पछिल्लो समय सहरी क्षेत्रमा शारीरिक व्यायामका लागि जिम सेन्टर धाउनेको संख्या बढ्दो छ। शरीरलाई आकर्षक देखाउन जिम सेन्टर जानेहरू धेरै हुन्छन् । नियमित व्यायामले शरीरलाई आकर्षक देखाउने मात्रै नभएर हाम्रो जीवनशैलीलाई सुधार्ने काम पनि गर्छ । तर, जिम सेन्टर जानुअघि हामी आफ्नो शरीरबारे जानकार हुन आवश्यक छ।
दुब्ला र मोटा व्यक्तिले जिम जानुअघि फिटनेस प्रशिक्षकसँग कति तौल बढाउने र कस्तो शारीरिक अभ्यास गर्ने भनेर सल्लाह लिनु पर्नेहुन्छ। जिममा थोरै मिहिनेत गरेर पनि आफ्नो शरीर आकर्षक बनाउन सकिन्छ। हाम्रोमा दुब्लो मान्छेले जिम जानुहुँदैन भन्ने पनि छ। तर, दुब्लो मान्छेको पनि आकर्षक शरीर बन्छ।
मानिस मोटा र शरीरमा बोसोको मात्रा बढी भएका हुन्छन्। उनीहरूले तौल पहिला नै बढी हुने भएकाले तौल बढाउनु पर्दैन। मोटो मानिसले आकर्षक शरीर बनाउन दुब्लोको दाँजोमा धेरै मिहिनेत गर्नुपर्ने हुन्छ।
जिम जानुअघि के गर्ने, के नगर्ने ?
कतिपयमा ब्याकपेन वा अन्य समस्या हुन सक्छ । तसर्थ, ‘हेल्थ चेकअप’ गरेर मात्र जिम सेन्टर जाँदा राम्रो हुन्छ । कस्ता मानिसले जिम गर्न मिल्छ वा मिल्दैन भन्ने कुरा डाक्टरलाई मात्रै थाहा हुन्छ । कुनै अप्रेसन गरेको छ भने पनि डाक्टरलाई सोधेर मात्र जिम सेन्टर जानुपर्छ ।
सुगरका रोगी पनि जिम सेन्टर गयो भने ‘मेन्टेन’ हुन्छ । प्रेसर हाई भएका व्यक्ति पनि जिम सेन्टर जाँदा राम्रो हुन्छ । जिम सेन्टर गएपछि तौल उचाल्नैपर्छ भन्ने हुँदैन । एक्सरसाइजका किसिम हुन्छन्, त्यहीअनुसार गर्दा राम्रो हुन्छ ।
यस्तो खानपान आवश्यक
जिम गर्नुअघि प्रि–वर्कआउट गर्नुपर्छ । त्यसभित्र खानेकुरा पनि समावेश गरिएको हुन्छ । वर्कआउटअघि केही न केही खानुपर्छ । कार्बोहाइड्रेटयुक्त खानेकुरा खानुपर्छ । एक्सरसाइजमा ध्यान केन्द्रित गर्न ब्ल्याक कफी खाँदा हुन्छ । त्यस्ता खाना शरीरमा गएर ग्लुकोजको रूपमा कन्भर्ट हुन्छ । हाम्रो मसल्समा ग्लुकोजको मात्रा बढेपछि मात्रै फलाम उचाल्न सकिन्छ ।
कफीले कतिपय मान्छेलाई निद्रा नलाग्ने पनि हुन्छ । त्यस्ता मान्छेले अलि कम खाँदा राम्रो हुन्छ । चिनी नहाली नर्मल कफी खानुपर्छ । ब्राउन ब्रेड, ओट्स खाएर जिम गयो भने राम्ररी एक्सरसाइज गर्न सकिन्छ । आफ्नो शरीरको अवस्था, उमेर, उचाइबारे पर्याप्त जानकारी लिन आवश्यक छ । दक्ष फिटनेस कोचको सल्लाहविना जति नै धेरै तौल उचाले पनि शरीर राम्रो बन्न सक्दैन ।