गोकर्णेश्वर नगरपालिका– ४ का २१ वर्षीय स्वरूपराज आचार्यकी आमा क्यान्सर रोगका कारण डेढ वर्षअघि महाराजगन्जस्थित शिक्षण अस्पतालमा बितिन् । शनिबार आचार्यले पनि सोही अस्पतालमा गएर आत्महत्या गरे ।
प्रहरीका अनुसार क्यान्सर रोगबाट पीडित स्वरूपराजकी आमा लामो समयदेखि शिक्षण अस्पतालमा उपचाररत थिइन् । स्वरूपराज सोही वेलादेखि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरस्थित क्याफेमा नियमित आउने–जाने गर्थे । यसक्रममा उनी कफी पिउँथे । घन्टौँ घोरिएर बस्थे । उनी शनिबार पनि क्याफेमा आए, कफी पिए । छतमा उक्लिए र हामफाले । घाइते भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । तर, उनको उपचार हुन सकेन । ३ बजेतिर चिकित्सकले मृत घोषणा गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी नवराज अधिकारीले अस्पतालको छतबाट एक युवा हामफालेर घाइते भएको र चोटका कारण उनको मृत्यु भएको बताए । ‘एक युवा नियमित अस्पतालको क्याफेमा आउने र बस्ने गर्ने रहेछ । शनिबार पनि आएछन् । यहीक्रममा उनले छतबाट हामफालेछन् । घाइते भएका उनलाई उपचारका लागि भर्ना गरियो । तर, उनी बाँच्न सकेनन्,’ उनले भने ।
प्रहरीका अनुसार उनी अस्पतालका बिरामी होइनन् । न उनको कोही आफन्त नै अस्पतालमा भर्ना भएका छन् । सिन्धुलीका उनी केही वर्षदेखि गोकर्णेश्वरमा बस्दै आएका थिए । केही दिनअघि उनकी दिदी अमेरिका उडेकी थिइन् । दिदीलाई बिदाइ गर्न उनी नै गएका थिए । प्रहरीका अनुसार उनको पनि अमेरिका जाने भिसा लागेको थियो ।