गुगलले इन्टरनेटमा आफ्नो नियन्त्रणलाई कडा पार्दा यसले प्रयोगकर्तालाई भन्दा विज्ञापनदातालाई प्राथमिकता दिन्छ
सत्य र शक्तिबीच छनोटको सामनाको मामिलामा सेक्सपियरको ‘ह्यामलेट’ले उठाएको ‘हुनु वा नहुनु’को प्रसिद्ध अस्तित्ववादी प्रश्न सान्दर्भिक हुन्छ । जवाफको खोजीले नायक र खलनायकलाई मृत्यु वा निराशाको सम्भावनासाथ सामना गर्नेछ । सेक्सपियरको त्रासद नाटकझैँ इन्टरनेट खोजी पूर्वाधारको संघर्ष षड्यन्त्र र शक्तिको दुरुपयोगले भरिएको छ । गुगल खोज अहिले मुख्य खलनायक बनेको छ र ‘गुगल गर्नु’ क्रिया नै बनेको छ, अर्थात् ‘गुगल गर्नु’को अर्थ ‘खोज्नु’ बनेको छ । हालै एकाधिकार कायम गरेको भन्दै दायर गरिएको मुद्दामा एक संघीय न्यायाधीशले इन्टरनेट खोजमा एकाधिकार अभ्यासका लागि गुगल जिम्मेवार भएको फैसला गरे । यो फैसला ५ अगस्टमा आएको थियो, जहाँ गुगलले दुईवटा बजार विशेषतः सामान्य–खोजी सेवामा एकाधिकारविरुद्धको कानुन उल्लंघन गरेको छ । मुद्दाले इन्टरनेटमा खोजी गर्ने उपायलाई असर गर्ने अपेक्षा गरिएको छ । गुगल खोजमा धेरै प्रयोगकर्ताले सफारी वा फायरफक्सजस्ता ब्राउजर प्रयोग गर्दा पनि गुगलको ‘सर्च इन्जिन’ प्रयोग गरिरहेको थाहा पाउँदैनन्, किनभने यी ब्राउजरमा गुगलले आफूलाई डिफल्ट (पूर्वनिर्धारित) खोज इन्जिनका रूपमा राखेको छ ।
गुगलले आफ्नो उच्च गुणस्तरका उत्पादन र सेवाका कारण बजारमा छाएको भन्दै आफ्नो बजार प्रभुत्वको रक्षा गरेको थियो । यसले वेबलाई ‘अर्बौं पुस्तक भएको पुस्तकालय जुन केन्द्रीय फाइलिङ प्रणालीसाथ सधैँ विस्तार हुन्छ’ भन्दै गुगलको खोज इन्जिनमार्फत मात्र प्रभावकारी रूपमा पुस्तकालय सञ्चालन गर्न सकिने दाबी गर्छ । यसले द्रुत र सान्दर्भिक नतिजा प्रदान गर्दै वेबसाइटलाई अनुक्रम र श्रेणीमा राख्छ । खोज इन्जिनको प्रभावकारिता प्रयोगकर्ताको तथ्यांकमा निर्भर गर्छ । खोज प्रश्न, क्लिक गरिएका लिंक, खरिद गरिएका उत्पादन यी तथ्यांकका उदाहरण हुन् । बढ्दो प्रयोगकर्ताको तथ्यांकले खोज परिणाममा सुधार ल्याउँछ, जसले खोजलाई थप बढाउँछ । नतिजा विज्ञापनदाताले गुगलमार्फत प्रयोगकर्तालाई आफ्ना उत्पादन बिक्री गर्न खोज्दा गुगलले मनग्गे आम्दानी गर्छ ।
गुगलको खोज इन्जिन शीर्ष स्थानमा रहेको मानिन्छ । माइक्रोसफ्टको ‘बिङ’ यसको एक मात्र महत्वपूर्ण प्रतिस्पर्धी हो । उसो त बिङले डेस्कटपमा गुगलसँग प्रतिस्पर्धा गरे पनि मोबाइलमा भने पछाडि छ । सन् २०२१ सम्ममा गुगलले बिङको ६ प्रतिशतका तुलनामा ८९ प्रतिशतभन्दा बढी खोज प्रश्न लिएको छ । नतिजा, गुगलले एक खर्ब ४६ अर्ब डलरबराबरको विज्ञापन राजस्व कमाएको छ जब कि बिङका लागि यो आँकडा १२ अर्ब डलर मात्रै छ । उसो त उच्चस्तरको उत्पादनमार्फत बजारमा एकाधिकार कायम गर्नु कानुन तोड्नु होइन, तर अदालतले गुगलले एकाधिकार कायम गर्न नियतवश कानुन नाघेको बताएको छ ।
