प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्य वस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।
उद्योग मन्त्रालयको वाणिज्य तथा आपूर्तिका विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले चाडपर्वका वेला अभावको अवस्था आउन नदिन निर्देशन दिएका हुन् । उनले खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मानवीयता र व्यावसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने बताए ।‘चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ । यस्ता विषयमा कुनै सम्झौता हुँदैन । कुनै भनसुन चल्दैन,’ उनले भने ।
उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरूसहितको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन र निर्यात बढाउन तथा विषादीयुक्त खाद्य पदार्थ आयात–निर्यात नगर्न आग्रह गरे । उनले नेपालमा फलाम, युरेनियम आदि खानीजन्य पदार्थको उत्खननको क्रम चले पनि तिनलाई कच्चा पदार्थमा बिक्री–वितरण नगरी उद्योग सञ्चालन र सामग्री उत्पादनमा प्राथमिकता दिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटको डिपोलाई बस्ती कम भएको स्थानमा स्थानान्तरण गर्न निर्देशन दिए ।