साहित्यमा ‘आफूविरुद्ध आफैँ’ अभियान सुरु

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

साहित्यमा निरन्तर क्रियाशील स्रष्टाहरूले ‘आफूविरुद्ध आफैँ’अभियान सुरु गरेका छन् । साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले राजधानीमा एक कार्यक्रमबिच यो अभियानको सुरुवात गरेका हुन् ।  यो अभियानले तीनवटा उद्देश्य तय गरेको छ ।

समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने, लेखनको विषयवस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्मसमीक्षा गर्ने गरी अभियान सुरु भएको हो । साहित्यकारहरू प्रशंसाको भोका हुन्छन् भन्ने मान्यतालाई चिर्दै यो अभियान अघि बढ्ने बताइएको छ । 

सिर्जनात्मक अभियानबारे यसका  अभियन्ता  साहित्यकार आरएम डंगोलले  लक्ष्य र उद्देश्यबारे प्रकाश पारे । ‘यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो,’ कवि डंगोलले  भने। उनका अनुसार यो अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल रहेका छन् । अन्य सदस्यहरूमा आरएम डंगाेल, छविरमण सिलवाल, होमशंकर बास्तोला, दीपक विहीन, बोधराज पौडेल र प्रतिरोध कार्की रहेका छन् । कार्यक्रममा बास्तोलाले अभियानको उद्देश्य, लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा  लेखकहरू स्वयं जिम्मेवार हुनुपर्ने धारणा राखे ।

साथै अभियानको पहिलो दिन कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’ कवितासंग्रहमाथि प्रमुख वक्ताको रूपमा साहित्यकार डंगाेलले समीक्षा गरेका थिए । उनले संग्रहभित्र रहेका  कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपूर लेखकीय सुझाव दिएका थिए । त्यसैगरी समीक्षक बोधराज पौडेल होमशंकर बास्तोला, छविरमण सिलवाल, दीपक विहीनले  कृतिमाथि टिप्पणी गरेका थिए ।

सुझावित समाचार