यसकारण कमला ह्यारिसलाई भोट दिन्नँ

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

ह्यारिसले विजयका लागि सेलिब्रेटी संस्कृतिभन्दा पर गएर अमेरिकी कोषमा रोक लगाउँदै गाजाको नरसंहार अन्त्य गर्न प्रतिबद्ध हुनुपर्छ

सन् १९९८ मा मतदाता सूचीमा आफूलाई सूचीकृत गरेदेखि नै डेमोक्य्राटलाई भोट दिँदै आएकी छु । डेमोक्य्राट उम्मेदवारप्रति निराश भए पनि मैले हाम्रो छद्म–लोकतन्त्रमा मतदानलाई नागरिक कर्तव्यको हिस्साका रूपमा लिँदै आएकी छु । यद्यपि कमला ह्यारिसले इजरायलसम्बन्धी आफ्नो नीति परिवर्तन नगरेमा आगामी नोभेम्बरमा म डेमोक्य्राटलाई मत दिनेछैनँ । 

यदि ह्यारिस प्रगतिशील मत चाहन्छिन् भने उनले इजरायलमा हतियार प्रतिबन्धको समर्थन गर्नुपर्छ र गाजामा इजरायलका कार्यका लागि कोष रोक्नुपर्छ । उनको उदार व्यक्तित्व सन्देहास्पद रहेको सन्दर्भमा हामीमध्ये धेरैले यसलाई महत्वपूर्ण मुद्दाका रूपमा हेर्छौं । २१ जुलाईमा डेमोक्रेटिक पार्टीको उम्मेदवारीबाट पछाडि हटेर बाइडेनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारमा समर्थन गर्दा मैले खुसी मनाइनँ । उनी लगातार इतिहासको गलत पक्षमा छिन् । सन्फ्रान्सिस्कोको जिल्ला अधिवक्ता हुँदा उनले आपराधिक न्याय सुधारविरुद्ध मत राखेकी थिइन् र इजरायलका पक्षमा उनले बलियो समर्थन गरेकी छिन् । मलाई ह्यारिसले ‘प्रतिवद्धताविहीन’ मत अभियानको महत्व बुझ्नेछिन् भन्ने झिनो आशा थियो । यो अभियानले इजरायलमा हतियार प्रतिबन्ध र गाजामा स्थायी युद्धविरामको माग गर्छ, जसले अमेरिकी सहायतामा चलिरहेको नरसंहारप्रति आक्रोश झल्काउँछ । तर, म गलत सावित भएँ । ह्यारिसको ७ अगस्टमा डेट्रोइटको र्यालीमा नरसंहारविरोधी र प्यालेस्टाइन समर्थक प्रदर्शनकारीले ‘कमला, कमला, तिमी भाग्न सक्दिनौ ! हामी नरसंहारको पक्षमा मतदान गर्दैनौँ !’ भन्दै नारा लगाएका थिए । यस प्रकारको विरोध एक उचित लोकतान्त्रिक कार्य हो । यद्यपि ह्यारिसले प्रदर्शनकारीको चासोलाई खारेज गर्दै ‘यदि तपाईं डोनाल्ड ट्रम्पलाई जिताउन चाहनुहुन्छ भने यस्ता नारा लगाउनुस्, होइन भने म बोलिरहेकी छु’ भनेकी थिइन् ।

ह्यारिसको यस्तो मनोवृत्तिले के उद्देश्य झल्काउँछ ? प्रदर्शनकारीले गाजामा भइरहेको नरसंहारकारी युद्धका लागि इजरायललाई हतियार दिन बन्द गर्न माग गरेका थिए । स्मरण रहोस्, नरसंहारमा ४० हजारभन्दा बढी मृत्युको औपचारिक गणना गरिएको छ र केही अनुमानअनुसार मृत्यु संख्या एक लाख ८६ हजार वा बढी पुगेको छ । द्वन्द्वले १० लाख बालबालिकालाई भोकमरीको जोखिममा पारेको छ र गाजाको स्वास्थ्य क्षेत्रमा गम्भीर क्षति पुर्याएको छ र त्यहाँ २५ वर्षपछि पोलियो संक्रमण पुनः देखिएको छ ।

हामीमध्ये धेरैले दैनन्दिन कल्पना गर्न नसकिने कहालीलाग्दा दृश्य देखिरहेका छौँ । हामी इजरायली हवाई हमलाबाट टाउको गिँडिएका बालबालिका र मानिसलाई त्रिपालमा जिउँदै जलाइएको, भोकमरीले मरेका कुपोषित बालबालिका र इजरायली सैनिकले निर्मम रूपमा बलात्कार गरेका राजनीतिक कैदीका दृश्य हेर्न बाध्य बनेका छौँ । म दिनरात यी तस्बिरबाट विचलित भइरहेकी छु र यो अमेरिकी सहायताविना अर्थात् हाम्रो करबाट जम्मा भएको डलरविना सम्भव छैन । तर, ह्यारिस आफ्नो करिस्माका लागि प्रशंसा खोजिरहेकी छिन् र गाजामा हिंसाका लागि गरिएको वित्तपोषण अन्त्य गर्ने उचित मागलाई उपेक्षा गरिरहेकी छिन् । सेलिब्रेटी संस्कृतिलाई राजनीतिसँग मिसाउने यो दृष्टिकोण फासीवादको अर्को रूप हो ।

