ताप्लेजुङको सुकेटार विमानस्थलमा गत जेठ ११ गतदेखि उडान ठप्प छ। यात्रु भएमा बुधबार (भोलि) देखि उडान सुरु गरिने नेपाल वायुसेवा निगमले जनाएको छ। मौसम राम्रो भएमा बुधबारदेखि काठमाडौं–ताप्लेजुङ उडान गरिने बताइएको छ।
जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसपछि सातामा एक दिन तालिका राखे पनि उडान भने गरेको छैन । यसअघि सोमबार, बुधबार र शनिबार गरी साताको तीन उडान गर्दै आएको थियो। मौसममा सुधार आएसँगै उडान गर्न सकिने तालिका राखिएको निगमले बताएको छ ।
पर्यटकीय जिल्ला भए पनि हवाई यातायात भरपर्दो नहुँदा पर्यटकीय गतिविधिमा शिथिलता आएको पर्यटक व्यवसायीहरू बताउँछन् । सुकेटर विमानस्थलमा छिनछिनमा मौसम परिवर्तन भइरहेको कारण जेठ, असार, साउन र भदौ महिनामा हवाई सेवा ठप्प हुने गरेको छ ।
गत वर्ष पनि असारदेखि स्थगित भएको उडान भदौदेखि सुरु गरेको थियो ।