संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचन अभियान तीव्र बनिरहेका वेला राष्ट्रपतिका दुई उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुद्दा उठाइरहेका छन् । चाहे अध्यागमन होस्, प्रजनन अधिकार वा सामाजिक खर्चबारे किन नहोस्, दुवै उम्मेदवारले मतदाताको मुख्य चासोको रूपमा रहेका विषयलाई लिएर एक–अर्काको आलोचना गर्नुका साथै आधार जुटाउन खोजेका छन् ।
यद्यपि, त्यहाँ एउटा मुद्दा छ, जसमा दुवै उम्मेदवारको एकमत देखिन्छ । त्यो हो चीन । विश्व मञ्चमा वासिंटनको अडानलाई चुनौती दिने शक्तिविरुद्ध अमेरिकी नीतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा राष्ट्रपतिका दुवै उम्मेदवारसँग फरक दृष्टिकोण भए पनि सम्भावित खतरालाई नियन्त्रणमा लिनुपर्ने सवालमा उनीहरू सहमत देखिन्छन् ।
सम्भावित जोखिम नियन्त्रणमा लिने उनीहरूले कस्तो प्रस्ताव गरेका छन् ? उपराष्ट्रपति तथा डेमोक्र्याटिक उम्मेदवार ह्यारिसले राष्ट्रपति जो बाइडेनको नीतिलाई निरन्तरता दिने देखिन्छ । उनले एसियामा अमेरिकाको लामो समयदेखिको सुरक्षा साझेदारीलाई आर्थिक गठबन्धनमा परिणत गरेर आर्थिक वृद्धि गर्न खोजेको देखिन्छ । साझेदार राष्ट्रहरूमा पनि अमेरिकी प्रतिबन्ध उल्लंघन गर्न खोज्नेहरूविरुद्ध ‘ठुलो लठ्ठी’ तेर्साउन उनी उद्यत देखिन्छिन् ।
ह्यारिसले सम्भवतः चीनबाट जोखिम घटाउन निरन्तर जोड दिनेछिन्, उत्पादन उद्योगलाई चिनियाँ क्षेत्रबाट बाहिर सार्ने नीति (जसलाई बाइडेन प्रशासनले तेस्रो देशलाई फाइदा पुग्ने कुराको रूपमा प्रचार गरेको छ) । भियतनामजस्ता केही प्रमुख साझेदारको मामलामा यो विषय उठाइएको छ । धेरै पश्चिमी कम्पनीले आफ्नो सञ्चालन त्यहाँ सारेकाले भियतनामले विदेशको प्रत्यक्ष लगानी (एफडिआई) मा पर्याप्त वृद्धि देखेको छ ।
चीनसँग बढ्दो सहयोग पछ्याउनु वा कम्तीमा रुसप्रतिको उसको समर्थन सकेसम्म सीमित छ भनी सुनिश्चित गर्ने प्रयास गर्नु अमेरिकाको हितमा छ
डेमोक्य्राटहरू चिप्स र मुद्रास्फीति न्यूनीकरण ऐनलाई कायमै राख्न पनि उत्सुक छन् । ऐनले क्रमशः माइक्रोचिप र स्वच्छ ऊर्जाको घरेलु उत्पादनलाई प्रवद्र्धन गर्छ । अर्कोतर्फ, ट्रम्पले आफ्नो अघिल्लो अभियानको ‘अमेरिका पहिलो’ भन्ने बयानबाजीलाई दोब्बर पारेका छन् र त्यहाँबाट अझ एक कदम अगाडि बढेका छन् । उनको फराकिलो आर्थिक नीति लगभग सबै अमेरिकी आयातमा १९औँ शताब्दीको शैलीको फराकिलो शुल्कमा फर्किने कुरामा आधारित छ, जुन विशेषगरी बेइजिङविरुद्ध घातक देखिन्छ ।
यी नीतिमार्फत उनले अमेरिकी भूआर्थिक नीतिलाई सबैभन्दा बढी असर पारेको छ । आज, चीनसँग सक्रिय रूपमा संलग्न हुन आह्वान गर्ने डेमोक्रेटिक वा रिपब्लिकन पार्टीको कुनै गुट छैन । सोभियत संघको पतन र ट्रम्पको सत्ता आरोहणको बिचको अवधिमा स्वतन्त्र व्यापार एजेन्डालाई चुपचाप बेवास्ता गरिएको छ ।
तसर्थ ट्रम्प र ह्यारिसका अभियानले एउटै रणनीतिका केबल विभिन्न दर्शन मात्र प्रस्तुत गर्छन्– चीनबाट धकेल्दै र तान्दै अमेरिकी आर्थिक हितको रक्षा गर्ने । तर, दुवैजनाले यो तथ्यलाई विचार गर्न असफल भएका छन् कि धेरै आक्रामक मानिने मस्को अमेरिकाको प्रभुत्व भएको अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाका लागि पनि खतरा हो । यस विश्वव्यापी प्रतिस्पर्धामा रहेका मित्रराष्ट्रहरूका लागि चीन आर्थिक रूपमा धेरै महत्वपूर्ण छ भन्ने कुरा अमेरिकाले स्वीकार गर्नुपर्छ ।
यस क्षेत्रमा रुसको प्रभावलाई रोक्न पश्चिमले प्रवद्र्धन गर्न खोजेको युरेसियाली व्यापारको ‘मध्य कोरिडोर’ बेइजिङको समर्थनविना कुनै अर्थ राख्दैन । यसबाहेक, चीनविरुद्ध धेरै कडा दबाबले एउटा यस्तो जोखिम हुन्छ, जसले रुसको भूआर्थिक एजेन्डालाई रोक्नका लागि गरिएको प्रगतिलाई राम्रोसँग कमजोर वा सम्भावित रूपमा उल्ट्याउन सक्छ ।
