स्वतन्त्रताको समयमा हिन्दुको जनसंख्या लगभग २२ प्रतिशत रहेकोमा अहिले घटेर आठ प्रतिशतभन्दा कम भएको छ
पहिले पूर्वी पाकिस्तान भनेर चिनिने बंगलादेशले सन् १९७१ मा स्वतन्त्रता प्राप्त गरेको थियो । स्थापनादेखि नै यो देश धार्मिक र सांस्कृतिक विविधताको केन्द्र भएको छ । तर, हालैका दशकमा धार्मिक अल्पसंख्यक, विशेषगरी हिन्दुहरूको अवस्था चिन्ताजनक बन्दै गएको छ । बंगलादेशको लगातारको राजनीतिक अस्थिरताले यो समस्यालाई थप गहिरो बनाएको छ । अबामी लिग र बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) बिचको शक्ति संघर्षले देशलाई बारम्बार अराजकतातर्फ धकेल्यो, जसको प्रत्यक्ष असर अल्पसंख्यक समुदायमा परेको छ । प्रायः हिन्दु र अन्य धार्मिक अल्पसंख्यकलाई लक्षित गर्दै बंगलादेशमा इस्लामिक कट्टरपन्थी समूहको प्रभाव बढेको छ । आर्थिक विकास भए पनि ठुलो आर्थिक असमानता कायमै छ ।
बंगलादेशको लोकतन्त्र लामो समयदेखि संकटमा छ । अबामी लिग र बिएनपीबिचको तीव्र प्रतिस्पर्धाले शासन व्यवस्थालाई नराम्ररी असर गरेको छ । एकपटक सत्तामा आएका दुवै दलले विपक्षीलाई दबाएर आफ्ना समर्थकलाई पक्षपात गरेका छन् । सेनाले धेरैपटक सत्ताकब्जा गरेको छ, लोकतान्त्रिक प्रक्रियालाई थप बाधा पु¥याएको छ । यसअघि अबामी लिग सरकारले विपक्षीप्रति दमनकारी अडान अपनाएको थियो । अबामी लिगले विपक्षी नेताहरूलाई जेल हाल्नुका साथै मिडियाको स्वतन्त्रतामा कटौती गरेको र चुनावी नतिजा हेरफेर गरेको आरोप लाग्दै आएको छ । यी कार्यले प्रजातन्त्रका मूल सिद्धान्तलाई कमजोर पार्छ । सत्तारुढ दलले विपक्षीलाई दमन गर्छ र संवैधानिक संस्थालाई कमजोर पार्छ भने त्यसले लोकतान्त्रिक मूल्यको पतन भएको संकेत गर्छ ।
जातीय सफाइ भन्नाले स्थानीय बहुसंख्यक जातिले अल्पसंख्यक जातिलाई कैद, निष्कासन, हत्या वा बलात्कार र अन्य दुव्र्यवहारलाई जनाउँछ । यो प्रक्रियाले हिंसा र जबर्जस्ती बसाइँसराइको माध्यमबाट एक निश्चित क्षेत्रबाट मानिसको समूहलाई व्यवस्थित रूपमा हटाउँछ । स्वतन्त्रताको समयमा हिन्दुहरू जनसंख्याको लगभग २२ प्रतिशत थिए तर अहिले आठ प्रतिशतभन्दा थोरै पुगेको छ (अभिषेक विश्वास र दीप हलदर, बंगलादेशमा हिन्दु : द अनटोल्ड स्टोरी, २०२३, पृष्ठ ११२ देखि १४) । यो गिरावटको श्रेय पाकिस्तान र भारतको विभाजनका क्रममा भएको ठुलो विस्थापन, जारी भेदभाव र उत्पीडनलाई जान्छ । राजनीतिक दबाबका कारण न्याय पाउन कठिन छ । जबर्जस्ती रूपान्तरणले स्थितिलाई थप गहिरो बनाउँछ । केही भिडियोले कट्टरपन्थीले आतंक फैलाउने र हिन्दुहरूलाई लक्षित गर्दै डरको वातावरण सिर्जना गरेको देखाउँछ । यस्ता घटना रोक्न सरकारले कानुन बनाए पनि कार्यान्वयनमा कमजोरी देखिएको छ ।
