दार्चुलाका दुर्गम क्षेत्रमा बसोवास गर्दै आएका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सकस परेको छ । सदरमुकाम खलंगासम्म आवतजावत गर्न बाटोको जोखिमका कारण परिचयपत्र बनाउन सकस परेको हो ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि आगामी माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दार्चुलाका विभिन्न दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक निकै दुःखकष्ट गरेर खलंगा पुग्ने गर्छन् । तर, आउजाउमै उनीहरूलाई धेरै समय र खर्च लाग्ने गरेको छ । मालिकार्जुन गाउँपालिका– २ की चिमती धामीले भनिन्, ‘चार–पाँच घण्टा पैदल हिँडेरै मात्रै गाडी पाइन्छ । गाडीमा एक्लै जान सकिँदैन । दुईजनाको गाडी भाडा, खलंगाको वास गर्दा खर्च धेरै हुन्छ ।’
अपी हिमाल गाउँपालिकाका गगनसिंह लोथ्यालले कच्ची सडकमा यात्रा गर्दा वृद्धवृद्धालाई झनै कष्टकर हुने बताए । ‘अपी हिमालका ज्येष्ठ नागरिकलाई खलंगा पुग्न पूरै एक दिन लाग्छ । गाडी भाडा मात्रै एकतर्फी दुई हजार रुपैयाँ पर्छ । बुढाबुढी एक्लै पठाउनु पनि भएन । उनीहरूको परिचयपत्र बनाउन एकजना थप सहयोगी चाहियो । कुनै कागजात मिलेन भने झन् समस्या हुन्छ,’ उनले भने ।
दुहुँ गाउँपालिकाका– ४ की मथुरा कुँवरले बाटो खर्चकै कारण सामाजिक सुरक्षा भत्ताका लागि खलंगासम्म पुग्न सकिने अवस्था नरहेको बताइन् । ‘हामी खलंगा पुगेर परिचयपत्र लिन सक्दैनौँ । यतिका विकट ठाउँबाट हिँड्नै सकिँदैन । यस्तो बाटोमा कसरी गएर परिचय बनाउनू । बरु भत्ता नपाए पनि ठिकै छ । भत्ताकै लागि खलंगासम्म पुग्न सकिने अवस्था छैन,’ उनले भनिन् । तिंकर सडकको कच्ची बाटोमा गाडीमा चढ्न नसक्ने उनको भनाइ छ । आधा भत्ता परिचयपत्र बनाउनैमा सकिने उनले गुनासो गरिन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले अहिलेसम्म दार्चुलाबाट ६ हजार ५२ जनाले राष्ट्रिय परिचयपत्र बनाएको बताइन् । उनका अनुसार ४ हजार १६६ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । राष्ट्रिय परिचयपत्रको विवरण सच्याउन १५६ जनाले निवेदन दिएका छन् । जिल्लाका लागि १७ हजार दुई सय कार्ड आएकोमा अझै वितरण गर्न बाँकी रहेको उनले बताइन् ।
पछिल्लो समय वृद्धवृद्धा बढी आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले दुई ठाउँमा परिचयपत्र वितरण कार्य थालेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले वृद्धवृद्धा खलंगासम्म आउन नसक्ने अवस्थामा स्थानीय तहसँग समन्वय गरेर वैकल्पिक व्यवस्था गर्न सकिने बताए । ‘हामीले सबै स्थानीय तहसँग खलंगासम्म आउन नसक्ने ज्येष्ठ नागरिकको संख्या यकिन गर्न भनेका छौँ । संख्या यकिन भयो भने शिविरमार्फत पनि परिचयपत्र वितरण गर्न सकिनेछ,’ उनले भने ।