यहाँ मस्को आफ्नो ठुलो छिमेकीमाथिको बढ्दो निर्भरतालाई औँल्याउनु महत्वपूर्ण हुन्छ । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण मात्रामा आक्रमण भएदेखि चीन रुसको शीर्ष व्यापार साझेदारमध्ये एक हो । साथै, बेइजिङ पश्चिमी प्रतिबन्धद्वारा प्रतिबन्धित अन्तर्राष्ट्रिय बजारमा पहुँच प्रदान गर्ने प्रदायक पनि हो । रुसी कम्पनीले ल्याटिन अमेरिका, एसिया र अफ्रिकासँग व्यापारका लागि चिनियाँ मुद्रा प्रयोग गर्न पनि खोजिरहेका छन् ।
तर, चिनियाँ व्यापारमा बाइडेन प्रशासनअन्तर्गत सधैँ बढ्दो प्रतिबन्धका बाबजुद पनि बेइजिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विश्व व्यवस्थाको दृष्टिकोणलाई पूर्ण रूपमा अँगाल्न सकेको छैन । चीनले उनको बयानबाजीलाई समर्थन गर्दैन (विशेषगरी तथाकथित ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलनमा पश्चिम र विशेषगरी अमेरिकाको आलोचना हुन्छ) ।
बेइजिङले रुसमाथिको अमेरिकी प्रतिबन्धलाई प्रत्यक्ष रूपमा चुनौती दिन वा अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिन नयाँ मुद्रा ब्लकका लागि कडा दबाब दिन हिचकिचाइरहेको छ । उदाहरणका लागि चिनियाँ बैंकहरूले अमेरिकी सामान्य प्रतिबन्धहरूको बढ्दो धम्कीपछि रुसी समकक्षीका लागि युआन व्यापार प्रस्तावमा उल्लेखनीय कटौती गरेका छन् । पुटिन समर्थक आउटलेटसहित रुसी मिडियाले यी चुनौतीलाई ‘नोट’ गरेका छन् ।
पावर अफ साइबेरिया २ भनिने नयाँ रुस र चीनबिचको प्रमुख ग्यास पाइपलाइनको निर्माणजस्ता महत्वपूर्ण आर्थिक परियोजनामा पनि बेइजिङ अति सावधान छ । युक्रेनमा पूर्ण मात्रामा आक्रमण हुनुभन्दा केही हप्ताअघि सैद्धान्तिक रूपमा सहमति भए पनि यसको विकासबारे भएका वार्तामा कुनै प्रगति भएको छैन । मंगोलिया (जहाँबाट पाइपलाइन पार गर्ने योजना छ)ले यो आगामी चार वर्षमा पूरा हुनेमा आफू आशावादी नभएको हालै संकेत गरेको छ ।
यदि अर्को अमेरिकी राष्ट्रपतिले रुस र चीनसँग दुई मोर्चाको आर्थिक युद्ध लड्ने निर्णय गरेमा यसले बेइजिङलाई मस्कोको अडाननजिक धकेल्नेछ । अहिले चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकालाई विस्थापित गर्दै आफ्नो देशलाई उदीयमान अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाको उचित केन्द्रको रूपमा हेर्छन् । यसविपरीत विद्यमान अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थालाई नष्ट गरिनुपर्ने पुटिनको विश्वास छ ।
रुसको कमोडिटीमा निर्भर अर्थतन्त्र अमेरिकाजस्तो ठुलो आर्थिक शक्ति बन्ने सम्भावना छैन । त्यसकारण उसले आफ्नो अहंकार घटाएर धेरै मध्यम आर्थिक शक्तिमध्ये एकको रूपमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने आशा गर्छ । यो सोच रुसले युक्रेनमा पूर्ण मात्रामा गरेको हमला र त्यसको परिणामस्वरूप सार्वभौम उधारो बजारदेखि ग्यास व्यापारसम्म सबै कुरालाई राजनीतीकरण गर्ने इच्छाको केन्द्रमा रहेको छ । चीन निश्चय नै पश्चिम र अमेरिकाका लागि एक प्रमुख आर्थिक प्रतिस्पर्धी हो । तर, छिमेकीहरूलाई आक्रमण गर्ने उसको विगत रुसको भन्दा धेरै कम स्पष्ट छ । रुसले निकट भविष्यमा चीनजस्तो बन्ने आशा गर्न सक्दैन ।
यसको आर्थिक युद्ध पनि ठुलो मात्रामा रणनीतिक ऋण, पश्चिमबाट चीनमा मध्यस्थता केन्द्र जम्मा गर्नेजस्ता नयाँ संस्थागत उद्देश्य र महत्वपूर्ण उद्योगका लागि राज्य अनुदानमार्फत आफ्नो स्थिति सुधार्ने प्रयासमा सीमित छ । छोटकरीमा भन्नुपर्दा यो एक प्रतिस्पर्धा हो, जुन अमेरिकाले लामो अवधिमा पक्ष र विरुद्धमा संलग्न हुन सक्छ, जबकि पुटिनको धम्की, जोखिम सहनशीलता र युद्ध छेड्ने इच्छा छोटो अवधिमा धेरै स्पष्ट छ । त्यसकारण, अहिले चीनसँग बढ्दो सहयोग पछ्याउन वा कम्तीमा रुसका लागि आफ्नो समर्थन सकेसम्म सीमित छ भनी सुनिश्चित गर्ने प्रयास गर्नु अर्थपूर्ण छ । अटोमोटिभ उत्पादन र आपूर्ति चेनहरू कहाँ चल्ने भन्ने लडाइँले पर्खन सक्छ ।
–अलजजिराबाट