कोशी प्रदेश सरकारले सोलुखुम्बुको थामे गाउँका बाढीपीडितका लागि डेढ लाखबराबरको राहत सामग्री प्रदान गरेको छ । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सोलुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई डेढ लाखबराबरको ५० थान सिरक, ५० थान तन्ना, ५० थान म्याट्रेस र ५० थान सिरानी हस्तान्तरण गरेका हुन् ।
सोमबार बिहान विराटनगरबाट गएको मन्त्रीहरूको टोलीले साँझ सोलु प्रशासनलाई राहत सामग्री हस्तान्तरण गरेको थियो । आन्तरिक मामिलामन्त्री अधिकारीले सोलु प्रशासनले माग गरेअनुसारकै राहत सामग्री सरकारले हस्तान्तरण गरेको बताए । सोलुकी प्रजिअ देवी पाण्डे खत्रीले पनि आफूले माग गरेअनुसारकै राहत सामग्री प्रदेश सरकारले दिएको बताइन् । प्रजिअ पाण्डेले भनिन्, ‘प्रदेश सरकारले मागअनुसारकै सामग्री दिएको हो । खाद्यान्न जिल्लामै व्यावस्थापन भइसकेकाले माग गरेकै थिएनौँ ।’
३२ साउनमा हिमपोखरी फुट्दा थामे खोलामा आचानक आएको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ को थामेगाउँमा क्षति पुगेको थियो । बाढीले ५० घरपरिवार विस्थापित भएको तथ्यांक छ । यहाँका विद्यालय र स्वास्थ्य चौकीसहित २० वटा संरचना बाढीले बताएको थियो । बाँकी रहेका संरचाना पनि उच्च जोखिममा छन् । बाढी आएको पाँच दिन बितिसक्दा पनि थामे गाउँमा अझै प्रशासनले सदरमुकामबाट खाद्यान्न, तातो कपडालगायत राहत सामग्री पठाउन पाएको छैन ।
मौसम प्रतिकूलताले हेलिकोप्टरको व्यवस्थान हुन नसक्दा खाद्यान्न र लत्ताकपडा थामे गाउँमा पठाउन नसकिएको प्रजिअ खत्रीले बताइन । उनले भनिन्, ‘गृह मन्त्रालयसँग राहत पुर्याउन हेलिकोप्टर माग गरेका छौँ । हेलिकोप्टरको व्यवस्था हुनासाथ मौसम अनुकूलता हेरेर सबै राहत पठाइनेछ ।’ प्रजिअ पाण्डेका अनुसार प्रतिपरिवार पालिकाले ५० हजार र प्रशासनले १५ हजार घोषणा गरेको रकमसहितका राहत पीडितले पाइसकेका छन् ।