भरतपुर अस्पतालमा शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु भएपछि छानबिन समिति गठन गरिएको छ । भरतपुर महानगरपालिका– १२ मुनाल चोक स्थायी घर भई हाल गैँडाकोट बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मंगलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएपछि छानबिन समिति गठन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा समितिको बैठकले भरतपुर अस्पतालका डा. प्रकाश खतिवडा संयोजक रहने गरी नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरिएको छ ।
समितिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एनेस्थेसियन डा. प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत अन्तिम सिन्जाली, पीडित पक्षका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले छन् ।
सदस्यसचिवमा शाखा अधिकृत तुलसीराम आचार्यलाई तोकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । छानबिन समितिले सात दिनभित्र प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्नेछ ।
छानबिन समितिले तयार पारेको प्रतिवेदनमाथि कारबाहीका लागि गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई अनुरोध गर्नेसमेत निर्णय गरिएको यादवले बताए । सहमतिसँगै महिलाको शव बुझेर अन्तिम संस्कारका लागि लैजान परिवार सहमत भएका छन् ।