यी कारणले बंगलादेशबाट ठुलो संख्यामा हिन्दुहरूको पलायन हुने गरेको छ । धेरै हिन्दु परिवारले वार्षिक रूपमा भारतमा शरण लिन्छन् । यसले बंगलादेशको सांस्कृतिक विविधतालाई मात्र कम गर्दैन, बरु भारतले यी शरणार्थीलाई बसोवास गर्ने र पुनस्र्थापना गर्ने चुनौतीको सामना गर्नुपरेको छ । सन् ०२४ को अगस्ट ५ मा बंगलादेशमा एकैदिन राजनीतिक अशान्तिको परिणामस्वरूप १४ प्रहरीसहित ९० भन्दा बढीको मृत्यु भयो र तीन सयभन्दा बढी घाइते भए ।
बंगलादेशमा इस्लामिक कट्टरपन्थको उदय धेरै कारणले गर्दा जटिल समस्या हो । आर्थिक असमानता, शिक्षाको अभाव र राजनीतिक अस्थिरताले कट्टरपन्थी विचारधारालाई उर्वर बनाएको छ । यसबाहेक केही राजनीतिक दलले आफ्नो फाइदाका लागि धार्मिक भावनाको दुरुपयोग गर्छन्, जसले गर्दा धार्मिक ध्रुवीकरण हुन्छ । यो अस्थिरताले बंगलादेशसँग लामो सिमाना बाँडेको छिमेकी देश भारतका लागि महत्वपूर्ण प्रभाव पार्छ । बंगलादेशमा अस्थिरताले द्विपक्षीय सम्बन्धलाई असर गर्छ । यसले कट्टरपन्थी समूहको उदय र सीमापार आतंकवादको सम्भावनासँगै भारतको आन्तरिक सुरक्षा कमजोर हुन्छ ।
ऐतिहासिक रूपमा दक्षिण एसियाली देशहरू, विशेषगरी भारत र बंगलादेशमा राजनीतिक उथलपुथल जटिल ऐतिहासिक, सामाजिक र आर्थिक मुद्दाद्वारा सञ्चालित छन् । विश्वव्यापी बजार शक्तिहरू र प्रभावशाली व्यक्तित्वले आर्थिक र राजनीतिक परिदृश्यलाई आकार दिन्छन्, यसले कहिलेकाहीँ राजनीतिक उथलपुथल निम्त्याउँछ । विश्वव्यापी आर्थिक कारकहरू, स्थानीय राजनीतिक गतिशीलता र स्वदेशी तथा विदेशी सरोकारवालाबिचको अन्तरक्रियाहरू जटिल छन् र प्रत्येक देशको अद्वितीय सन्दर्भको विस्तृत अनुसन्धान र मान्यता आवश्यक छ । अप्रिल ०२३ मा शेख हसिनाले अमेरिकाले बंगलादेशमा शासन परिवर्तनको प्रयास गरेको आरोप लगाइन् । उनले जटिल भूराजनीतिक परिदृश्यलाई थप हाइलाइट गर्दै सेन्ट मार्टिन टापुमा बंगलादेशको सार्वभौमसत्तामा सम्झौता गरेको भए सत्ता कायम रहने टिप्पणी गरिन् ।
बंगलादेशमा हिन्दुहरूको अवस्थालाई सम्बोधन गर्नु एक जटिल र संवेदनशील मुद्दा हो, जसमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विचार समावेश गरी बहुआयामिक रणनीति चाहिन्छ । यसमा भारतको भूमिका पनि महत्वपूर्ण छ । भारतले बंगलादेशको सार्वभौमसत्ताको सम्मान गर्दै त्यहाँका हिन्दुहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ । यो कूटनीतिक विधि, अन्तर्राष्ट्रिय सहयोग र आर्थिक सहयोगबाट हासिल गर्न सकिन्छ । यस मुद्दालाई मानव अधिकार, सामाजिक न्याय र क्षेत्रीय स्थायित्वको फराकिलो दृष्टिकोणबाट हेर्नु आवश्यक छ । अन्ततः दीर्घकालीन समाधान बंगलादेशभित्रको आन्तरिक राजनीतिक र सामाजिक परिवर्तनमा निर्भर हुनेछ । बाहिरी दबाबले अल्पकालीन राहत प्रदान गर्न सक्छ, अर्थपूर्ण परिवर्तन भित्रबाट आउनेछ ।
(राजीव तुली स्वतन्त्र स्तम्भकार हुन् भने डा. प्रशान्त बर्थवाल श्री अरबिन्दो कलेजमा राजनीति विज्ञानका सह–प्राध्यापक हुन् ।) – एन्डिटिभीबाट