पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– २ दाउन्नेमा भासिएको सडक मर्मत गर्न आज पाँँच घण्टाका लागि बाटो बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिँदा दाउन्नेमा सवारीसाधन एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । हिजो साँझ ५ बजेतिर भासिएको सडक आज बिहान ८ बजेबाट मर्मत सुरु गरिएको छ ।
भासिएको सडक मर्मत गरी फराकिलो गराउन कम्तीमा पाँच घण्टा लाग्ने अनुमान गरिएको छ । तत्काललाई अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, दमकललगायतका बाहेक अरू सवारीसाधनलाई अन्य वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।