताको म्याद नसकिँदै ठेक्का सम्झौता रद्द गर्न सडक डिभिजनलाई भनेको उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले गलत डिपिआर र डिजाइन स्वीकृत भएकाले निर्माणमा समस्या आएको बताए । खरिद ऐनका प्रावधानका कारण समस्या आएको उनको भनाइ छ । पाँचखाल नगर प्रमुख महेश खरेलले काम नगर्ने निर्माण व्यवसायीविरुद्ध किटानी जाहेरी दिँदा पनि प्रहरी प्रशासनले आँट नगरेको बताए ।

संघीय संसद्को पूर्वाधार समितिको टोलीसमक्ष स्थानीयले आक्रोश पोखेका छन् । निर्माण व्यवसायीको लापरबाही, जनप्रतिनिधि र कर्मचारीको लाचारीपनका कारण सास्ती खेप्नुपरेको स्थानीयको गुनासो थियो । पाँचखाल नगरपालिका– ५ का स्थानीय बुद्धनराज गिरीलगायतले राजमार्ग विस्तारमा राजनीति नगर्न आग्रह गरे । 

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारमा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २० जेठ ०७९ मा सम्झौता भएको थियो । २७ महिना बितिसक्दासमेत ५० प्रतिशत काम सम्पन्न भएको छैन । सम्झौताअनुसार १९ चैत ०८० मा काम पूरा गर्नुपर्ने थियो । सो म्याद सकेर पाँच महिना बितिसक्दासमेत कामले गति लिन सकेको छैन । सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवासँग सम्झौता गरेको थियो ।

मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै सडकखण्डमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा डिबिएम र आस्फाल्ट गरी दुई चरणको कालोपत्र गर्न लागिएको छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सडकखण्ड विस्तार गर्न लागिएको थियो । चार किलोमिटर सडकखण्ड विस्तार एवं स्तरोन्नतिका लागि ३० करोड ७८ लाख ७२ हजार ३८० रुपैयाँ अनुमान गरेकोमा व्यवसायीसँग भ्याटसहित २० करोड १९ लाख ४३ हजार ५०१ रुपैयाँमा सम्झौता गरिएको थियो ।

शंकर भण्डारी, सांसद, कांग्रेस
हामीले विभिन्न माध्यमबाट धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ हुँदा सर्वसाधारण तथा यात्रुले भोगेको समस्या थाहा पायाैँ । फिल्डमै पुगेर हेरौँ भन्ने उद्देश्यले ११ जना सांसदसहित पूर्वाधार विकास समितिका प्रतिनिधि अनुगमनमा आएका हौँ । हामीले स्थानीयको आक्रोश, जनप्रतिनिधिका कुरा र फिल्ड पनि हेर्यौँ । अब पूर्वाधार विकास समितिको बैठक बसेर ठेक्का सम्झौता तोड्ने कि के गर्ने भन्ने निचोड निकाल्छौँ ।

सुझावित समाचार