एरिक लार्सनको सन् २०११ मा प्रकाशित पुस्तक ‘इन द गार्डेन अफ बिस्ट्स’ले सन् १९३३ देखि १९३७ सम्म जर्मनीका लागि अमेरिकी राजदूत विलियम डोड र उनकी छोरी मार्थाको कथा बताउँछ । सिकागो विश्वविद्यालयका इतिहासका प्राध्यापक डोड आफ्नो एक पुस्तक लेखनमा व्यस्त रहँदा बढ्दो नाजी खतराप्रति थोरबहुत उदासीन थिए । छोरी मार्था भने नाजीको चमकधमक र सामाजिक दृश्यबाट मोहित भएकी थिइन् । चमकधमकप्रति मार्थाको सम्मोहनका कारण उनी नाजी अधिकारीसँग डेटिङ र शारीरिक सम्बन्ध राख्ने हदसम्म आकर्षित भएकी थिइन् ।

अधिकांश उदारवादी विलियम वा मार्था डोडकै प्रतिरूप हुन् भन्नेबारे म जानकार छु । विलियमजस्ता केही उदारवादी प्यालेस्टिनीले सामना गर्ने दैनिक अत्याचारको ख्याल गर्नुको सट्टा आफ्नै सुखसयलमा मस्त छन् । कतिपयले मार्थाझैँ सेलिब्रेटी संस्कृति र चमकधमकमार्फत राजनीतिलाई बुझ्छन् । यो तप्का सेलिब्रेटी छविले नरसंहारको कठोर वास्तविकतालाई छायामा पार्ने ह्यारिसको जुनुनी समर्थक हुन पाउँदा रमाउँछन् । यो आखिर आफूलाई राम्रो लाग्नुका बारेमा न हो । ‘हाम्रो मजा किरकिरे नपार’ भन्दै यी जुनुनी समर्थक सामाजिक सञ्जालमा म र मजस्ताविरुद्ध क्रोध व्यक्त गर्छन् । यो विरोधी आक्रोश स्तब्धकारी छ । याद राख्नुहोस्, तपाईं केवल चमकधमकमा बाँच्न सक्नुहुन्न ।

नाजी जर्मनी छाडेपछि लेखिएको एउटा संस्मरणमा मार्थाले आफ्नो आकस्मिक यहुदीद्वेषलाई स्वीकार गरेकी थिइन् । यसले प्यालेस्टिनीप्रतिको आजको उदारवादी मनोवृत्तिलाई चित्रण गर्छ, जुन इस्लामद्वेष र अरबविरोधी नश्लभेदमा आधारित छ । यो उदारवादी मनोवृत्तिले नरसंहारमा योगदान पुर्याइरहेको छ । हामीले डेमोक्य्राटलाई नोभेम्बरको चुनावअघि गाजाप्रतिको आफ्नो अडान परिवर्तन गर्न दबाब दिनुपर्छ । जब हामी नरसंहार रोक्न प्रयास गर्नुपर्ने न्यूनतम आवश्यकताको माग गर्छौं, तब हामी राष्ट्रपति पदका उम्मेदवार इजरायललाई अमेरिकी सहायता समाप्त गर्न प्रतिबद्ध होऊन् भन्ने चाहन्छौँ र यो त्यति जटिल छैन ।

ह्यारिस ट्रम्पको तुलनामा दुई खराबमध्ये कम खराब हुन सक्छिन्, तर यति भन्दै गर्दा पनि उनी खराब नै हुन् । नोभेम्बरमा विजयका लागि उनले सेलिब्रेटी संस्कृतिभन्दा पर गएर अमेरिकी कोषमा रोक लगाउँदै गाजामा नरसंहार अन्त्य गर्न प्रतिबद्ध हुनुपर्छ । यदि उनले यसो गर्न सकिनन् भने प्रगतिशील मत र सम्भवतः राष्ट्रपति पद गुमाउनेछिन् । उनी पराजित भइन् भने उदारवादीहरूले अस्पष्ट ‘वामपन्थी–प्रगतिशील’ तप्कालाई दोष दिन सक्छन् र चुक ह्यारिसकै हुनेछ ।

(फिंकेल्स्टाइन लेखक एवं मानवशास्त्रकी सह–प्राध्यापक हुन्) 
अलजजिराबाट

सुझावित समाचार