पार्टीको बैठकमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड धनगढीमा

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आइपुगेका छन् । अध्यक्ष प्रचण्डसहितका नेताहरूको उपस्थितिमा माओवादी सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आज धनगढीमा बस्दै छ ।

प्रचण्ड बुद्ध एअरको नियमित उडानबाट पार्टीका नेताहरूसहित बिहान धनगढी आएका हुन् । सोही जहाजमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि धनगढी आएकी छिन् । मन्त्री राणा धनगढीस्थित आफ्नो घरमा गौरापर्व समापन कार्यक्रममा सहभागी हुन धनगढी आएकी हुन् ।

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणी पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी हुने माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए ।

सचिव बुढाका अनुसार दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने छन्। पार्टीलाई कसरी मजबुद बनाउने भन्नेबारे नेताहरूको सुझाव संकलन गर्नका लागि बैठक आयोजना गरिएको उनले बताए। पार्टी निर्माणका लागि नेताहरूको सुझाव संकलन गर्न माओवादीले सातवटै प्रदेशमा बैठकहरू तय गरेको छ । 

‘हाम्रो पार्टीमा देखिएका समस्या, समाधानका उपाय तथा पार्टीलाई कसरी मजबुद बनाएर लैजाने भनेर अध्यक्षले कार्यक्षेत्रमा भएका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको राय, सुझाव संकलन गर्न लाग्नुभएको हो,’ सचिव बुढाले भने । 

सुदूरपश्चिममा माओवादीभित्र तीव्र विवाद छ। गुटगत विवाद चुलिएपछि पार्टी स्थायी समिति सदस्यसमेत रहेका नेता खगराज भट्टलाई गत माघमा माओवादीका बहुमत प्रदेश सांसदले पार्टीको संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई नेता चयन थिए। 

भट्टलाई नै नेता बनाउन पार्टी केन्द्रले सर्कुलर पठाए पनि कार्यान्वयन भएको छैन। प्रदेशमा पार्टीभित्र र संसदीय दलमा देखिएको विवादबारे अध्यक्षको उपस्थितिमा छलफल हुने माओवादी सुदूरपश्चिमका एक नेताले बताए ।

पार्टीको आगामी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि प्रचण्डले केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श तथा सुझाव संकलन गर्न लागेका हुन् । यसअघि बागमती र गण्डकीमा माओवादीको परामर्श बैठक भइसकेको छ । यही १४ र १५ भदौमा सुर्खेतमा कर्णालीको समन्वय बैठक तय भइरहेको माओवादी केन्द्रले जनाएको छ ।
 

See More On

सुझावित समाचार