कावासोतीमा तरकारीको विषादी परीक्षण सुरु

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोती तरकारी थोक बजारमा बुधबारदेखि तरकारीको विषादी परीक्षण सुरु भएको छ। योसहित नेपालका १२ सहरमा विषादी परीक्षण प्रयोगशाला नै राखेर काम सुरु गरिएको कृषि विभाग केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ।

केन्द्रीय कृषि प्रयोगशालाको आयोजनामा बुधबार कावासोतीमा कृषकहरूलाई अभिमुखीकरण कार्यक्रम राखेर प्रयोगशालाको उदघाटन गरिएको हो। प्रयोगशालाको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले उदघाटन गरे।

कावासोतीमा पछिल्लो केही दिनमा नमुनाको रूपमा २५ प्रकारका तरकारीहरूमा विषादी परीक्षण गरिएकोमा अहिलेसम्म परीक्षण गरिएका तरकारीहरू खानयोग्य भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका प्राविधिक वीरेन्द्र भण्डारीले बताए।

कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. नरहरिप्रसाद घिमिरेले नेपालमा तरकारीका उपभोक्ताभन्दा तरकारी उत्पादन गर्ने कृषकहरु विषादीको बढी सम्पर्कमा आउने भएकाले विषादीको पहिलो सिकार कृषकहरु भएको बताए।

बढी विषादी प्रयोग गरिएको तरकारी सेवनले उपभोक्तामा तत्कालिन रुपमा कुनै असर नगरे पनि दीर्घकालिन रुपमा नपुंशकता, क्यान्सरजस्ता रोगहरु निम्त्याउने र अन्त्यमा मृत्यु समेत हुनसक्ने डा. घिमिरेले बताए।

कावासोतीमा राखिएको प्रयोगशालामा अहिले एक जेटिएस्तरका प्राविधिक र एक कार्यालय सहायक गरी २ जना कर्मचारी राखिएको छ। दिनमा कम्तिमा ५ प्रकारका तरकारीहरुमा विषादी भए नभएको नियमित परीक्षण गरिने बताइएको छ।

सुझावित समाचार