कांग्रेस-एमालेको समीकरण ०८४ सम्मै जान्छ
परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएकी छिन् । धनगढीस्थित आफ्नै निवासमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले यस्ताे बताएकी हुन् ।
प्रधानमन्त्री केपी ओलीले महिला प्रधानमन्त्री बनाउने इच्छा गरेको सम्बन्धमा पत्रकारले प्रश्न गर्दा उनले भनिन्, ‘म प्रधानमन्त्री बन्ने सम्भावना छैन, पार्टीभित्र मेरो कति हैसियत छ मलाई थाहा छ, हाम्राे पार्टीबाट प्रधानमन्त्रीकाे क्यान्डिडेट शेरबहादुर देउवा नै हो ।’
देशमा राजनीतिक प्रतिशोधको संस्कृति विकास हुन थालेपछि कांग्रेस–एमाले एक ठाउँमा उभिनुपरेको उनको भनाइ छ । आज बिहान पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस–एमालेको समीकरण ०८४ सम्मै जाने बताएकी छिन् । सुरुको दुई वर्ष केपी ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताइन् ।
संविधान संशोधन पनि आवश्यक
उनले संविधान संशोधन पनि आवश्यक रहेको बताइन् । संविधानको मूल मर्म नमर्ने गरी केही विषय संशोधन आवश्यक रहेको उनको भनाइ छ । उनले आफ्नो भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नति, सुदूरपश्चिममा झुलाघाट र परशुराममा पुल निर्माणका लागि कुराकानी भएको बताइन् । त्यस्तै, धनगढीको फाप्लामा क्रिकेट मैदान निर्माणबारे पनि भारत सरकारसँग कुरा गरेको उनकाे भनाइ छ ।