गुगलले सूचनाको विशाल मात्रालाई आफ्नो नियन्त्रणमा राख्दा बजार प्रभुत्व र उच्च नाफा हुन सक्छ भन्ने जानेको छ । सन् १९९० को दशकमा आफ्नो अपरेटिङ सिस्टमसँग ब्राउजर जोडेर प्रभुत्व जमाउन माइक्रोसफ्टको असफल प्रयासविपरीत गुगलले प्रतिस्पर्धीसँग सम्झौता गर्न प्रोत्साहनको प्रयोग गर्यो । यसको मुख्य उदाहरण एप्पलसँगको सम्बन्ध हो । सन् २००२ मा गुगलले आफ्नो खोज इन्जिन सफारीमा डिफल्ट बनाउन एप्पललाई एक करोड डलर र खोज आम्दानीको ५० प्रतिशत रकम बुझायो । सन् २०२२ सम्म यो भुक्तानी वार्षिक अनुमानित २० अर्ब डलर पुगेको थियो । समय बित्दै जाँदा गुगलले विशेषताको माग गर्दै र एप्पललाई थप लचिलोपन गर्ने वा सम्झौतालाई एकतर्फी रूपमा अन्त्य गर्ने क्षमतालाई अस्वीकार गर्दै सम्झौताका सर्तलाई थप कडा बनाएको थियो ।
जसरी ह्यामलेट नाटकको मुख्य पात्र ह्यामलेटकी आमासँग आफ्नो पतिको हत्यारासँग विवाह गर्नुपर्ने कारण थिए, त्यसरी नै नयाँ खोज इन्जिन र यससँग सम्बन्धित विज्ञापन व्यवसायको विकास र व्यवस्थापनका लागि आवश्यक महत्वपूर्ण प्रारम्भिक लागतका कारण गुगलसँगको एप्पलको सम्झौता व्यावहारिक देखिन्छ । अर्को खोज इन्जिन रोज्नु पनि आर्थिक रूपमा असम्भव छ । एप्पलका एक कार्यकारीका अनुसार माइक्रोसफ्टको कुनै पनि प्रस्तावले एप्पललाई बिङलाई अपनाउन मनाउन सकेको छैन । गुगल यसबारे जानकार छ, अर्थात् एप्पलको सफारी ब्राउजरमा गुगलको डिफल्ट स्थिति हट्दा एप्पललाई २८ अर्ब २० करोडदेखि ३२ अर्ब ७० करोड डलर घाटा लाग्नेछ । गुगलले मोजिला र डकडकगोसँग पनि यस्तै सम्झौता गरेको छ र भेरिजोन, एटिएन्डटी र टी–मोबाइलजस्ता प्रमुख अमेरिकी कम्पनीसँग राजस्व साझेदारी सम्झौता छन्, जसले कम्पनीका फोनमा ११ गुगल एप पूर्वस्थापना गर्नुपर्छ, जसमध्ये ६ वटा एपलाई प्रयोगकर्ताले हटाउन सक्दैनन् । वास्तवमा गुगलले आफ्नो खोज इन्जिनलाई प्रमुख विकल्पका रूपमा राख्न वार्षिक रूपमा २६ अर्ब डलरभन्दा बढी खर्च गर्छ ।
गुगलले सम्झौताको विशाल सञ्जाललाई नियन्त्रण गर्ने माकुराले झैँ काम गर्छ, तर यति भन्दै गर्दा वास्तविक पीडित इन्टरनेट प्रयोगकर्ता हुन् । गुगलले इन्टरनेटमा आफ्नो नियन्त्रणलाई कडा पार्दा यसले प्रयोगकर्ताभन्दा विज्ञापनदातालाई प्राथमिकता दिन्छ । नतिजा इन्टरनेट सार्वजनिक स्रोत नभई एक निजी, नाफा–सञ्चालित उद्यम बन्छ, जसले गुगलको प्रभाव क्षेत्रभित्रका कम्पनीलाई फाइदा पुर्याउँछ ।
इन्टरनेट प्रयोगकर्ताले आफू तथ्य र सत्य खोज्न अघिल्लो पुस्ताभन्दा बढी सक्षम भएको विश्वास गर्न सक्छन्, तर प्रयोगकर्तासँग यो खेलमा कुनै आवाज छैन र यसमा उनीहरूले केवल सेवा लिन वा छोड्न मात्र सक्छन् । यसले गुगलको एकाधिकारलाई चुनौती दिन अमेरिकी न्याय विभाग नै अग्रसर हुनुपर्यो र हामीले यसलाई प्रतिस्थापन गर्न सक्ने विकल्प सुनेका छैनौँ ।
(पिस्टोर कोलम्बिया ल स्कुलकी ‘कम्प्यारेटिभ ल’की प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट