एकीकृत समाजवादीलाई पदाधिकारी चयन गर्न सकस

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीले महाधिवेशनको डेढ महिनापछि निर्वाचनबाट पदाधिकारी चयन गर्ने तयारी गरेको छ । अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक १८ पदाधिकारी चयन गर्न बाँकी छ ।

गत १६–२१ असारमा सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

केन्द्रीय कमिटीले थप २५१ केन्द्रीय सदस्य चयन गरेको थियो । दुई चरणमा केन्द्रीय कमिटीलाई पूर्णता दिएको एकीकृत समाजवादीले पदाधिकारी निर्वाचनबाट चयन गर्ने तयारी गरेको हो ।

केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकले पदाधिकारी चयन गर्ने नेताहरूले बताएका छन् । गत आइतबारदेखि बैठक राजधानीमा जारी छ । मंगलबार बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता र मध्याह्न १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्र्वाचन तालिका छ ।

दिउँसो २ देखि साँझ ५ बजेसम्म निर्वाचन हुने र साँझ ६ बजेदेखि मतगणना सुरु गर्ने तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचनको तयारी भइरहेको आयोगका अध्यक्ष माधव पौडेलले जानकारी दिए । ‘आकांक्षी धेरै भएपछि निर्वाचन प्रक्रियामा अघि बढेको छ । हामीले सबै तयारी गरिसकेका छौँ,’ उनले भने ।

सुझावित समाचार